घरमा के भयो यस्तो ! आफैँ आगो लाग्छ, निभाउँदा आवाज नै नआई निभ्छ



हेटौंडा, (नेस) ।
कहिलेकाँही सुन्दै अचम्म लाग्ने घटना बाहिर आउँछन् । मकवानपुरको पश्चिम मनहरी गाउँपालिका वडा नं ५, रुन्चेडाँडामा सुन्दै अचम्म लाग्ने घटनाले सबैको ध्यान तानेको छ । तीन दिनअघिदेखि स्थानीयको घरमा आफंै आगो उत्पन्न हुने घटनाले स्थानीयलाई अचम्मितमात्र पारेको छैन, त्रास पनि फैलाएको छ ।

हीरालाल मुक्तान, धनबहादुर मुक्तान र नरबहादुर मुक्तानको घरमा यस्तो देखिएको हो । आगो सल्केर कपडा तथा खरका छानाहरु जल्न थालेपछि उनीहरु तनावमा छन् । ‘आफैं आगोको राँको देखिन्छ, पानी हालेर निभाउँदा आवाज नै नआइ निभ्छ’, वडाकी महिला सदस्य पम्फा रोक्काले भनिन् । यस्तो घटना भएपछि पीडितले स्थानीय जनप्रतिनिधिलाई गुहारेका थिए ।

आगोका कारण घरको छानोसमेत जलेको छ भने घरमा रहेका अधिकांश कपडा जलेका छन् । ‘मानिसले लगाएका कपडाबाहेक अन्य कपडा जलेको पाइएको छ’, रोक्काले भनिन् । दिनहुँजसो यस्तो समस्या दोहोरिएपछि मंगलबार मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीसहित टोलीले घटनास्थलको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा उनले जलेका कपडाहरु, गोठका खरका छानाहरु जलेका अवशेष तथा कुखुराका खोरहरुमा लागेको आगलागी देखिएको थियो । ‘हामी जाँदा चाहिँ आगो बलेको देख्न पाएनौं’, अध्यक्ष उप्रेतीले भने–मंगलबार विहानसम्म आगो देखिएको थियो भन्ने जानकारी पायौं ।

आफू घटनास्थल पुग्नासाथ चाडबाडको बेला बिचल्ली भएको भन्दै स्थानीय महिलाले रुवाबासी गरेको उनले सुनाए । प्रतिउत्तरमा उनले समस्या समाधानका लागि गाउँपालिकाको तर्फबाट पहल हुने भन्दै आश्वस्त पारेका थिए ।

घटना दोहोरिन थालेपछि स्थानीयले झाँक्री तथा लामाहरुलाई देखाएका छन् । कतिपय अवस्थामा झाँक्री विद्यामार्फत् टुनामुना लगाएर पनि यस्तो गर्न सकिने स्थानीयको विश्वास छ । आगलागी हुनेबित्तिकै घरका मान्छेहरु काँप्ने गरेकाले पनि भूतप्रेत वा टुनामुनाले यस्तो भएको स्थानीय अनुमान लगाउँछन् । स्थानीयले मंगलबार दिउँसो पनि लामा गुरुलाई घटनास्थल लगेर पुजाआजाको विधि अपनाएका छन् ।

सोही स्थाननजिक इन्टरनेटको टावर र ठूलो सोलार प्यानल रहेकाले केही प्राविधिक त्रुटिका कारण यस्तो भएको हुनसक्ने स्थानीय सञ्चारकर्मी शिवकुमार काशीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्