इराकबाट विदेशी लडाकू फिर्ता हुनुपर्छः टिलरसन



 

वासिङ्टन, (एजेन्सी)
भारत भ्रमण गर्नुअगाडि सउदी अरेबियाको यात्रामा पुगेका अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले खाडी क्षेत्रमा इरानको प्रभाव न्यून गर्ने प्रयासमा बयान दिएका छन्।

टिलरसनले इराकमा इस्लामिक स्टेटसँग लडिरहेका इरानको समर्थन गर्ने लडाकूहरूले अब फिर्ता हुनुपर्ने बताए। उनले इराकमा उक्त कट्टरपन्थी समूहसँगको लडाइँ करिब समाप्त हुन लागेको बताए।
साउदी अरेबियामा अमेरिकी विदेशमन्त्रीले भने– ‘इरानका लडाकू इराकबाट फर्किनुपर्छ। तीबाहेक इराकको जमिनमा रहेका अन्य विदेशी लडाकूहरू पनि फिर्ता हुनुपर्छ। यसबाट इराकका नागरिक ती इलाकामा पुनः नियन्त्रण गर्न सक्नेछन्। जसलाई आईएसआईएस अर्थात् दाइसबाट मुक्त गरिएका थिए। विदेशी लडाकूहरूको फिर्ता हुनुपर्छ, त्यसले मात्र इराकका नागरिकको जीवन फेरि एक पटक सामान्य हुन सक्छ।’
साउदी अरेबियामा उक्त बयान दिएपछि अमेरिकी विदेशमन्त्री कतारको राजधानी दोहा पुगेका थिए। दोहामा टिलरसनले इराकभित्र इस्लामिक स्टेटसँग लड्नका लागि कुर्द लडाकूसँग एकजुट रहन आवश्यक रहेको बताए।

इराकका प्रधानमन्त्री हैदर अल अबादीप्रति समर्थन गर्दै टिलरसनले भने– ‘प्रधानमन्त्री हैदर अल अबादीसँग आफ्नो देश र सैन्य अभियानमाथि पूरा नियन्त्रण छ। उनलाई आफ्नो संवैधानिक बाध्यताहरू थाहा छ र उनले संविधानको पूर्ण पालना गर्दै कुर्द लडाकूहरूलाई सेनामा समाहित गर्नेछन् भन्ने मैले अपेक्षा गरेको छु।’

अमेरिकी विदेश मन्त्रीको उक्त बयानलाई लिएर इरानले प्रतिक्रिया दिएको छ। इरानका विदेशमन्त्री जावेद जरिफले इरान र इराकी सियाहरूले आफ्नो बलिदान नदिएको भए इस्लामिक स्टेट बग्दादमाथि शासन गरिरहेको हुने बताए। अमेरिकी विदेशमन्त्री टिलरसनले पश्चिम एसियाको आफ्नो यात्राका क्रममा इरानको असर कम गर्ने प्रयास गरेको मात्र नभई साउदी अरेबिया र कतारबीचको सम्बन्ध पनि सुधार्ने प्रयास गरेका छन्।
तर कतार र साउदी अरेबियाबीच विगत पाँच महिनादेखिको वैमनस्यतामा कुनै कमी आएको देखिँदैन। अमेरिकी विदेशमन्त्री आफैले त्यस्तो कुनै संकेत नदेखिएको स्वीकार गरेका छन्।

प्रतिक्रिया दिनुहोस्