अमेरिकी लेखक सेन्डर्सलाई म्यान बुकर पुरस्कार



 

लन्डन (एजेन्सी)
अमेरिकी लेखक जर्ज सेन्डर्सले आफनो किताब ‘लिंकन इन द बार्दो’का लागि यस वर्षको म्यान बुकर पुरस्कार जितेका छन्। ५० हजार डलर धनराशि रहेको यो पुरस्कार जित्ने उनी दोस्रा अमेरिकी लेखक बनेका छन्।

लघु उपन्यास लेखनमा ख्याति कमाएका सेन्डर्सको यो पहिलो उपन्यास हो। यसमा उनले चिहानमा गुजारेको एक रातको कथावस्तुलाई लिएर लेखेका हुन्। उनको यस किताबमा आफ्नो छोराको मृत्युमा लिंकनले महसुस गरेको दुःख र उनको चिहानसम्मको यात्रालाई बयान गरिएको छ। लन्डनको गिल्डहलमा डचेस अफ कर्नवालले विजेतालाई ट्रफी दिइन्।
५८ वर्षीय सेन्डर्सलगायत यो प्रतिष्ठित पुरस्कारका लागि बेलायती लेखक अली स्मिथ र फियोना मोजले, अमेरिकी लेखक पाल अस्टर र एमिली फ्रिडलुन्ड र पाकिस्तानी मुलका बेलायती लेखक मोहसिन हामिदलाई सूचीकृत गरिएका थिए।

न्युयोर्कमा बस्दै आइरहेका र टेक्ससमा जन्मेका सेन्डर्सलाई यसअघि उपन्यास लेखनमा फोलियो प्राइज र स्टोरी प्राइज पुरस्कारबाट सम्मानित गरिसकेको छ। ‘लिंकन इन द बार्डो’ उनको नवौं किताब हो।
उनले आफ्नो किताब एक सत्य घटनामा आधारित कथावस्तुमा लेखेका छन्। पुस्तकमा लिंकनका ११ वर्षीय छोरा विलीलाई सन् १८६२ मा वासिङटन डिसीस्थित एक चिहानमा लिएर जाँदाको घटनालाई समेटेको छ।

म्यान बुकर प्राइज सन् २०१४ देखि अमेरिकी लेखकका लागि पनि खुला गरिएको हो। गत वर्ष अमेरिकी लेखक पल व्युटीलाई यो पुरस्कार दिइएको थियो। सेन्डर्सको उक्त किताब ब्लुम्सबरीले प्रकाशित गरेको हो। यो प्रकाशकको किताबले प्रतिष्ठित पुरस्कार प्राप्त गरेको तेस्रो वर्ष हो।
सेन्डर्सले पुरस्कार पाउनुअगाडि टाइम म्यागेजिनलाई आफूले लिंकनका बारेमा लेख्न नचाहेको बताएका थिए। तर आफू ‘लिंकन छोराको चिहान गएको विषयमा जुन कुराहरू सुनेको थिएँ, त्यसले उनलाई धेरै प्रभावित पारेका थिए।’

सेन्डर्स सिराक्युज युनिभर्सिटीमा पढाउँछन्। सन् २०१३ मा टाइम पत्रिकाले उनलाई विश्वका सय प्रभावशाली व्यक्तिहरूको सूचीमा समावेश गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्