जोखिम मोल्दै यात्रा गर्नुपर्ने बाध्यता



धनवीर दाहाल, मुसिकोट, रुकुम
पछिल्लो पटक यात्रुहरू जोखिम मोलेर छतको यात्रा गर्दै आवतजावत गर्न बाध्य भएका छन्। विशेष गरी रुकुम पश्चिमका विभिन्न सडक खण्डमा जीर्ण सडक पुनर्निर्माण नहुँदा घरमा चाडबाड मनाएर कार्यस्थल फर्कने यात्रुहरूलाई कठिनाइ भएको छ।

जाजरकोट डोल्पा सडकखण्डअन्र्तगत पर्ने पश्चिम रुकुमको छेपारे राडीज्यूला सडक खण्डमा चल्ने सवारी साधनले यात्रुहरूलाई भाडा दरमा ठग्ने गरेका छन्। तोकिएको भाडादरभन्दा केही बढी भाडा यात्रुबाट असुल्ने गर्नाले यात्रुहरू ठगिने गरेका हुन्।

विशेष गरेर बृद्ध, महिला तथा बालबालिकाहरूबाट सवारी साधनले बढी भाडा लिने गरेको पाइएको छ। छेपारेदेखि राडीज्यूलासम्मको २१ किलोमिटरको दुरीको भाडा २ सय ५० कायम गरिए पनि चाडपर्व तथा अन्य समयमा यात्रुबाट झण्डै ५ सय जति भाडा असुल्ने गरिएको छ। लामो समयदेखि सवारी साधनले यात्रुबाट मनपरी भाडा असुल्दा कुनै पनि निकायले त्यसतर्फ ध्यान नदिएको यात्रुहरूको गुनासो छ।

छेपारेदेखि राडीज्यूलासम्मको सडक खण्डमा हालसम्म कुनै सुरक्षा चेकजाँचको व्यवस्था नहुँदा धेरैजसो यात्रुहरू सवारी साधनबाट ठगिने गरेका छन्। यात्रुलाई सेवा दिने बहानामा तोकिएको भन्दा बढी भाडादर असुल्दै छतमा समेत यात्रुलाई राखेर सवारी साधनहरू चल्ने गरेका छन्।

जाजरकोट, डोल्पा र पश्चिम रुकुमको मुख्य नाकाका रूपमा रहेको छेपारे राडीज्यूला सडकखण्डमा दैनिक १५ देखि २० वटासम्म साना जिपहरू ओहोरदोहोर गर्ने गर्दछन्। यस्तै छेपारे राडीज्यूला सडक खण्डमा चल्ने सवारी साधनले स्थानीयलाई सवार गर्न दिँदैनन्। छेपारेदेखि छोटेतरा, पिपलचौर, बाँकेज्यूला र भल्मज्यूलासम्मका लागि यात्रा गर्ने स्थानीय यात्रुलाई टिकट नदिँदा यो क्षेत्रका प्रायजसो बासिन्दा पैदल हिँड्न बाध्य छन्। पैसा असुल्नकै लागि स्थानीयलाई वेवास्ता गर्दै गन्तव्यमा पुग्ने यात्रुलाई मात्र टिकट दिएर उनीहरूबाट केही महंगो भाडा लिने गरेको स्थानीयहरू बताउने गर्दछन्।

प्रतिक्रिया दिनुहोस्