बालविवाह रोक्न देउसीभैलो



 

हिक्मत नेपाली, दैलेख
तिहारको अवसरमा आपसी सद्भाव कायम गर्दै विभिन्न स्थानमा देउसीभैलो खेलिएको छ। संस्कृति बचाउँदै रमाइलो गर्ने ध्येले देउसीभैलो खेल्ने परम्परा रहिआएको छ। संस्कृतिलाई बचाउँदै पछिल्लो समय देउसीभैलो खेल्ने तरिका भने फेरिँदै आएको छ। दैलेखको गुराँस गाउँपालिका वडा नं. ३ मा रहेका बालबालिका र युवाले भने यस वर्ष देउसीभैलोमार्फत् बालविवाहका बारेमा सचेत बनाएका छन्।

बालबालिका र युवायुवती ‘बिहेवारी २० वर्षपारि’ भन्ने मूल नारा बोकेरै देउसीभैलो खेलेका हुन्। दैलेखको गुराँस गाउपालिका वडा नं. ३ नयाँ पोखरामा रहेको सिर्जनशील युवा क्लव र सुनगाभा बाल क्लवद्वारा आयोजित संयुक्त देउसीभैलो कार्यक्रममार्फत् समाजलाई बालविवाहका बारेमा सचेत गराएका हुन्।

‘नगरौं बिहेका कुरा, भएको छैन २० वर्ष पूरा’ र ‘बालमैत्री स्थानीय शासन, बालअधिकारको सम्मान’ भन्ने मूल नाराका साथ खेलिएको देउसीभैलोले समुदायको चेतनास्तरमा वृद्धि हुने अपेक्षा गरेको सिर्जनशील युवा क्वलका अध्यक्ष प्रमिला शाहीले बताइन्।

समुदायमा बालविवाह, छाउपडीजस्ता कुप्रथाहरू कायम रहेको छ। उनले भनिन्– ‘बालअधिकारका बारेमा जानकारी नभएकाले देउसीभैलोमा रमाइलोसँगै जनचेतना फैलाउन खोजेका हौं।’ बाल अधिकार र बालविवाहका बारेमा जानकारी नै नभई कलिलो उमेरमा नै विवाह गर्ने भएकाले जनचेतना फैलाउनका लागि ‘बिहेवारी २० वर्षपारि’ भन्ने नारासहित देउसीभैलो खेलेको सुनगाभा बाल क्लवका अध्यक्ष विशाल शाहीले बताए।

प्रतिक्रिया दिनुहोस्