देउसी–भैलीबाट वाद्यवादन उपकरण



 

हेटौंडा, (नेस)। पश्चिम मकवानपुरमा रहेर कला, साहित्य र संगीत क्षेत्रमा क्रियाशील संस्था मृगतृष्णा कला साहित्य डबलीले वाद्यवादन खरिद र संगीत कक्षा सञ्चालनका लागि देउसी–भैलो कार्यक्रम सञ्चालन गरेको छ।

पूर्णरूपमा सांस्कृतिक पहिचान झल्कने गरी डबलीले राष्ट्रिय तथा स्थानीय लोकदोहोरी कलाकारहरूको साथमा देउसी–भैलो कार्यक्रम गरेको हो। राष्ट्रिय तथा स्थानीय तहका कलाकारद्वारा प्रत्यक्ष दोहोरी गीतसहित कार्यक्रममा लाइभ बाजाको व्यवस्था गरिएको थियो। डबलीले देउसी–भैलोबाट संकलित रकम वाद्यवादन खरिदका लागि खर्चिने जनाएको छ। डबलीका अध्यक्ष एवं गायक सुन्दर लामाले पश्चिम क्षेत्रमा छुट्टै वाद्यवादक टिम तयार पार्ने उद्देश्यले देउसी–भैलो कार्यक्रम राखी रकम संकलन गरिएको बताए। उनका अनुसार मनहरीका ४ स्थानमा यो कार्यक्रम सञ्चालन गरिएको थियो। मनहरी बजारको २ स्थान, रमन्टार र सिमपानीस्थित स्कुलडाँडामा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमका लागि गायक रविनकुमार चेपाङ, सुन्दर लामा, बुद्धिमान घिसिङ, अविराम मुक्तान, रवीन्द्र थिङ तथा गायिकाहरु जुना डीसी, कल्पना सुनुवार, रीतामाया चेपाङलगायतको सक्रियता थियो। उनीहरुले मौलिकतामा आधारित लोकदोहोरी गीत र स्थानीय टिमले नृत्य प्रस्तुत गरेको थियो। कतिपय स्थानका कार्यक्रमहरु मनहरी एफएमसँगको सहकार्यमा प्रत्यक्ष प्रसारण गरिएको डबलीका सचिव एवं कार्यक्रम सञ्चालक रवीन्द्र थिङले बताए।

प्रतिक्रिया दिनुहोस्