सुशील देवकोटा
आफ्नो देशको सबैलाई माया लाग्छ। हाम्रो देशका केही नेताहरू यस कुराको अपवाद होलान्, त्यो बेग्लै कुरा हो। अझ देशको माया देशभित्रै रहँदा भन्दा पनि देशबाहिर बसेपछि झन् चर्को लाग्दो रहेछ। आफ्नोे देशमा बस्दाभन्दा पनि विदेशमा बस्दाचाहिँ देश बढी दुख्दो रहेछ। आफ्नो देशमा बस्दा देशको आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा के भैरहेको छ भनेर त्यति धेरै मतलब नगर्नेहरू पनि विदेशमा गएपछि देशप्रतिको बेग्लै मायामा पर्छन् र देशमा के भेरहेको छ भनेर चासो दिन थाल्छन्। झन् अहिले सामाजिक सञ्जालको सहज उपलब्धताले गर्दा आफूूलाई चित्त नबुझेको कुरा अभिव्यक्तसमेत गर्न थाल्छन्।

 

यहाँका नेताहरू सत्ता र कुर्सीबाहेक अरू केही देख्दैनन्, अरू केही सुन्दैनन् पनि। नेपालको यो अवस्था देख्दा मनमा ठूूलो सकारात्मक कौतुहलता, जिज्ञाशा र ओठमा मुस्कान लिएर स्वदेश फर्किएका नेपालीको आँखामा आँसु आउँछ। लाग्छ, हामी नेपाली मरिसकेका छौं, केवल सास मात्रै फेर्दै छौं।

विदेशिनेबित्तिकै मनमा देशप्रेम जाग्नुको मुख्य दुईवटा कारण हुन्छन्। पहिलो त, अब मैले मेरो जन्मेको हुर्केको ठाउँ–गाउँ, साथी–संगत सबै गुमाएँ भन्ने भावना मनमा जाग्छ र त्यो पीडा नै देशप्रति उसलाई जोड्न काफी हुन्छ। दोस्रो र अझै महत्वपूूर्ण कारणचाहिँ विदेशमा प्रायजसो गरिने दोस्रो दर्जाको नागरिकको व्यवहार।

आफ्नो थातथलो र देश छोडेर बाहिर बस्नुभएका नेपालीहरूले पक्कै यो महसुस गर्नुभएको होला।

सञ्चार क्षेत्रको उल्लेखनीय विकासले गर्दा संसारमा कहाँ के भैरहेको छ भन्ने क्षणभरमै थाहा पाइन्छ। तसर्थ विदेशको जुनसुकै कुनामा बसे पनि मेरो देशमा अहिले के भैरहेको होला भनेर अन्योल हुँदै छटपटाउनुपर्ने अवस्था अहिले छैन। हातमा भएको मोबाइलमा गरिने एक ‘क्लिक’ ले सबै विवरण उपलब्ध गराइदिन्छ। श्रव्यदृश्यमार्फत सबै कुरा थाहा पाइएको हुन्छ, बुझिएको हुन्छ, तर पनि कस्तो भयो होला मेरो देश ? कस्तो भयो होला फलानो ठाउँ भन्नेजस्तो अनौठो कौतुहलता लामो समय विदेश बसेर स्वदेश फर्किंदाचाहिँ मनमा जागिहाल्दो रहेछ। १४ महिनाको विदेश बसाइपछि यसपटक नेपाल जाँदा मलाई चाहिँ यस्तै अनुभूूति र अनुभव भयो। तर, नेपाल पुग्नेबित्तिकै मेरो त्यो कौतुहलता, जिज्ञाशा र उत्सुकता सबै हावा निकालिएको बेलुनजस्तै भयो।

दिल्ली हुँदै नेपाल पुग्न मलाई सवा एक घन्टा लागेको थियो भने एअरपोर्टबाट मेरो घर जोरपाटी पुग्न पूरै तीन घन्टा लाग्यो। यसको कारण थियो बाटोको दुरवस्था। चाबहिलदेखि जोरपाटीको बाटो पूरै जलमग्न थियो। यो खुट्याउन गाह्रो भैरहेको थियो कि बाटोमा पानी जमेको हो कि पानीको बीच–बीचमा कतै–कतै बाटो बनेको हो ? कतै–कतै ट्याक्सी पानीमा यति धेरै डुब्थ्यो कि पानी भित्रसम्म पस्थ्यो अनि लाग्थ्यो म ट्याक्सीमा होइन नाउमा बसेर कुनै खोलो तर्दै छु।

अनि मनको एक कुनामा लाग्यो– केपी ओलीले पानीजहाज चलाउने पूूर्वाभ्यासको लागि पो यो बाटो रोजे कि ? दुई दिनपछि जब त्यस बाटोको पानी सुक्यो तब त्यहाँ यस्तरी धुूलो उडन थाल्यो मानौं त्यो हाम्रो राजधानीको एउटा मुख्य सडक होइन, रेगिस्तानको कुनै भूूभाग हो। पानी सुकेपछि बाटोको जुन सक्कली अनुहार देखियो, त्यो निकै भयावह थियो। त्यो बाटो पछिल्लो ५–६ वर्षदेखि त्यसै गरी रुँदै आपुूmमाथि गुड्ने सवारीसाधनको भार सहँदै छ तर त्यसको दुरवस्थामा कसैको सहानुभूति जागेको छैन।

त्यो बाटो त एउटा उदाहरण मात्रै हो। यस्ता दुरवस्था भएका बाटो राजधानीभित्र धेरै छन् र सबैको बारेमा लेख्ने हो भने एउटा लामो सू ची नै तयार हुन्छ। चोभारबाट दक्षिणकाली पुग्ने बाटो त झन् सम्झिँदा मात्रै पनि ‘होस्, बरु दक्षिणकालीलाई मेरो यहीँबाट नमस्कार’ भन्नुपर्ने अवस्था छ।

सार्वजनिक बाटोमा गुड्ने हरेक सवारीसँग हरेक वर्ष कर लिइन्छ। यसरी कर लिनुको मतलब सरकार र त्यो सवारीधनीका बीच अघोषित एउटा यस्तो सम्झौता पनि हो, जसमा सवारीधनीले सार्वजनिक बाटो प्रयोग गरेबापत सरकारलाई कर तिर्नु उसको दायित्व हो भनेर स्वीकार गरेको हुन्छ भने उपयोग योग्य बाटो उपलब्ध गराउनु सरकारको दायित्व हुन्छ। सवारीधनीले कर तिरेको÷नतिरेको बेला–बेलामा जाँच गरिन्छ। यदि कर नतिरेको पाइएमा विभिन्न कारबाही र जरिवानासमेत तिराइन्छ। तर सरकार आफ्नो दायित्वमा पूरै उदासीन छ।

बाटोको दुरवस्थाले गर्दा दिनहुँ कति सवारी दुर्घटनामा पर्छन्, नागरिकले कस्तो कष्टकर दैनिकी गुजारिरहेका छन्, त्यस्तो बाटोको कारणले गर्दा सवारीसाधनको आयु कसरी समयअगाडि नै समाप्त हुुँदै छन् भन्ने सरकारले सोच्नसम्म जरुरी ठानेको देखिँदैन। जबकि कर तिरेपछि आफ्नो सवारीसाधन सुरक्षित हुने बाटो प्रयोग गर्न पाउनु नागरिकको अधिकार हो। तर जुन देशमा शासकहरूलाई नागरिकको बाँच्न पाउने अधिकारको बारेमा कुनै ज्ञान र हेक्का छैन, त्यहाँ अन्य अधिकारको कुरा गर्नु भनेको भैंसीको अगाडि बीन बजाउनुजस्तै हो।

बाटोको त्यस्तो दुर्दशा छ, झन् प्रदुूषणको त कुरै नगरौं। मास्क नलगाई एकदिन, एकघन्टा काठमाडौंको सडकमा घुमेर आउँदा पनि यदि कसैलाई रुघाखोकीले समातेन भने आश्चर्य मान्नुपर्ने अवस्था छ। बजार भाउ सुन्दा सीमित आय भएका मानिसहरू कसरी र के खाएर बाँचेका होलान् भन्ने प्रश्न बारम्बार मनमा उठ्छ। हरेक बिहानीसँगै बजार भाउ यसरी बढ्छ कि मानौं हरेक पसले आफैंमा सरकार हुन् र उनीहरूले गरेको निर्णय नै अन्तिम र मान्य हुन्छ। उनीहरूले जति दाम भने पनि त्यो नै लालमोहर ! ग्राहकले त्यहाँ चुँसम्म बोल्न सक्ने अवस्था रहँदैन। खाना पकाउने ग्यास किन्न गयो भने त्यहाँ पनि यो र त्यो बहानामा बढी रकम तिराइन्छ। केही भनौं भने ग्यास नदेला भन्ने चिन्ता। दैनिक आवश्यकताका वस्तुमा मात्र होइन, शिक्षा–स्वास्थ्य क्षेत्रमा समेत यस्तै हालत छ।

त्यस्तै सरकारी निकायमा भ्रष्टाचार यति बढेको छ कि सामान्यभन्दा सामान्य काम गर्न पनि उनीहरू नजराना नलिई गर्दैनन्। सरकारी कर्मचारीको व्यवहार हेर्दा लाग्छ, घुूस माग्नु र लिन पाउनु उनीहरूको नैसर्गिक अधिकारभित्र पर्छ। यदि नजराना नपाइने भयो भने फाइल नै गायबसम्म पारिन्छ। फेरि सो फाइल खोज्नुपर्यो भने केही नदिईकन भेटिँदैन। केही पाउनेबित्तिकै फाइल भेटिन्छ। तर सो फाइल कार्यान्वयनमा लैजानुपर्यो भने पुनः ठूलै लगानी गर्नुपर्ने बाध्यता आइपर्छ।

मुलुकको अवस्था यति दयनीय अवस्थामा पुगेको छ कि सर्वसाधारणको सानो आम्दानीले बाँच्न नै नसक्ने भएको छ। अनि आपूूmलाई लोकतान्त्रिक गणतान्त्रिक खै के–के तान्त्रिक भन्ने सरकार र त्यसका नेताहरू अन्धो र बहिरोजस्तो भएर बसेका छन्। उनीहरू अर्थात् यहाँका नेताहरू सत्ता र कुर्सीबाहेक अरू केही देख्दैनन्, अरू केही सुन्दैनन् पनि। नेपालको यो अवस्था देख्दा मनमा ठूूलो सकारात्मक कौतुहलता, जिज्ञाशा र ओठमा मुस्कान लिएर स्वदेश फर्किएका नेपालीको आँखामा आँसु आउँछ। लाग्छ, हामी नेपाली मरिसकेका छौं, केवल सास मात्रै फेर्दै छौं।

 

LEAVE A REPLY