मकवानपुरका ७० क्लिनिक बन्द



 

नेपाल समाचारपत्र
हेटौंडा
सीएमएद्वारा सञ्चालित हेटौंडाका निजी क्लिनिक बन्द गरिएका छन्। सीएमए संघ मकवानपुरले सरकारी निर्णयको विरोधमा निजी क्लिनिक बन्द गरेको हो। सरकारले सीएमएद्वारा सञ्चालित निजी क्लिनिकले बिरामी जाँच र औषधि सिफारिस गर्न नपाउने निर्णय गरेपछि उनीहरू आन्दोलित भएका हुन्।

सरकारले सामुदायिक स्वास्थ्य सहायक (सीएमए) लाई बिरामीको उपचार गर्नबाट रोक लगाएको छ। सीएमए अध्ययन गरेका स्वास्थ्यकर्मीले निजी क्लिनिक खोलेर बिरामीको जथाभावी जाँच गरेको भन्दै स्वास्थ्य मन्त्रालयले उनीहरूको उपचार गर्ने अधिकार कानुनी रुपमा कटौती गरिदिएको हो। तर, त्यसविरुद्ध मुलुकभरका सीएमए स्वास्थ्यकर्मी आन्दोलनमा होमिएका छन्।

मकवानपुर सीएमए संघ जिल्ला अध्यक्ष अजय राईले सरकारसमक्ष सीएमएको हकअधिकार सुनिश्चित गर्न अनुरोध गरेका छन्। मकवानपुरमा सीएमए क्लिनिकको संख्या ७० वटा रहेको राईले बताए। उनले यो रोजगारीको मात्र सवाल नभएर सामान्य जनताको आधारभूत स्वास्थ्य सेवा पाउने अधिकारसँग जोडिएको विषय भएको बताए।

आफूहरूको बिरामीको उपचार गर्न पाउनुपर्ने अधिकार फिर्ता हुनुपर्ने मुख्य माग राख्दै सीएमए स्वास्थ्यकर्मीले अनिश्चितकालिन बन्द शुरू गरेका छन्।

सीएमएले आफ्नो रोजगारी धरापमा परेको र दुर्गमका जनताले आधारभूत स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएको बताए। नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐनले दिएको अधिकार स्वास्थ्य मन्त्रालयले निर्देशिकाले कटौती गरेको हो। सीएमएले चिकित्सक पुग्न नसक्ने दुर्गम क्षेत्रमा निरन्तर उपचार सेवा दिइरहेका छन्। सीएमएकै सेवाका कारण मातृ तथा बाल मृत्युदर पनि घटेको अवस्थामा स्वास्थ्य मन्त्रालयले पेसालाई संकटमा पारेर उपचार गर्नबाट वञ्चित गरेको राईको गुनासो छ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्, ऐन २०५३ ले परिषद्मा दर्ता भएका चिकित्सा समूहका सहायकस्तरका स्वास्थ्यकर्मीलाई सम्बन्धित पेसागत आचारसंहिताभित्र रही बिरामीको जाँच, निदान, उपचार एवं व्यवस्थापन गर्ने अधिकार दिएको थियो। त्यसलगत्तै स्वास्थ्य मन्त्रालयले पनि उक्त अधिकार प्रयोग गर्न परिपत्र जारी गरेको थियो। तर, त्यसपछि मन्त्रालयले जारी गरेको संशोधित स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७३ ले उक्त अधिकार कटौती गरिदिएको हो।
मन्त्रालयले सीएमए स्वास्थ्यकर्मीले आफ्नो दायराभन्दा बाहिर गएर जथाभावी जाँच गर्दा बिरामीको ज्यान धरापमा परेको भन्दै उनीहरूलाई उपचार गर्नबाट वञ्चित गरेको बताएको छ।

सरकारी व्यवस्थाविरुद्ध नेपाल सीएमए संघले लामो समयदेखि आन्दोलन गर्दै आएको छ। संघले यसअघि शान्तिपूर्ण आन्दोलन भन्दै स्वास्थ्य मन्त्रालयलगायत सरोकारवाला निकायमा मागपत्र बुझाएको थियो। संघले १ लाख जनताको हस्ताक्षर मन्त्रालयलाई बुझाइसकेको छ। मुलुकभर १ लाखभन्दा धेरै सीएमए स्वास्थ्यकर्मीले निजी क्लिनिकमा बिरामी जाँचका साथै औषधि सिफारिस गर्दै आएका छन्।

संघले स्वास्थ्य मन्त्रालयको उक्त व्यवस्थाबाट मुलुकभरका १ लाख भन्दा बढी सीएमए स्वास्थ्यकर्मी बिरामीको उपचार गर्नबाट वञ्चित भएको दाबी गरेको छ। संघले तत्काल समस्या समाधानका लागि मन्त्रालयले पहल नगरे जुनसुकै कदम चाल्न आफूहरू बाध्य हुने चेतावनी पनि दिएको छ।

प्रतिक्रिया दिनुहोस्