आज कुकुर तिहार,देशभर कुकुरको पुजा गरी मनाइदै



नेपाल समाचारपत्र, काठमाडौ ।

नेपालीको दोस्रो महान चाड मानिने तिहारको दोस्रो दिन आज घर–घरमा कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर अथवा कुकुरको पुजा गरि मनाइँदैछ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिन्छ ।

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास रहेको छ ।

कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरूको सङ्ख्यासमेत बढ्न थालेको छ ।

कार्तिक कृष्ण चतुर्दशी (प्रचलित पञ्चांगका भाषामा यमपञ्चकको दोस्रो दिन) कुकुरको पूजा गर्ने चलन छ, नेपाली हिन्दु समाजमा। कुकुरले यो एक दिन मानिसहरूबाट निकै सम्मान पाउँछन्।टाउकै रंगिनेगरी रातो टिका।

गलामा सयपत्री र गोदावरी फूलको माला। मानिसले खानुभन्दा अघि नै तातो दाल, भात, तरकारी र अन्य मिष्ठान्न। घरमा पालिएकाको कुरा छोडौं, गल्ली गल्ली भौँतारिने भुस्याहा कुकुरले समेत ठूलै ‘मेजमानी’ पाउँछन्, यो दिन। एउटैले दुई चार घरपरिवारकै सम्मान पाउँदा त थेगिसक्नुको हुँदैन शरीर।

नरक चतुर्दशी बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने विधिसमेत रहेको मानिन्छ ।

यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।

यमपञ्चक अर्थात् तिहारका पाँचै दिन साँझमा घर–घरमा परिवार सङ्ख्याअनुसार यमदीप दान गरिन्छ ।

तिहारका पाँच दिनमा तिलको तेल लगाएर स्नान गर्ने प्रचलनसमेत रहेको छ ।

सनातन हिन्दु धर्ममा कुकुरको स्थान घरबाहिरै बताइएको छ। जति नै नुहाइधुवाइ गरेर राजसी ठाँटमा वा बाँधेरै राखे पनि मौका पाउनेबित्तिकै फोहोरजन्य पदार्थ खानु कुकुरको गुण हो। त्यसकारण धर्मशास्त्रहरूले कुकुरलाई घरभित्र निषेध गरेका छन्।

खाना, पूजासामग्री कुकुरले छुँदा अपवित्र ठान्छन् ।

 

प्रतिक्रिया दिनुहोस्