नेपालगञ्जमा पेस्तोलको मूल्य २० हजार !



नेपाल समाचारपत्र, बाँके । भारतबाट ल्याएर नेपालगञ्जमा साना हतियारको कारोबार हुने गरेको छ । नेपालगञ्जमा कटुवा पेस्तोलको मूल्य २० हजार रहेको पाइएको छ । नेपालगञ्ज–२२, पुरैनीका श्यामता लोनिया, डुडुवा–३, सुलालपुरुवाका बाबुलाल पासी र झुण्डापुरुवाका शेर अलि बागवान प्रहरीलाई नै कटुवा पेस्तोल बिक्री गर्न खोज्दा फन्दामा परेका छन् । ‘२० हजारमा डिलिङ भएको थियो, प्रहरी स्रोतले भन्यो, पुरैनीको शान्तिचोक नजिकबाट उनीहरुलाई पक्राउ गरियो ।’ साना हतियारको कारोबारले सुरक्षामा चुनौती थप्ने भएकाले कडाईका साथ लागेको बाँके प्रहरीले बताएको छ । सोमबार नै पक्राउ गरिएका तिनै जनाका बारेमा बिस्तृत अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख एसपी टेकबहादुर तामाङले बताउनुभयो ।

सीमावर्ती भारतीय बजारमा छ्याप्छ्याप्ती पाइने साना हतियार सस्तोमा ल्याएर नेपालगञ्जलगायत देशका विभिन्न शहरमा पु¥याएर महंगो बिक्री हुने गरेको छ । ‘जसले बढी पैसा दिन्छ उसलाई बेच्ने गरी उनीहरुले हतियार ल्याएका थिए, प्रहरी नै ग्राहक बनेर गएपछि उनीहरु फन्दामा परे, स्रोतले भन्यो । नेपालगञ्जमा यसअघि पनि बिक्री गर्न ल्याइएको कटुवा पेस्तोतसहित एकजना पक्राउ परेका थिए । अपराधिक मानसिकता बोकेका व्यक्तिले यस्ता हतियार खरिद गर्ने गरेको पाइएको छ । डन प्रवृत्ति, अपराधिक सोच भएका चोर, लुटेराले साना हतियार खरिद गरेर आतंक मच्चाउने गर्दछन् । सीमावर्ती शहर भएकाले नेपालगञ्जमा अपहरण, चन्दा, फिरौतीका घटना बेलाबेलामा हुने गर्दछ । पछिल्लो समयमा रोकिएपनि नेपालगञ्जबाट हराएका दुई जना अझै बेपत्ता रहेका छन् । यसैबीच, बाँके प्रहरीले भारतबाट नेपालगञ्ज भित्रिएका ६५ किलो पटाका बरामद गरेको छ ।

जिल्लाका विभिन्न नाकाबाट भित्र्याइएका पटाकालाई प्रहरीले बरामद पछि सोमबार नै नष्ट गरेको छ ।  बाँके प्रहरी प्रमुख एसपी तामाङले सोमबार पत्रकार सम्मेलन गरेर विभिन्न घटना सार्वजनिक गर्ने क्रममा आठ जना जुवाडे पनि परेका छन् । यो बीचमा प्रहरले ६ लाख ३९ हजार २ सय ३ रुपैयासहित ३६ जनालाई कारबाही गरिसकेको छ ।  जुवामा सजाय कम रहेको छ । जुवा खेल्नेलाई पहिलो पटक भए दुई सय जरिवाना तिराएर छोड्ने गरिन्छ । दोस्रो पटक भए एक महिना कैद, तेस्रो पटकमा एक वर्ष कैद, जुवा खेलाउनेलाई पहिलो पटक तीन सय जरिवाना, दोस्रो पटक भए तीन महिनादेखि ९ महिनासम्म कैदको व्यवस्था रहेको छ ।  प्रहरीले यो बीचमा पाँच वर्षकी बालिकालाई बलात्कार गरेर फरार रहेका जीगाउँका विजय सुनारलाई पनि पक्राउ गरेको छ ।

२०७० फाल्गुन १८ गते सुनारले पाँच वर्षीया बालिकालाई बलात्कार गरेका थिए । सुनारलाई जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा ४ वर्ष ११ महिना ६ दिन कैद तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्