अँगाईंको पहिलो चिनारी सार्वजनिक



 

प्रवासमा रहेर गीत लेखनमा सक्रिय गीतकार धु्रवप्रसाद अँगार्इंको पहिलो एकल गीती अडियो एल्बम चिनारी गत शनिबार राजधानीमा सार्वजनिक गरिएको छ। कवि तथ गीतकारद्वय रत्नशमशेर थापा तथा दिनेश अधिकारी, गायक प्रेमध्वज प्रधान, गीतकार डा. कृष्णहरि बराल, गीतकार संघका अध्यक्ष चूडामणि देवकोटा, बिन्ध्यवासिनी म्युजिकका प्रबन्ध निर्देशक सुवास रेग्मी, सञ्चारकर्मी दिनेश डीसीलगायतले उक्त एल्बमको सार्वजनिक गरेका हुन्।

बिन्ध्यवासिनी म्युजिकले बजार व्यवस्थान गरेको एल्बममा कुल ९ गीत छन्। सबै गीतको शब्द गीतकार ध्रुव प्रसादले लेखेका हुन्। पहिलो नम्बरमा रहेको मखमली चोलीमा ढाकाको तुना बोलको गीतमा स्वर तथा संगीत चेतन सापकोटा, नजुरेको लगन हाम्रो बोलको गीतमा स्वर अञ्जु पन्त र मनोजराज शिवाकोटी तथा संगीत अर्जुन पोखरेल, फूल दिउँ त ओइली जाला बोलको गीतमा स्वर प्रमोद खरेल तथा संगीत राजकुमार बगर, कहिले माया यता लायौ बोलको गीतमा स्वर जुनु रिजाल तथा संगीत राजेश थापा, मन खोलेर गाउँ हैमा स्वर नरेन्द्र प्यासी तथा संगीत राजकुमार बगर, बिहानीको घामको झुल्कोमा स्वर रामकृष्ण ढकाल तथा संगीत तुला पर्वत र वारिमा खोला पारिमा खोला बोलको गीतमा स्वर रामचन्द्र काफ्ले तथा संगीत तुला पवर्तकै रहेको छ। त्यसै गरी एल्बममा संगृहित नजुरेको लगन हाम्रो बोलको गीतमा पुरुष र महिला स्वरमा छुट्टाछुट्टै रहेको छ।

कार्यक्रममा एल्बममा रहेका मध्ये ५ गीतको म्युजिक भिडियो पनि रिलिज गरिएको थियो। ती गीतमा कुनैमा राष्ट्रियता, कुनैमा माया पिरती र कुनैमा विछोडको भावना थियो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै गीतकार ध्रुवप्रसाद अँगार्इंले एल्बममा संलग्न सबैलाई धन्यवाद दिए। ‘विभिन्न कारणले परदेसिए पनि म को हुँ भनेर चिनाउन पनि एल्बम प्रकाशमा ल्याएको हुँु गीतकार अँगाईंले भने। समीक्षक तथा गीतकार डा. कृष्णहरि बरालले एल्बममा देशभक्ति, मायापिरती र मिलन–विछोडका भाव बोकेको गीतहरू रहेको बताए। ‘एल्बममा विभिन्न भावका गीतअनुसार संगीत र स्वरको तालमेलका कारण पनि राम्रो सिर्जना तयार भएको छु –गीतकार बरालले भने। अर्का गीतकार दिनेश अधिकारीले गीतकारका मनमा रहेको भावनालाई पोख्ने जमर्काे गरिएको चर्चा गरे। कार्यक्रमका प्रमुख अतिथि गीतकार रत्नशमशेर थापाले अति नै राम्रा, शालिन र परिपक्व गीतको विमोचन भएको चर्चा गरे। अर्का अतिथि तथा गायक प्रेमध्वज प्रधानले गीतमा लोकपना झल्काउन मादल प्रयोग गरिएको भए झनै राम्रो हुने सुझाव दिए। बिन्ध्यवासिनी म्युजिकका प्रबन्ध निर्देशक सुवास रेग्मीले पनि प्रवासमा रहेर नेपाली गीत–संगीतप्रति योगदान दिनु ठूलो कुरा भएको प्रस्ट पारे।

प्रतिक्रिया दिनुहोस्