स्वर्गद्वारीमा प्रार्थना मण्डपको खोजी



 

नरेन्द्र केसी, घोराही, दाङ
दाङको एक परिवारले प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारी आश्रममा निजी लगानीमा प्रार्थना मण्डप निर्माण निर्माण गरिदिएको छ। मन्दिरमा दर्शनार्थी बढेसँगै पाठपूजा र प्रसाद ग्रहणका लागि ठाउँ अभाव भएको जनाउँदै घोराही भरतपुर निवासी पन्थी परिवारले आमाबुवाको सम्झनामा स्वर्गद्वारी आश्रम प्युठानमा प्रार्थना मण्डप भवन निर्माण गरेको हो।
बुबाआमा शिवप्रसाद पन्थी र नर्मदादेवी (अरङखोले कान्छा–कान्छी)को स्मृतिमा छोराबुहारी माधव पन्थी⁄निर्मला पन्थी र डा. जनार्दन पन्थी⁄सुमित्रा पन्थीले दुईतले सो भवन बनाइदिनुभएको हो।

तल्लो तलामा पाठपूजा र माथिल्लो तलामा प्रसाद वितरण गर्ने गरी दुईतले भवन निर्माण गरेको डा. पन्थीले जानकारी दिनुभयो। २५ लाख १९ हजार ७ सय ५० रुपियाँको कुल लागतमा भवन निर्माण गरिएको हो। मन्दिरमा दर्शनार्थी बढेकाले पाठपूजा गर्ने भवनको अभाव भइरहेको बेला एक परिवारले मात्र यति ठूलो लगानी गरेर महत्त्वपूर्ण काम गरेको आश्रमका सचिव ध्रुवश्रीले बताउनुभयो।

यसैबीच एक कार्यक्रम गरी भवन आश्रमलाई हस्तान्तरण गरिएको छ। दाता माधव पन्थीले आश्रम सञ्चालक समिति सचिव डा. ध्रुवश्रीलाई भवनको साँचो हस्तान्तरण गर्नुभएको हो। आश्रमका महाराज ध्यानान्द गिरीको अध्यक्षता एवं मीना न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा आश्रमका सचिव ध्रुवश्रीलगायतले बोल्नुभएको थियो। सचिव श्रीले महत्त्वपूर्ण सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रम सञ्चालन अध्यापक नवराज घिमिरेले गर्नुभएको थियो। दाता डा. पन्थीले मन्दिर परिसरमा मातापिताको स्मृतिमा पुण्य काम गर्ने अवसर दिएकोमा आश्रमप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो।

स्वर्गद्वारीमा विभिन्न व्यक्तिले आफ्ना मान्यजनको सम्झनामा धर्मशालालगायतका पूर्वाधार निर्माण गर्दै आएका छन्। गत वर्ष दाङकै श्रेष्ठ परिवारले झन्डै एक करोडको लगानीमा धर्मशाला निर्माण गरिदिएको थियो। यो आश्रममा दर्शनका लागि देशका विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन्। भारतबाटै मात्रै वर्षेनी ३ लाख पर्यटक दाङको बाटो हुँदै स्वर्गद्वारी पुग्ने गरेका छन्।

दाङको घोराहीबाट हालेरी हुँदै स्वर्गद्वारी पुग्ने गरिएको छ। त्यस्तै दाङको सैघा हुँदै पैदल हिँडेर दर्शनार्थी स्वर्गद्वारी पुग्ने गरेका छन्। अधिकांश भारतीय दर्शनार्थी यही बाटोबाट पैदल हिडेर स्वर्गद्वारी पुग्ने गरेका छन्। दाङको भालुवाङबाट भिंग्री हुँदै पनि स्वर्गद्वारी पुग्ने गरिएको छ। भिंग्री–स्वर्गद्वारी केवलकारका लागि १ निजी कम्पनीले प्रक्रिया थाले पनि यसले गति लिन सकेको छैन। घोराही–सैघा–स्वर्गद्वारी सडक निर्माण हुन सक्यो भने सबैभन्दा छोटो बाटो हुने स्थानीय जंग रोकाले बताउनुभयो। अहिले आउने गरेका तीर्थयात्रीलाई व्यवस्थित गरे पनि स्वर्गद्वारीको पर्यटन विकासमा अझ टेवा पुग्ने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्