कांग्रेसले सुशील कोइरालाको क्षेत्र राप्रपालाई दियो



 

कुमार श्रेष्ठ, बाँके
कांग्रेसले तत्कालीन सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको क्षेत्र राप्रपालाई छोडेको छ। चुनावी तालमेल मिलाउँदा नेपालगन्ज बजार समेटिएको क्षेत्र नं. २ राप्रपाको भागमा परेको हो। नेपालगन्ज उप–महानगरपालिकाको मेयर राप्रपाले नै जितेको छ।

स्थानीय निकायको चुनावमा देशभरमा कुनै नगरपालिका जित्न नसक्दा राप्रपाले नेपालगन्ज उप–महानगरपालिका जितेपछि कांग्रेसले पनि नेपालगन्जलाई राप्रपाको पकड क्षेत्र मान्नुपरेको हो। यद्यपि, स्थानीय निकायको चुनावमा स्थानीय चर्चित नेता भएकाले डा. धवलशमशेर राणालाई उम्मेदवारप्रति असन्तुष्ट कांग्रेस र एमालेका कार्यकर्ताले मत दिएका थिए।

नेपालगन्जबाट राप्रपाका पार्टी अध्यक्ष कमल थापा नै चुनाव लड्ने एक चरणको बहस भएको थियो। एक नेताका अनुसार, यो बहस कांगे्रससँग चुनावी तालमेल हुनुभन्दा अघिको हो। ‘कांग्रेससँग चुनावी तालमेल भएपछि गृह क्षेत्र हेटौंडा नै थापाका लागि सहज छ’, ती नेताले भने– ‘२०७० मा हेटौंडामा राप्रपाका दीपबहादुर सिंह लड्दा नै १२ हजार मत ल्याएको र कांग्रेसले जितेको क्षेत्र हो।’

नेपालगन्जबाट राप्रपाका विक्रम पाण्डे लड्नेसम्मको चर्चा भएको छ। केही नेताले भने कांग्रेससँग चुनावी तालमेल गरेपछि राप्रपाका स्थानीय नेता नै नेपालगन्जबाट चुनाव लड्ने बताएका छन्। ओमप्रकाश आजाद, गौरव चन्द, ऋषिराज देवकोटालगायतको नाम चर्चामा आएको छ। कांग्रेससँग नेपालगन्ज क्षेत्र समेटिएको प्रदेशसमेत राप्रपाले मागिरहेकाले अहिले नै को उम्मेदवार बन्छ भन्ने टुंगो लागिसकेको छैन।

कांग्रेसले जित्दै आएको र तत्कालीन सभापति कोइरालाको क्षेत्र भएकाले कांग्रेसले नै चुनाव लड्नुपर्छ भन्ने नेताहरू असन्तुष्ट भएर काठमाडौंबाट फर्किएका छन्। स्थानीय निकायको चुनावमा पनि उम्मेदवार चयनमा कांग्रेसका धेरै नेताहरू असन्तुष्ट बनेकाले कांग्रेसले उपमेयर जिते पनि मेयरमा पराजित भएको थियो। तालमेलका नाममा पार्टीले राप्रपालाई क्षेत्र छोडेपछि फेरि पनि स्थानीय नेताहरू असन्तुष्ट हुने लक्षण देखिएको छ।
क्षेत्र नं. २ मा अहिलेसम्म एमालेका पशुपतिदयाल मिश्रको टिकट पक्का भएको छ।

संघीय समाजवादी फोरमका इस्तियाक राइनको पनि टिकट करिव–करिव पक्का छ। राजपाबाट पूर्वमेयर विजय गुप्ता अगाडि सरेका छन्। एमाले र माओवादी, राप्रपा र कांग्रेसको तालमेल भइसक्दा फोरम र राजपाको पनि छलफल भएको छ। सदरमुकाम नेपालगन्ज समेटिएको क्षेत्रमा भने यसपटक तालमेल गर्ने पार्टीले नै चुनाव जित्ने देखिएको छ।
स्थानीय निकायमा खसेको मतलाई आधार मान्ने हो भने राप्रपा र कांग्रेस अगाडि छन्। एमाले र माओवादी अलिकति पछाडि परेको छ।

असन्तुष्टलाई मिलाउनु र राम्रा उम्मेदवार कसका हुन्छन् त्यसले बाजी मार्ने स्थानीय अगुवाहरू बताउँछन्। त्यसो त क्षेत्र नं. २ ले फरक–फरक व्यक्तिलाई चुनाव जिताएको छ। २०५१ मा राप्रपा, २०५६ र २०७० मा कांग्रेस, २०६४ मा फोरमलाई यो क्षेत्रले जिताएको थियो। यो क्षेत्रमा मधेसी र मुस्लिमको बाहुल्य रहेको छ। पहाडी समुदायको मत पनि छ। जाति, भाषाभाषी, धर्म, समुदाय र पैसाको समेत चलखेल हुने नेपालगन्जमा आगामी चुनावमा कसले बाजी मार्छ भन्न सकिने अवस्था छैन।

प्रतिक्रिया दिनुहोस्