‘ताजमहल भारतीय संस्कृतिको कलँक’



नयाँदिल्ली, (एजेन्सी)
भारतको सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी ) का एक जना विवादास्पद राजनीतिज्ञले ताजमहललाई ‘भारतीय संस्कृतिको कलँक ’ को संज्ञा दिँदै राष्ट्रद्रोहीहरूले त्यसको निर्माण गराएको बताएका छन्।

विश्वमै चर्चित वास्तुकलाको नमुनाका रूपमा चिनिने भारतको आगराको ताजमहल विश्व सम्पदा सूचीभित्र पर्दछ। उत्तरी राज्य उत्तरप्रदेशका विधायक संगीत सोमले मिरुट शहरमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्ने क्रममा सो आपत्तिजनक टिप्पणी गरेका थिए। उत्तर प्रदेशको पर्यटन पुस्तिकाबाट प्रसिद्ध समाधि ताजमहल हटाइएकाले केही साताअघि अनलाइनमा व्यापक जनआक्रोश पोखिएको थियो।

सोमले आइतबार भाषण दिने क्रममा बताएका थिए– ‘मानिसहरू पर्यटन पुस्तिकाबाट ताजमहल हटाइएकोमा आक्रोसित भएका छन्। तर तिनीहरूलाई थाहा छैन कि ताजमहल बनाउने सम्राट शाहजहाँले आफ्नै पितालाई कैद गरेका थिए।’

त्यही व्यक्तिले उत्तर प्रदेश र हिन्दूस्तानमा धेरै हिन्दूहरूलाई दुःख दिएका थिए। यस्तो स्मारकलाई कसैले इतिहास भन्छन् भने त्यस्तो इतिहास बदल्नुपर्दछ। मुश्लिम मुगल सम्राट शाहजहाँले सन् १६४३ मा आफ्नी पत्नी मुमताजको सम्झनामा ताज महल बनाउन लगाएका थिए।

सोमले यसअघि पनि पटकपटक यस्ता विवादास्पद ऐतिहासिक अभिव्यक्तिहरू दिने गरेका थिए। वास्तवमा उनको अर्काे पुत्र औरँगजेवले उनलाई मृत्युपर्यन्त कैद गरेका थिए। सन् २०१३ मा मुजफनगरमा हिन्दु–मुश्लिम दंगाका लागि पनि सोमलाई जिम्मेवार ठहराइएको थियो। सो दंगामा ६२ जनाको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्