डा. केसीको अनशन तोडियो, सहमति कार्यान्वयन नभए पुनः बस्ने



 

प्रशान्त वली, काठमाडौं
चिकित्सा शिक्षामा देखिएको विकृतिविरुद्ध आन्दोलन गर्दै आउनुभएका प्राध्यापक डा. गोविन्द केसीको अनशन तोडिएको छ। सरकारले माग पूरा गर्ने बचन दिएपछि डा. केसीले बुधबार अनशन तोड्नुभएको हो।
यसअघि बालुवाटारमा डा. केसी पक्षका प्रतिनिधि र सरकारी पक्षबीच १० बुँदे सम्झौताको खाका तयार गरिएको थियो। सो खाकामा डा. केसीले सहमति जनाउनुभएको थियो।

सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक आगामी कात्तिक ६ गते बस्ने मन्त्रिपरिषद्बाट अघि बढाउने सहमति भएको छ। काठमाडौं नेसनल मेडिकल कलेज सम्बन्धन प्रकरण तथा काठमाडौं विश्वविद्यालयका पदाधिकारीको बारेमा छानविन गर्न कमिटी गठन गर्ने, प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्नेलगायतका विषयमा सहमति भएको छ।

डा. केसीले १० वर्षीया बालिका रोजिना तामाङका हातबाट मह मिसिएको पानी पिएर अनशन तोड्नुभएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले डा. केसीसँग चिकित्सा शिक्षा ऐन अध्यादेशबाट ल्याउने बचन दिनुभएको छ। डा. केसीले कार्तिक ६ गते मन्त्रिपरिषद्बाट चिकित्सा शिक्षा विधेयकलाई अध्यादेशमार्फत अगाडि नबढाए पुनः ६ गतेदेखि अनशन बस्ने घोषणा गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्