इलामका बजारमा किनमेल गर्नेको भीड, आवश्यक सामग्रीको मनपरी मूल्य



 

गणेश घिमिरे, इलाम
नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको चहलपह शुरू भएसँगै इलामका मुख्य बजारमा किनमेलका लागि भीड लागेको छ। तिहारका लागि आवश्यक सामग्री किन्नेहरूको भीड लागेको हो। इलामको इलाम बजार, फिक्कल, पशुपतिनगर, मंगलबारे, बिब्ल्याँटेलगायतका बजारका पसलमा तिहारका लागि आवश्यक सामग्री किन्नेको भीड बढेको हो।

तिहारमा दाजुभाइलाई दिइने उपहार, टीकाका सामग्री किन्न महिलाहरूको भीड बढी देखिन थालेको छ। तिहारमा दिदीबहिनीले दाजुभाइलाई उपहारस्वरुप दिने विशेष मसला र परिकार किन्नेहरूका कारण बजारमा भीडभाड बढेको हो। मुख्य गरी तिहारका सामग्री पाइने पसल, टोपी पसल, बिजुलीका सामग्री बिक्री हुने पसलमा भीडभाड देखिन्छ। तर तिहारका लागि आवश्यक सामग्रीमा व्यवसायीले मनपरि मूल्य लिने गरेको गुनासोसमेत गरेका छन्। इलाम नगरपालिका–८ की मञ्जु आचार्यले तिहारमा दाजुभाइलाई दिइने भाइमसलामा मनपरि मूल्य लिएको गुनासो गरिन्। ‘पसलैपिच्छे फरक मूल्य छ, ३५ देखि १ सय रुपियाँसम्म मूल्य लिने गरेका छन्’, –आचार्यले भनिन्।

त्यस्तै गुनासो इलाम नगरपालिका–१ की अनिता तिमिल्सिना भन्छिन्– ‘कति महँगो हो, चाडपर्वमा त सामान किन्नै सकिन्न, व्यापारीले मनपरि मूल्य लिन्छन्’। ‘मूल्य निर्धारण नहुँदा उपभोक्ता मर्कामा परेका छन्, तर सरोकारवाला निकायलाई भने मतलब छैन’, –उनले भनिन्। तिहारका लागि आवश्यक प्रायः सबै सामग्री छिमेकी देश भारतबाट आयात हुन्छ। त्यसैले मूल्य मनपरि लिने गरेको गुनासो उपभोक्ताको छ। भाइमसलाको भाउ यस वर्ष बजारमा छोइनसक्नु भएको उपभोक्ताहरू बताउँछन्। सामान केही हँुदैन तर मूल्य भने महँगो हुने गरेको उनीहरूको दुःखेसो छ।

तिहारमा बढी मसला बिक्री हुने भएकोले कतिपय व्यापारीले मौका यही हो भन्दै आफूखुसी मूल्य लिने गरेको उपभोक्ताहरू बताउन थालेका छन्। कतिपय व्यापारीले गत वर्ष बिक्री नभएर रहेको सामानसमेत बिक्री गर्ने गरेको गुनासो उपभोक्ताको छ। भाइ मसलामा प्रयोग हुने नरिवल, छोकडा, काजु, किसमिसलगायत सामग्रीको मूल्य दिनप्रतिदिन बढ्दो छ। मसलाको मूल्य तिहारको समयमा ३० देखि ४० प्रतिशतसम्म बढ्ने व्यापारी निर्मल अधिकारीले बताए। चाडवाडका बेला खाद्यसामग्रीको अनुगमन गर्ने प्रशासनले यस्ता सामग्रीको अनुगमनमा भने खासै चासो देखाउने गरेको छैन।

सरकारले मूल्यवृद्धिलाई निरुत्साहित गर्न नसक्दा उपभोक्ता भने बढी मूल्य तिरेर सामान खरिद गर्न बाध्य छन्। यस्ता चाडपर्वमा व्यापारी कमाउ धन्दामा लाग्दा उपभोक्ता प्रत्यक्ष मारमा पर्ने गरेका छन्। यस्तै यतिखेर इलाम बजार क्षेत्रका फेन्सी पसलहरूमा पनि उपभोक्ताको भीड बढ्न थालेको छ। तर फेन्सी पसलमा पनि व्यापारीले दोब्बर–तेब्बर नाफा खाएर कपडा बिक्री गरिरहेका छन्।

उपभोक्तालाई फेन्सी सामग्रीको मूल्यको बारेमा जानकारी नहुँदा व्यापारीले जतिमा भन्यो त्यतिमा किन्न उपभोक्ता बाध्य भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्