ऐश्वर्य २ वर्षको सपना !



 

हेटौंडा, (नेस)। मोफसल टुरमा निस्किएको फिल्म ऐश्वर्य युनिटले हेटौंडामा पत्रकार सम्मेलन गर्दै फिल्मबारे जानकारी गराएको छ। चलचित्र पत्रकार संघ मकवानपुरको आयोजनामा भएको कार्यक्रममा कलाकारहरू रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाईं र निर्मल शर्मासँगै चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जन सहभागी थिए।

आगामी कात्तिक ९ मा सोलो रिलिज हुने फिल्मका निर्मातासमेत रहेका नायक रमेश उप्रेतीले राम्रो फिल्म दर्शकसामु ल्याएको दाबी गरे। आफ्नो सपना नै स्तरीय फिल्म दर्शकसामु ल्याउने रहेको जनाउँदै निर्माता नायक उप्रेतीले आफूले यही कमाएको र यही फेरि लगानी गर्ने बताए। नायक उप्रेतीका अनुसार यो उनले करिब २ वर्ष लगाएर तयार पारेको सपना बोकेको फिल्म हो। उनले फिल्मले ठूलो सामाजिक परिवर्तन नल्याउने तर दर्शकलाई बाँधेर राख्ने दाबी गरे।

कलाकार प्रशान्तले पनि आफू यो फिल्मबाट निकै आशावादी रहेको बताए। आफूले पाएको रेस्पोन्सले उत्साहित बनाएको उनले बताए। ह्यान्डसम भिलेनको समेत ट्याग पाएका उनले आफूलाई बुझेर निर्देशकले प्रस्तुत गरेको र आफ्नो भूमिकालाई न्याय गर्न सकेको दाबी गरे।

डेब्यु फिल्ममै आएको रेस्पोन्सले नायिका दीपिका प्रसाईं निकै खुसी छिन्। आफ्ना लागि यो क्षेत्र नयाँ भए पनि हाल पाएको मायाले आफ्नो भविष्य राम्रो देखेको उनले बताइन्। फिल्ममा केकी अधिकारीको पनि भूमिका छ।

प्रतिक्रिया दिनुहोस्