राष्ट्रिय जनता पार्टीमा सांसद पद बिक्री, यसरी पैसामा साटीयो टिकट



काठमाडौं । आगामी मंसिर १० र २१ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरको नाम समानुपातिकतर्फको कोटामा १ नम्बरमा राखिएको छ । ठाकुरले आफ्नो नाम पहिलो नम्बरमा राखेका छन् । राजपा नेताहरुमध्ये केहीले समानुपातिकतर्फको सांसद पदमा आफन्तलाई राखेका छन् भने केहीले पैसावालालालाई बिक्री गरेको आरोप छ । अध्यक्ष ठाकुरले सम्धिनी इन्द्रा झाको नाम १५ औं नम्बरमा राखेका छन् । २०७० मा पनि ठाकुरले इन्द्रा झालाई सांसद बनाएका थिए ।

टेलिसिरियल जिरेखोर्सानीमा पार्टीलाई सहयोग गरेको समानुपातिकमा परेको भन्ने कलाकारको ब्यंग्य राजपाको अध्यक्षमण्डलका सबैमा लागू भएको छ । राजपाका एक नेताका अनुसार अध्यक्षमण्डलका सबै सदस्यहरुले समानुपातिक सिट भागबण्डा गरेका छन् । भागबण्डामा प्राप्त एक एक सिटमा पैसावालाहरुको नाम राखेका छन् । अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले आर्थिक सहयोग लिनेगरी नरमाया ढकालको नाम समानुपातिक सूचीमा चौथो नम्बरमा राखेका छन् । महतोमात्र होइन, अरु नेताहरुले पनि समानुपातिक सिट बिक्री गरेको तथ्य खुलेको छ ।

मधेशवादको विकल्प छैन भन्ने राजपा अध्यक्षमण्डलका अर्का सदस्य अनिलकुमार झाले सोलुकी रिमाछिरिङ शेर्पाको नाम ७ नम्बरमा हालेका छन् । शेर्पासँग झाले आर्थिक सहयोग लिनेगरी नाम राखेको आरोप छ । अध्यक्षमण्डलका सदस्य शरदसिंह भण्डारीले निर्जला राउतलाई राखेका छन् । राउतको नाम ६ नम्बरमा छ । भण्डारीले सिराहाकी निर्जला राउत भनेर झुक्याउन खोजे पनि उनी पहिलाकै समानुपातिक सांसद हुन् । मधेशको नारा अलाप्ने भण्डारीले यसअघि पनि उनै राउतलाई समानुपातिक सांसद बनाएका थिए । राउत अमेरिकाको पीआर होल्डर भएको कुरामा विवाद भएपछि त्यागेकी थिइन् । अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले रामनरेश रायलाई समानुपातिकमा राखेका छन् ।

उनको नाम ५ नम्बरमा छ । तर उनलाई ‘तिम्रो पालो आउँदैन, पैसावाल खोजेर ६० र ४० प्रतिशत भागबण्डा गरौंला भन्दै महेन्द्र यादवले फकाइरहेका छन् । गाँठवाला जनजाति खोजेर प्राप्त आर्थिक लाभको ४० प्रतिशत पाउने भएपछि राय समेत सहमत भइसकेको राजपाका नेताहरुबीच चर्चाको बिषय बनेको छ । महेन्द्र यादव र रामनरेश दुवै अहिले समानुपातिकको एउटा कोटामा धन र मन भएको उदार दिलको सांसद हुने महत्वाकांक्षा भएको कुनै जनजाति डोनरको तीव्र खोजीमा छन्, राजपाका एक नेता भन्छन् ।

मधेशको मुद्दालाई सम्बोधन नगरेका कारण एमाले सकिन्छ भन्दै रिपोर्टर्स क्लवमा चर्को स्वरमा भाषण गर्ने अर्का सदस्य राजकिशोर यादवले झापाबाट लिलाराम भण्डारीको नाम ८ नम्बरमा राखेका छन् । उनीमाथि भण्डारीसँग ठूलै रकम आर्थिक सहयोग लिने सर्तमा समानुपातिकमा पारेको आरोप छ । राजपाका एक नेताले भने– राजपाका नेताहरुको मधेशवाद नरमाया ढकाल, निर्जला राउत, रिमाछिरिङ शेर्पा र लिलाराम भण्डारीमा आएर बिसर्जन भएको छ । यसअघि २०७० मा मधेशवादको नारा अलापेर लोकतान्त्रिक फोरमका नेता विजय गच्छेदारले पैसा लिंदै स्कुल संचालक बाबुराम पोखरेल, गीता राणा र सेक्सोलोजिष्ट डा। सुबोध पोखरेललाई सांसद बनाएको भनी ब्यापक आलोचना भएको थियो ।

मधेशको अधिकारका लागि लडेको भन्दै पैसामा सांसद बनाएपछि २०७४ को स्थानीय तहको निर्वाचनमा मधेशी जनताले गच्छेदारको पार्टीलाई धुलो चटाइदिएपछि उनी लाज बचाउन कांग्रेसमा पसेका छन् । गच्छेदारकै शैलीमा पैसा लिएर सांसद बनाउन अहिले राजपाका नेताहरु लागेका छन् ।
यसरी मधेशी नेताहरुले पहाडे समुदायका पैसावाल ब्यक्तिलाई समानुपातिक सांसद पद बिक्री गरेपछि राजपाका नेताहरुले आन्दोलन र धर्नासमेत दिएका थिए । राजपाले अपारदर्शी रुपमा मधेश आन्दोनलको मर्म र भावनाविपरीत टिकट बितरण गरेको भन्दै महामन्त्री केशव झाको नेतृत्वमा केन्द्रीय कार्यालय बबरमहलमा धर्ना बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्