रेग्मीको सम्बोधन निर्वाचन केन्द्रित



 

नेपाल समाचारपत्र
काभ्रे
दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न गर्नुभएका चुनावी मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले एकवर्षे कार्यकालमा गर्नुभएको सार्वजनिक सम्बोधन तथा उहाँले दिनुभएको सन्देशहरू पुस्तकका रुपमा प्रकाशित भएको छ।

तत्कालीन अवस्थामा प्रमुख राजनीतिक दलहरू सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले दोस्रो संविधानसभा निर्वाचनका लागि दलीय नेतृत्वमा सरकार गठन गर्न नसकी बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी मन्त्रिपरिषद् गठन गर्ने निर्णय गरेसँगै शक्ति पृथकीकरणको सिद्धान्तलाई लिएर धेरै विरोधका आवाजहरू पनि आएका थिए। राजनीतिक दलहरू संविधान जारी गर्न मात्र होइन, दलीय नेतृत्वमा सरकार गठन गर्न र दोस्रो संविधानसभाको निर्वाचन गर्न असक्षम भइरहेको बेला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरिएको भनी राजनीतिक वृत्तबाटै चर्को आलोचना भएको थियो।

प्रकाशित पुस्तकमा मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले भूमिका लेख्दै नेपालको संवैधानिक तथा राजनीतिक परिवर्तनसँगै प्रधानन्यायाधीशको नेतृत्वमा मन्त्रिपरिषद् गठन भएको अवस्थासम्म विस्तृतमा प्रकाश पार्नुभएको छ।

२०४७ सालदेखि २०७० मंसिर ४ गते सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचनसम्मको घटनाक्रमलाई प्रेस सल्लाहकार गौतमले अझ स्पष्टसँग प्रकाश पार्नुभएको छ। २०६९ फागुन ३० गते भएको राजनीतिक सहमतिमा आवश्यकताको सिद्धान्तको आधारमा नेपालको अन्तरिम संविधान २०६३ को धारा १५८ बमोजिम तत्कालीन मन्त्रिपरिषद्को सिफारिसमा २०६९ चैत्र १ गते बाधा अड्काउ फुकाउने आदेश जारी भई सर्वोच्च अदालतका प्रधानन्यायाधीश रेग्मीको अध्यक्षतामा अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन भएको थियो।

रेग्मीको नेतृत्वमा गठन भएको अन्तरिम चुनावी मन्त्रिपरिषद्ले तत्कालीन आवश्यकताहरू सम्पन्न गर्दै २०७० मंसिर ४ गते स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सफल भएको थियो। यो निर्वाचनमा इतिहासमै सबैभन्दा बढी जनसहभागिता भएको दाबी गरिएको छ।

संविधानसभा निर्वाचनपश्चात् संविधानसभाको २०७० माघ २७ गते बसेको बैठकले नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् संसदीय दलका नेता सुशील कोइरालालाई प्रधानमन्त्रीमा निर्वाचन गरेको थियो। प्रधानमन्त्रीमा निर्वाचित कोइरालाले भोलिपल्ट माघ २८ गते शपथग्रहण तथा पदबहाली गरेसँगै रेग्मीको सरकार विधिवत् रूपमा विघटन भएको थियो।

इच्छाशक्ति र इमानदारिताका साथ देश र जनताको आवश्यकता पूरा गर्न तल्लीन हुने हो भने निश्चित समयमा धेरै र महत्त्वपूर्ण काम गर्न सकिन्छ भन्ने उदाहरण यो पुस्तकबाट छर्लङ्ग हुन्छ।
पुस्तकमा रेग्मीको बाल्यकालदेखि प्रधानन्यायाधीश भएसम्मको जीवनी पनि उल्लेख गरिएकाले उहाँ कुन पृष्ठभूमिबाट आउनुभएको हो भन्ने पनि प्रस्ट हुन्छ। पाल्पा जिल्लाको पोखरीथोक धोवादीमा मध्यम वर्गीय परिवारमा बुबा ढुण्डीराज र आम चित्रकुमारीको पहिलो सन्तानका रूपमा २००६ सालमा जन्मनुभएका रेग्मीले २०२८ सालमा लोकसेवा आयोगबाट लिएको परीक्षामा शाखा अधिकृतको परीक्षामा उत्तीर्ण भई सर्वोच्च अदालतमा आफ्नो न्यायिक यात्राको शुरुआत गर्नुभएको थियो।

२०३० सालमा २५ वर्षकै उमेरमा जिल्ला न्यायाधीश भएर बाग्लुङ जाँदा गाउँबाट बुढापाकाहरू फुच्चे न्यायाधीश हेर्न आएको भन्दै सदरमुकाम आएका रमाइलो अनुभव पनि उहाँको जीवनीमा समावेश गरिएको छ।

पुस्तकमा मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले देशविदेशमा नेपाली र अंग्रेजीमा गर्नुभएका सम्बोधन लिपिबद्ध गरिएको छ। उहाँका सबै सम्बोधनमा निर्वाचन सम्पन्न गर्ने प्रमुख लक्ष्य रहेको बताइएको छ। पुस्तक अध्ययन गरेपछि एकाध सम्बोधनबाहेक अधिकांश सम्बोधनमा निर्वाचन सम्पन्न गर्ने लक्ष्य केन्द्रित भएको बताइएकाले उहाँको अर्जुन दृष्टि निर्वाचन केन्द्रित थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ।

हरेक सम्बोधनमा गहकिलो र अर्थपूर्ण शब्दहरू राख्ने रेग्मी प्रत्येक औपचारिक कार्यक्रममा लिखित मन्तव्य राख्नुहुन्थ्यो। नेपालको विशिष्ट परिस्थितिमा प्रधानन्यायाधीशले सरकारले नेतृत्व गरेको इतिहासको दुर्लभ घटनामा नेतृत्व गरी देशलाई कुशलतापूर्वक मार्गनिर्देश गरेर सबै निकायहरूको सहज सञ्चालन हुने अवस्थासम्म पुर्याएको व्यक्तित्व रेग्मीको सम्बोधनले अहिले राजनीतिक दलका नेता र देशको नेतृत्व गरिरहेका नेताहरूलाई समेत मार्गदर्शन दिनसक्छ।

प्रतिक्रिया दिनुहोस्