झापामा झुल्कियो कर्मा ब्यान्ड



 

झापामा भव्य लाइभ कन्सर्ट सम्पन्न भएको छ। से नो टु ड्रग्स भन्ने नाराका साथ झापाको शिवशताक्षी–८ स्थित डुडामारी चोकमा दोस्रो म्युजिकल इभ लाइभ इन कन्सर्ट भएको हो।

कन्सर्टको प्रमुख आकर्षक लोकप्रिय सांगीतिक समूह मन्त्र ब्यान्ड बन्न पुग्यो। मन्त्र ब्यान्डको प्रस्तुति हेर्न जिल्लाका विभिन्न स्थानबाट दर्शकको भीड लागेको थियो। शुक्रबार साँझको ७ बजेबाट शुरु भएको कार्यक्रममा रातको १० बजेमात्र मन्त्र ब्यान्डका सदस्यहरु सांगीतिक प्रस्तुतिका साथ मञ्चमा उत्रिएका थिए।

‘मलाई जम्प मन पर्छ, सबैले अब जमिन हल्लाउनुपर्छ है’ भन्दै जब मन्त्रका लिड भोकलिस्ट भाष्कर देवानले दर्शकलाई उचाले, माहोल एकाएक गर्मियो। सबैले हुन्छ भनेर चिच्याएसँगै मन्त्र ब्यान्डले संस्कृति बोलको गीतबाट आफ्नो प्रस्तुति शुरु गरेर दर्शक उफारेको थियो। करिब डेढ घण्टा स्टेजमा प्रस्तुति दिएको ब्यान्डले आफ्ना लोकप्रिय गीतहरु तर हुरुरु पानी पर्छ, रिमझिम रिमझिम झरीमा, तिम्रै निम्ति, सपना, मैले माया लाएँलगायत प्रस्तुत गरेको थियो। ब्यान्डले आफ्नो लोकप्रिय गीत वीर गोर्खाली गाउँदा दर्शक उफ्री–उफ्री साथ दिइरहेका थिए। त्यसै गरी सधैं–सधैं आइरहन्छ बोलको अर्को गीत घन्काउँदा जोडी बनेर आएका दर्शक युगल डान्समा रमाएका थिए।

लागूपदार्थ दुव्र्यशनविरुद्ध सहभागिता जुटाउने उद्देश्य लिएर प्रगतिशील समाजसेवी युवा क्लबले आयोजना गरेको कन्सर्टमा मन्त्र ब्यान्डसँगै दीपा लामा, गायक साक्थिम योङ्याले पनि प्रस्तुति दिएका थिए भने स्थानीय सिग्नेचर ब्यान्डले पनि आफ्नो प्रस्तुति प्रस्तुत गरेको थियो।

श्रीभगवती स्कुलको प्रांगणमा सम्पन्न कन्सर्टबाट उठेको रकम दुव्र्यशनविरुद्धको अभियानमै खर्चिइने बताइएको छ। ‘लागूपदार्थ दुव्र्यशनमा फसेकाहरुको उपचार गर्ने र विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने हाम्रो उद्देश्य छ’ –कार्यक्रम संयोजक विक्रम लिम्बुले भने।

मन्त्र ब्यान्डले पनि आयोजकको परोपकारी अभियानमा सहयोग गर्न दर्शकलाई स्टेजबाटै आग्रह गरेको थियो।

प्रतिक्रिया दिनुहोस्