डिफेन्डिङ च्याम्पियन बराबरीमा रोकियो



 

लन्डन, (एजेन्सी)
डिफेन्डिङ च्याम्पियन रियल मेड्रिडले युरोपियन च्याम्पियन्स लिगको समूह ‘एच’ अन्तर्गतको खेलमा टोटनहामसँग १–१ बराबरी खेलेको छ।

मंगलबार राति भएको खेलमा रियलका लागि क्रिस्टियानो रोनाल्डोले गोल गरे पनि राफाल भरानको आत्मघाती गोलले अंक बाँड्नुपरेको हो। तीन खेल पश्चात् समूहमा दुवै टोलीको समान ७ अंक रहेको छ।

यसै गरी अर्को इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र लिभरपुलले जित हात पारेका थिए। म्यानचेस्टर सिटीले समूह खेलमा इटालियन क्लब नेपोलीलाई २–१ ले पन्छायो। सिटीका लागि रहिम स्टर्लिङ र गेब्रिएल जिससले गोल गरेका थिए। खेलको नवौं मिनेटमा स्टर्लिङले कायल वकरको प्रहार डिफेन्डरसँग डिफ्लेक्ट भएको बललाई गोलमा परिणत गरेका थिए। त्यसको ४ मिनेटमै केभिन डी ब्रायनको पासमा जिससले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे। तर, दोस्रो हाफको ७२औं मिनेटमा पाएको पेनाल्टी किकलाई एमाडु डिबाराले गोल गरे पनि नेपोलीले सिटीलाई पूरै ३ अंक लिनबाट वञ्चित गर्न सकेन।

यस्तै लिभरपुलले बेलिजियमको मेरिबोरलाई ७–० गोलअन्तरले हरायो। यो लिभरपुलको अहिलेसम्मकै च्याम्पियन्स लिगमा ठूलो जितसमेत थियो। टोलीको जितमा मोहम्मद सालाह र रोबर्टो फर्मिनोले २–२ गोल गरेका थिए। खेलको शुरूआतमै सालाहको पास सदुपयोग गर्दै फर्मिनोले लिभरपुललाई अग्रता दिलाएका थिए। १३औं मिनेटमा फिलिप काउटिन्होले बक्स बाहिरबाट गोल गर्दै भ्रमणकारी टोलीको अग्रता दोब्बर बनाए। पहिलो हाफमा सालाहले अरू २ गोल गर्दै स्कोर ४–० गोलको अग्रतामा राखेका थिए।

दोस्रो हाफमा पनि लिभरपुलले गोल गर्ने क्रम रोकिएन। ३ गोल गर्ने क्रममा काउटिन्होको फ्रिकिकमा फर्मिनोले हेडमार्फत व्यक्तिगत दोस्रो गोल गरेका थिए। त्यस्तै खेलको अन्तिमतिर सब्स्टिच्युट एलेक्स अक्स्लेड चेम्बरलेन र ट्रेन्ट एलेक्जान्डर आर्नोल्डले गोल गर्दै लिभरपुलको सान्दार जित सुनिश्चित गरे।

यस जितसँगै लिभरपुल ३ खेलमा ५ अंक बटुल्दै समूह ‘ई’ को शीर्ष स्थानमा रहेको छ। समूहको अन्य खेलमा स्पार्टाक मस्कोले सेभिल्लालाई ५–१ ले हराएको थियो। मस्कोको पनि ५ अंक रहे तापनि गोलअन्तरका आधारमा लिभरपुल अग्रस्थानमा छ।

 

प्रतिक्रिया दिनुहोस्