सर्वोच्चको आदेशपछि चुनाव सर्ने आशंका



सुनील महर्जन, काठमाडौं ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपत्र ३ सय ३० प्रकारको हुने भएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन क्षेत्रअनुसार प्रत्यक्ष निर्वाचनतर्फको मतपत्र डिजाइन गरेको हो। संविधानबमोजिम प्रतिनिधिसभाको निर्वाचन क्षेत्र १ सय ६५ कायम गरिएको छ भने प्रदेशसभाका लागि ३ सय ३० कायम गरिएको छ।

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचन प्रणालीतर्फको मतपत्र एउटै पानामा डिजाइन गरिएको आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। एउटै पानामा माथिल्लो खण्ड प्रतिनिधिसभा र तल्लो खण्ड प्रदेशसभाको गरी मतपत्र डिजाइन गरिएको हो।

स्थानीय तहको निर्वाचनमाझैं यसपटक मतपत्र ठूलो साइजको नहुने भएको छ। स्थानीय तह निर्वाचनको मतपत्रको साइज लगभग ब्रोडसिट साइजको पत्रिकाजस्तो थियो। यसले गर्दा मसी नलत्पतिने गरी मतपत्र पट्याएर मतपेटिकामा खसाल्न मतदातालाई गाह्रो भएको थियो। ‘यसपटकको निर्वाचनमा मतपत्र पट्याउन र मतदान गर्न कठिन हुनेछैन।’ –आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले भन्नुभयो।

पहिलो निर्वाचित हुने प्रणालीतर्फको मतपत्र सेतो कागजमा हल्का हरियो रङको मसीले छापिने गरी मतपत्रको व्यवस्था गरिएको आयोगले जनाएको छ। पहिलो चरणको निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र छपाइ आज बिहीबार शुरू हुने आयोगले जनाएको छ। आउँदो मंसिर १० गते ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा मतदान हुनेछ।

त्यसका लागि गत आइतबार उम्मेदवारको मनोनयन दर्ता गरेका स्वतन्त्र उम्मेदवारलाई बुधबार निर्वाचन चिह्न प्रदान गरिएको थियो।
उम्मेदवार मनोनयन गरेका दल र स्वतन्त्र उम्मेदवारको चिह्न राखेर मात्र प्रत्यक्षतर्फको मतपत्र छापिने आयोगले जनाएको छ। प्रत्यक्षतर्फको मतपत्रमा उम्मेदवार मनोनयन दर्ता नभएका दलको चिह्न भने नहुने आयोगले स्पष्ट पारेको छ।

त्यसै गरी प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतपत्र पनि एउटै हुने भएको छ। माथिल्लो खण्ड प्रतिनिधिसभाका लागि भएकाले देशभर एउटै हुनेछ। प्रदेशसभाको समानुपातिक खण्ड प्रदेशअनुसार सात प्रकारको हुने भएको छ। यसमा पनि दुईपटक छाप लगाउनुपर्नेछ। समानुपातिक निर्वाचनतर्फको मतपत्रमा सेतो भुइँमा रातो रङ्गका चिह्न रहने भएका छन्। राजनीतिक दलले प्रतिनिधिसभाको समानुपातिकतर्फ १ सय १० पद तथा सात प्रदेशका समानुपातिकतर्फ २ सय २० पदका लागि उम्मेदवारको बन्दसूची पेस गरिसकेका छन्।

समानुपातिक निर्वाचन प्रणालीतर्फ मतपत्रको छपाइ अहिलेसम्म १ करोडभन्दा बढी भइसकेको आयोगले जनाएको छ। मतपत्र छाप्ने कार्य अन्तिम चरणमा पुगेको प्रवक्ता ढकालले जानकारी दिनुभयो। समानुपातिकतर्फ निर्वाचनका लागि १ करोड ७० लाख हाराहारीमा छापिनेछ। समानुपातिकतर्फको मतपत्र छपाइ गत असोज १७ गतदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा शुरू गरिएको थियो। पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८ सय ७९ मतदाता रहेका छन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कुल मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ७ सय ३१ रहेको छ।

यता निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै मतपत्र छाप्नुपर्ने बाध्यकारी व्यवस्था गरे पनि निर्वाचन आयोगले भने समय अभाव र करोडभन्दा बढी मतपत्र छापिसकेका कारण सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न नसक्ने बताएको छ। सर्वोच्चको उच्च बाध्यकारी आदेश आएपछि मंसिर १० गतेको निर्वाचन प्रभावित हुने आशंका गरिएको छ।

यता निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै मतपत्र छाप्नुपर्ने बाध्यकारी व्यवस्था गरे पनि निर्वाचन आयोगले भने समय अभाव र करोडभन्दा बढी मतपत्र छापिसकेका कारण सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न नसक्ने बताएको छ। सर्वोच्चको उच्च बाध्यकारी आदेश आएपछि मंसिर १० गतेको निर्वाचन प्रभावित हुने आशंका गरिएको छ।

प्रतिक्रिया दिनुहोस्