पानी निकासमा भारतीय षड्यन्त्र !



भारतले एकतर्फी बनाएको सडकजस्तो बाँध र झारा टार्ने कल्भर्ट 

कुमार श्रेष्ठ, बाँके । नेपालगञ्जको पानी दक्षिणी–पूर्वी रतैया नाला हुँदै भारततिर बग्छ । यो नालाबाट राम्ररी पानीको निकास नभए नेपालगञ्ज बजार डुवानमा पर्छ । भारतले एकतर्फी दशगजामा बनाएको सडकजस्तो बाँधले रतैया नालाको निकासलाई सहजता दिएको छैन ।
नेता तथा सुरक्षा अधिकारीहरुको बारम्बारको अनुरोध र दबाबले गर्दा भारतले पछिल्लो वर्ष सडकजस्तो बाँधमा रतैया नालाको पानी निकास हुने कल्भर्ट त बनाएको छ । तर, त्यसले पानीलाई सहजै निकास दिएको छैन । भारतीय अधिकारीले षड्यन्त्र गरेर रतैया नालाको सिधा बनाउनु पर्ने कल्भर्ट करिव सय मिटर टाढा बनाएका छन् ।
‘रतैयाको पानी सहजै निकास हुँदैन, हिरमिनियाका निरञ्जन यादवले भन्नुभयो, पानी तालिएपछि बल्ल बिस्तारै पानी बग्न शुरु हुन्छ ।’ नेपाली पक्षबाट भएको चर्को विरोधलाई थामथुम पार्न भारतले सडकजस्तो बाँधमा तीन वटा कल्भर्ट बनाएको छ । त्यसबाट सहजै पानी निकास हुँदैनन् । पानी तालिएर धेरै भएपछि बल्ल बग्छन् । रतैयाको नालादेखि टाढामात्रै होइन, अरु कल्भर्ट पनि उचाईमा बनाएर पानीको सहजै निकास दिइएको छैन ।
२०७० देखि भारतले बाँकेको हिरमिनिया क्षेत्र हुँदै सडकजस्तो बाँध बनाइरहेको छ । देशभरमै एक हजार सात सय ५२ किलोमिटर लम्बाई, ३० मिटर चौडाई र तीनदेखि सात मिटरसम्म उचाई रहेको सडकजस्तो बाँधले नेपालका धेरै भूभाग डुवानको चपेटामा पारेको छ । भारतले गस्ती सीमामा गर्नमात्रै नभएर नेपाली भूभागलाई डुवानमा पार्न सडकजस्तो पक्की बाँध बनाएको छ । त्यसो त सन् १९८५ मा राप्ती नदीमा बनाइएको लक्ष्मणपुर बाँध र सन् २००० मा दशगजामा बनाइएको कलकलवा तटबन्धले बाँकेका आधा दर्जन साविकका गाविस डुवानमा पर्दै आएको छ । वर्षामा लक्ष्मणपुर बाँधको ढोका थुन्ने र कलकलवा तथा सडकजस्तो बाँधले अन्तबाट पानी निकास हुन नदिएर भारतले नेपाली भूभाग डुवानमा पार्दै आएको छ ।
राप्ती नदीमात्रै होइन, अरु खोलानालाको पनि भारतले निकास थुन्ने प्रयास गरेको छ । राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले नै यो बीचमा तटीय क्षेत्रका आधा दर्जन गाविसका चार हजार विगाहबढी जमिन मरुभूमि बनाइसकेको छ । ६० हजारबढी परिवार खाद्य अधिकारबाट बन्चित भएका छन् ।
राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धको मार नखेपेका हिरिमनियाका बासिन्दालाई सडकजस्तो बाँधले दुःख दिन शुरु गरिसकेको छ । शुरुवाती दुई वर्ष डुवानमा परेका हिरमिनिया त्यसपछि काम चलाउ बनाइएको कल्भर्टले गर्दा बचेका छन् । ‘पानीको राम्रो निकास छैन, ठूलो पानी आयो भने त डुवानमा परिन्छ, स्थानीय शिक्षक यादवले भन्नुभयो ।
फेरि दशगजामा सडकजस्तो बाँध बनाएर भारतले देशभरकै सीमावर्ती नेपाली गाउँमा डुवानमा पार्दैछ । भारतको वन विभाग, रेलवेको विवादले बाँकेको पश्चिमतिर सडकजस्तो बाँध बिस्तार हुन सकेको छैन । यी सरकारी विभागका बीचमा विवाद मिल्ने बित्तिकै भारतले फेरि सडकजस्तो बाँधलाई अगाडि बढाउँछ । नेपालले सडकजस्तो बाँधलाई भत्काउन तथा बिस्तार रोक्न सक्ने अवस्था देखिएको छैन ।
तथापि, पानी निकासका लागि उपयुक्त ठाउँमा कल्भर्ट बनाउन दबाब दिन जरुरी रहेको सम्बद्ध अधिकारीहरु बताउँछन् । भारतले पश्चिमतिर बिस्तार गर्ने सडकजस्तो बाँधमा उपयुक्त पानीको निकास बनाउन नसकिए नेपालगञ्ज बजार डुवानमा पर्छ । त्यसका लागि अहिलेदेखि नै खबरदारी गर्न जरुरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्