मन्त्री र सचिवबीच झगडै–झगडा, प्रधानमन्त्री कार्यालय भन्छ– ‘मनमुटाब हुनु दुर्भाग्यपूर्ण’



 

प्रशान्त वली, काठमाडौं
कुनै व्यक्ति लोकसेवा आयोगबाट प्रतिस्पर्धा गरेर उच्च तहमा पुग्ने भनेको मुख्य सचिव हो। अर्थात् सरकारी जागिर खाएकाको सबैभन्दा उच्च पद भनेकै सरकारको मुख्य सचिव वा मन्त्रालयको सचिव हो। तर, राजनीति गर्नेहरूले नै ती उच्च पदाधिकारीलाई चलाइरहेका हुन्छन् र, बेलाबेला मन्त्री र सचिवबीच टकराव भइरहेका खबर बाहिर आइरहन्छन्।

पछिल्लो समयमा मन्त्रीलाई सचिवस्तरका कर्मचारीले अटेर गर्ने गरेको पाइएको छ। मुख्यतः विभिन्न मन्त्रालयका मन्त्री र सचिवबीच समन्वय हुन नसक्दा कतिपय काम अन्योलमा पर्ने गरेका छन् भने मन्त्रालयका महत्त्वपूर्ण फाइलहरू त्यत्तिकै अड्किएका छन्। स्वास्थ्य मन्त्रालयमा मन्त्री र सचिवबीच अधिकांश समय मन्त्रीपिच्छे पानी बाराबारसम्मको स्थिति सृजना हुने गरेको छ।

एक हप्ताअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट विनाविभागीय बनेका मन्त्री गिरिराजमणि पोखरेलले आफ्नो ८० दिने कार्यकालको प्रगति विवरण सुनाउँदै भन्नुभयो– ‘मलाई मन्त्रालयका सचिव किरण रेग्मीबाट पछिल्लो दिनमा निकै असहयोग भयो। असहयोग गर्नेहरूलाई पनि सहयोग गरिरहन्छु। मन्त्रालयमा धर्ना जुलुस आउँदा समेत सचिव रेग्मी चुप लागेर बस्नुभयो। उहाँको काम त वार्ता समिति बनाएर समस्याका लागि पहलकदमीको भूमिका निर्वाह गर्ने हो नि?’

पोखरेलले थप्नुभयो– ‘म आउँदा सचिव हाजिर गरेर निस्किहाल्नुहुन्थ्यो। स्वास्थ्य सचिव पछिल्लो एक सातादेखि मेरो सम्पर्कमा समेत रहनुभएन। कामहरू रोकियो। मैले मन्त्रालयमा पत्रकार सम्मेलन गरी बिदा लिन चाहेको थिएँ। तर त्यो अवसर मलाई मिलेन। नयाँ मन्त्रीको साइत साढे १० बजे नै हो रहेछ। त्यसपछि कार्यक्रम अन्यत्रै सारियो।’

मन्त्रालयले स्वास्थ्यमन्त्री पोख्रेललाई बिदाइ गर्नुपर्ने भए पनि मन्त्रालयले बिदाइ कार्यक्रमको समेत आयोजना गर्न सकेन। विनाविभागीयमन्त्री पोखरेलले कर्मचारीतन्त्रमा केही समस्या देखिएको भन्दै कर्मचारीहरू सदैव जनमुखी हुनुपर्ने बताउनुभयो। हाल दीपक बोहोराले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ।

पोखरेलअघिका मन्त्री गगन थापा र त्यति बेलाका सचिव डा. सेनेन्द्रराज उप्रेतीबीच पनि सम्बन्ध राम्रो नभएको स्रोतले बताएको छ। तर, सार्वजनिक कार्यक्रममा देखिँदा दुवैले एक अर्काको प्रशंसा नै गरेको पाइएको थियो। त्यति बेला मन्त्री थापा निकटहरूले सचिव डा. उप्रेतीलाई मन्त्रीका प्रस्तावलाई समर्थन नगरेको, निर्णय नगरिदिएको, फाइलहरू लुकाएको जस्ता आरोप लगाएका थिए।

स्वास्थ्यमन्त्री खगराज अधिकारी हुँदा सचिव डा. प्रवीण मिश्र हुनुहुन्थ्यो। मन्त्री अधिकारीले डा. मिश्र हुँदासम्म आफ्ना कुनै काम अघि बढाउन नसकेको बताउँदै आउनुभएको थियो। अधिकारीले पछि निजामतीतर्फका शान्तबहादुर श्रेष्ठलाई स्वास्थ्यमा तानेका थिए। यो कदमको चिकित्सकहरूले व्यापक विरोध गरेका थिए। यद्यपि अधिकारीले त्यसको सुनुवाइ नगरी सचिव श्रेष्ठलाई आफूसँगै राख्नुभएको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरि पन्थीले भन्नुभयो– ‘मन्त्रालयमा सबै काम सहज तरिकाले हुनुपर्छ। मनमुटाव हुनु राम्रो होइन। म यसबारेमा थप बुझेर तिक्तता हटाउने उपायका बारेमा छलफल गर्छु।’

प्रतिक्रिया दिनुहोस्