पिताको चार उपहार शाहरूखलाई ठूलो पाठ



बलिउडका किङ खान शाहरूख खानले आफ्नो सफलता पछाडिको कारण पिता भएको खुलासा गरेका छन् । एउटा कार्यक्रममा विद्यार्थीलाई सम्बोधन गर्ने क्रममा खानले आफ्ना पिताले सिकाएका चार पाठले नै आफू सफलताको शिखरमा पुग्न सकेको खुलाएका हुन् । ‘जब तिमी निकै एक्लो र निराश हुन्छौ, तब तिम्रो सिर्जनशीलता तिम्रो बेस्ट फ्रेन्ड बन्न सक्छ’, उनले छात्रछात्रालाई भनेका योसँगै यस्ता उपयोगी कुरा सुनाए, जसलाई हेर्दा यदि शाहरूख पिताको प्रेरणादायी कुराबाट कलाकार नबनेको भए पक्कै एक
सफल र प्रभावशाली प्रवचनकर्ता हुन सक्ने देखिन्थ्यो ।

हालै आफूलाई सम्मान स्वरूप विद्यावारिधि उपाधि प्रदान गर्ने मौलाना आजाद नेसनल उर्दु युनिभर्सिटीमा उनले पाँच मिनेट बोल्ने क्रममा भनेका थिए– ‘मानिसहरूले शिक्षा हासिल गरिरहेको देख्दा मलाई गौरव लाग्छ । संसारमा विद्याभन्दा ठूलो चिज केही पनि छैन । मेरो बुबा अत्यन्तै शिक्षित व्यक्ति हुनुहुन्थ्यो । तर उहाँ त्यतिकै गरिब पनि ।’ उनले खुलाए– ‘उहाँले कहिल्यै जागिर पनि पाउनुभएन । उहाँसँग कहिलेकाहीं मात्र पैसा हुन्थ्यो । शिक्षित भए पनि उहाँले शुरू गर्नुभएको कुनै व्यवसाय सफल हुन सकेन । तर उहाँले मलाई निकै धेरै माया दिनुभयो । मेरो जन्मदिनमा उपहार किन्न उहाँसँग पैसा हुँदैन थियो ।’ पारिवारिक दुःख र संघर्ष खुलाउने क्रममा शाहरूखले विद्यार्थीसँग शेयर गरेका थिए– ‘त्यसैले उहाँले आफैंले प्रयोग गरेको केही पुराना चिजहरू नै उपहार दिनुहुन्थ्यो । त्यसैबाट मैले धेरै पाठ सिकें । उहाँले पहिलो उपहार मलाई चेस सेट दिनुभएको थियो । उहाँले हनुमान मन्दिरमा मूल पुजारीसँग त्यही चेस खेल्नुहुन्थ्यो ।’

शाहरूखले भावुक हुँदै विद्यार्थीलाई सुनाएका थिए– ‘उहाँले चेस खेलेर मैले जीवनमा धेरै कुरा सिक्न सक्ने बताउनुभएको थियो । उहाँका अनुसार सबैभन्दा पहिले चेसबाट आपसी सहयोग र समूहगत कार्यको महत्व सिक्न सकिन्छ । दोस्रो, जीवनमा कहिलेकाहीं अघि बढ्ने क्रममा एक पाइला पछि पनि सार्नुपर्ने हुन्छ । अन्तिममा, कहिलेकाहीं हामीले चेसमा सबैभन्दा मनपर्ने क्विन पनि त्याग्नुपर्ने हुन्छ ।’

साहरूखलाई उनको पिताले दोस्रो उपहार एउटा टाइपराइटर दिएका थिए । त्यसबाट कुनै गलत शब्द टाइप गर्दा त्यसलाई मेटाउन कति गाह्रो हन्छ भन्ने पाठ सिकेका रहेछन् शाहरूखले । ‘त्यो टाइपराइटरबाट जीवनमा जुनसुकै काम नबिगारीकन निकै होसियारपूर्वक गर्नुपर्छ भन्ने सिकें । कलेजमा कमर्स पढ्दै गर्दा मैले त्यो टाइपराइटरको धेरै प्रयोग गरेँ । त्यसले कुनै काम गर्ने पहिलो र अन्तिम मौका यही हो भन्ने प्रेरित गर्यो’ –शाहरूखले सुनाएका थिए । पिताबाट तेस्रो उपहारस्वरूप उनले एउटा पुरानो क्यामेरा पाएका रहेछन्, जो चल्दैनथ्यो ।

‘त्यो भ्युफाइन्डरबाट हेर्न मात्र सकिने तर क्लिक गर्न नसकिने खालको थियो’, उनले विद्यार्थीमाझ सुनाएका थिए– ‘त्यसले पनि मलाई अर्को पाठ सिकायो । त्यसबाट मैले हाम्रो सिर्जनशीलता वा सोख सधैं काम बन्न नसक्ने वास्तविकता बुझें । हाम्रो प्रतिभा चाहे कविता लेखन, गायन, नृत्य वा चित्रकला किन नहुन्, त्यो संसारले स्वीकार्नुपर्छ भन्ने छैन । उदाहरणका लागि पिताले दिनुभएको त्यो क्यामेरा । जसले तस्वीर खिच्न नसकिए पनि संसारको सुन्दर दृश्यहरू हेर्न सकिन्थ्यो । म राम्रो कवि हैन । तर निकै एक्लो र नियास्रो लाग्दा यस्तो लेख्छु तिम्रो यादमा रोएर मैले आँसुले बाथटव भरिदिएँ, तर तिमी आएर त्यसमा नुहाएर गयौ । यो लेखेर बस्दा मलाई मनमा ठूलो शान्ति मिल्छ ।’

उनले आफ्नो पिताबाट सिकेको चौथो पाठ भनेको सधैं ख्यालठट्टा गर्न नभुल्नु भन्ने रहेछ । साहरूखले विद्यार्थीलाई सधैं हसिमजाक गर्न र एक बालकजस्तै निर्दोष बन्न सल्लाह दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्