केडिराको पहिलो ह्याट्रिक



 

रोम, (एजेन्सी)
सामी केडिराले आफ्नो करिअरमा पहिलो पटक ह्याट्रिक गरेका छन्। केडिराले इटालिन सिरी एअन्तर्गत खेलमा युडिनेजविरुद्ध ह्याट्रिक गरेका हुन्। उनकै सहयोगमा १० खेलाडी सीमित उनको टोली युभेन्ट्सले युडिनेजलाई ६–२ ले हराएको थियो। खराब शुरुआत गरेको युभेन्ट्सलाई जर्मन खेलाडीले उद्धार गरेका थिए।

समीरको आत्मघाती गोलले युभेन्ट्स १–१ गोलको बराबरीमा पुगेको थियो। जबकि यसअघि आठौं मिनेटमा सेटिप पेरिकाले गोल गरेर युडिनेजलाई १–० को अग्रतामा राखेका थिए। केडिराले २०औं मिनेटमा जुवान क्वाड्राडोको पासमा हेडमार्फत गोल गर्दै आफ्नो टोलीलाई २–१ को अग्रतामा पुर्याए। तर यसको ६ मिनेटपछि नै मारियो मान्डजुकिच दोस्रो पहेँलो कार्ड हेर्दै बाहिरिएपछि युभेन्टस १० खेलोडीमा सीमित भयो। यसैको लाभ युडिनेजलाई पुग्यो। डेनीलोले गोल गरेपछि टोली २–२ बराबरीमा ल्याउन सफल भएको थियो।

यसको बाबजुद युभेन्ट्सका लागि केडिराले सानदार खेल देखाए। डेनियल रुगानी र केडिराले एक–एक गोल थपेर युभेन्ट्सलाई ४–२ को सुरक्षित स्थितिमा ल्याएका थिए। खेल सकिन तीन मिनेट बाँकी हुँदा केडिराले ह्याट्रिक पूरा गरेका थिए। उनले गोन्जालो हिग्वेनको पासमा गोल गरेर करिअरमै पहिलो ह्याट्रिक गरे। अन्तिममा मिरालेम पाजनीचले थप गोल गरेका थिए।
युभेन्ट्स तेस्रो स्थानमा उक्लिएको छ भने युडिनिज यो हारसँगै १५औं स्थानमा झरेको छ। शीर्ष स्थानमा नेपोली र दोस्रो स्थानमा इन्टर मिलान रहेका छन्। सिरि एका पूर्वविजेता नेपोलीले अहिलेसम्म हारेको छैन।

प्रतिक्रिया दिनुहोस्