जनकपुर–जयनगर रेलवे फागुनदेखि सञ्चालनमा



सुरेश तामाङ
केही वर्षअघिदेखि बन्द अवस्थामा रहेको जनकपुर–जयनगर रेलवे पुनः सञ्चालनमा आउने भएको छ। ३ वर्षअघिदेखि बन्द भएको नेपालको एकमात्र नेपाल रेलवेको पुनर्निर्माणकार्य सकेपछि सञ्चालनमा आउने भएको हो।

भारत सरकारले जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर रेलमार्ग निर्माणकार्य गरिरहेको छ। यी निर्माणकार्य अन्तिम चरणमा पुगेको रेल विभागले जनाएको छ।

विभागका अनुसार पहिलो चरणअन्तर्गत जयनगरदेखि कुर्था ३५ किलोमिटर खण्डमा फागुनसम्ममा रेल चलाउन मिल्ने गरी काम भइरहेको छ।

फागुनदेखि जयनगरदेखि कुर्था ३५ किमि खण्ड रेल चलाउन सकिने विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले नेपाल समाचारपत्रलाई बताउनुभयो। त्यस्तै भारतले नै बनाइदिने कुर्थादेखि बर्दिबाससम्मको बाँकी ३५ किलोमिटर पनि एक÷डेढ वर्षमै रेल चल्न सक्ने उहाँले बताउनुभयो।

विभागका अनुसार पहिलो चरणमा जयनगरदेखी कुर्थासम्म ३५ किलोमिटर, दोस्रो चरणमा २०१९ मार्चसम्म कुर्थादेखि भंगहासम्म र तेस्रो चरणमा बर्दिबाससम्म गरी जम्मा ७० किलोमिटर ब्रोडगेज निर्माणको काम भइरहेको छ।

अहिले लिकमा माटो भर्ने, ग्राभेलिङ गर्ने तथा साना–ठूला पुलपुलेसाहरूको निर्माणकार्य लगभग सम्पन्न भइसकेको विभागले जनाएको छ। सन् २०१८ मार्चदेखि पहिलो चरणमा रेल सञ्चालनको लक्ष्य लिई निर्माणकार्यलाई तीव्रता दिइएको छ।

रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा भएको द्विपक्षीय सम्झौता भएको थियो। सोहीअनुसार २०११ माघ महिनामा निर्माणको थालनी भएको थियो।

नयाँ निर्माण भइरहेको रेलको लिक पहिलेभन्दा ठूलो (ब्रोडगेज) रहेको छ। सानो आकारको रेलको लिकलाई विस्थापित गरेर ठूलो आकारको लिक निर्माण गरिएको विभागले जनायो। अहिले विभिन्न स्टेसन तथा हल्टहरूमा स्टेसन निर्माणका साथसाथै कर्मचारीहरूको आवासका लागि फ्लयाटसहितको क्वाटर निर्माण भइरहेको छ।

भारत सरकारको आर्थिक सहयोगमा भइरहेको निर्माणका लागि शुअवातमा भारत सरकारले ५ अर्ब ३९ करोड भारतीय रुपियाँ सहयोग गरे पनि पछि त्यो रकम परिमार्जित भएर हाल ७ अर्ब २० करोड भारतीय रुपियाँ खर्चिने जनाइएको छ।

ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले प्राप्त गरी कम्पनीको निगरानीमा धनुषा र महोत्तरीमा दुईवटा निर्माण कम्पनीलाई ठेक्का दिएर काम अघि बढेको छ।

नेपालमा वि.सं. १९९४ मा भारत सरकारकै सहयोगमा राम–जानकी विवाह महोत्सवको अवसर पारेर जनकपुर–जयनगर रेलवेको सञ्चालन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्