बिहान र साँझमा मात्रै कराउने चिरकालिज लोप हुने अवस्थामा



बेनी,म्याग्दी, उचित वासस्थान र उपयुक्त वातावरण अभावका कारण दुर्लभ मानिने चिरकालिज नेपालबाट लोप हुने अवस्थामा पुगेको छ ।

त्रिभुवन विश्वविद्यालयबाट प्राणीशास्त्र बिषयमा स्नातकोत्तर गरिरहनुभएका केशव चोखालले एक वर्ष लगाएर म्याग्दीका विभिन्न ठाउँमा गरेको अध्ययन र अनुसंन्धानबाट यहाँ ५० देखि ६० वटासम्म मात्र चिरकालिज देखिएको हो ।

उहाँले चिरकालिजको अवस्था, वासस्थान, संख्या र लोप हुनुका कारणबारे म्याग्दीमा लामो अनुसन्धान गर्नुभएको हो । ‘क्याट्रस वालिचि’ वैज्ञानिक नाम रहेको यस पंक्षीलाई अंग्रेजीमा चिरफेजेन, नेपालीमा चिरकालिज र सुदूरपश्चिमा चेडु नामले चिन्ने गरिन्छ । नेपाल प्रकृति संरक्षण कोष, साना स्तनधारी संरक्षण तथा अनुसन्धान संस्थान लगायतका संस्थाहरुको सहयोगमा चोखालले यो पंक्षीको अवस्थाका वारेमा अनुसन्धान गर्नुभएको हो ।

साइटिस घोषणापत्र र आइयुसियन अन्तराष्टिय संस्थाको ‘आइ’ सुचिमा राखिएको यो पंक्षीलाई नेपाल वन्यजन्तु संरक्षण ऐनमा संरक्षित पंक्षीको सूचिमा सुचिकृत गरिएको छ ।

नेपालमा यो पंक्षी समुद्री सतहबाट १४ सय मिटरदेखि ३६ सय मिटरसम्मको भूभागमा पाइने अनुसन्धानकर्ता चोखालले बताउनुभयो । कालीगण्डकीको पश्चिम क्षेत्रमा पाइने र नेपालमा करिव एक हजारको संख्यामा रहेको यो पंक्षी म्याग्दीमा मात्रै ५० देखि ६० वटा रहेको अनुसन्धानकर्ता चोखालले बताउनुभएको छ ।

यो विश्वमा नेपाल, भारत र पाकिस्तानमा मात्रै पाइने चरा भएको उहाँले जानकारी दिनुभयो । झट्ट हेर्दा कालिजको पोथी जस्तै देखिए पनि कालिज र यसमा धेरै भिन्नता रहेको अनुसन्धानकर्ता चोखालले बताउनुभयो । उहाँका अनुसार यो पंक्षीको भालेको पुच्छर लामो हुन्छ, आँखामा रातो रङ हुन्छ , शरीरमा सेतो थोप्लामा कालो बुट्टा रहेको हुन्छ । आकारमा पोथी, भाले भन्दा सानो हुन्छ र पोथीको पुच्छर छोंटो हुन्छ ।

यसले विशेषगरी चैतदेखि जेठसम्म मात्रै अण्डा पार्ने र वच्चा कोरल्ने गरेको तथ्य पत्ता लागेको चोखालले बताउनुभयो । विहान सुर्योदय हुनुभन्दा अगाडीे र साँझमा सुर्यास्त भएपछि दिनको दुईपटक मात्र चिरचिर गरेर कराउने चिरकालिजको मुख्य विशेषता हो ।

चोखालका अनुसार यो पंक्षी मुख्यगरी मध्यपहाडको माथिल्लो भेगका जंगल नभएको खुल्ला भिर, खरवारी र अलिअलि झाडी भएको ठाउँमा पाइने गर्छ । यसले भिरमा नै वच्चा कोरल्ने र हुर्काउने गर्छ । एक पटकमा ७ देखि १५ वटासम्म अण्डा पार्ने चिरकालिज अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन आरक्ष र रारा राष्ट्रिय निकुन्जमा रहेको विभिन्न अनुसन्धानबाट खुल्न आएको चोखालले जानकारी दिनुभयो । संरक्षित क्षेत्रभन्दा वाहिर विशेषगरी म्याग्दी, वागलुङ र मध्य तथा सुदूर पश्चिम क्षेत्रमा पनि यो पंक्षी पाइने गरेको अनुसन्धानबाट खुल्न आएको उहाँले बताउनुभयो ।

म्याग्दी जिल्लामा यो पंक्षी कालीगण्डकी, म्याग्दी नदी र रघुगंगाको तटीय क्षेत्रहरुमा पाइएको चोखालले बताउनुभयो । अवैध चोरी शिकारी, आगालागी, वासस्थानको ह्रास र जनचेतनाको अभावका कारण यो पंक्षी लोपोन्मुख अवस्थामा पुगेको चोखालको भनाइ छ ।

“समुदायबीच सचेतना कार्यक्रम, चोरी शिकारी नियन्त्रण तथा वासस्थानको उचित व्यवस्थापन र संरक्षण गर्ने हो भने यो पंक्षीको संरक्षण गर्न सकिन्छ,” चोखालले भन्नुभयो । पर्यापर्यटनको विकास, जैविक विविधताको संरक्षण र लोपोन्मुख आनुवांशिक जन्तु संरक्षणका लागि पनि चिर कालीजको संरक्षण गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।
४ कार्तिक (रास

प्रतिक्रिया दिनुहोस्