‘कांग्रेसले निर्वाचन जित्नुपर्छ’



 

भक्तपुर ,(नेस)
नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले लोकतन्त्रलाई मजबुद बनाउँन कांग्रेसले निर्वाचन जित्नुपर्ने बताउँनुभएको छ। नेपाली कांग्रेस क्षेत्र नं २ भक्तपुरले नंखेलमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता गुरुङले वामपन्थी गठबन्धन तासको घर भएको चर्चा गर्नुभयो। नेता गुरुङले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसका कार्यकर्ता जुटेर एकता कायम गर्नुपर्ने बेला आएको बताउँनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठले कांग्रेस गौरवशाली इतिहास बोकेको लोकतान्त्रिक पार्टी भएको भन्दै कांग्रेसले जिते मात्रै लोकतन्त्र संस्थागत भई मुलुक समृद्धिको बाटोमा अघि बढ्ने बताउँनुभयो। कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कांग्रेस एकतामा विश्वास राख्ने पार्टी भएको बताउँदै कांग्रेस एक भएर सहजै बामपन्थी शक्तिलाई परास्त गर्ने बताउनुभयो। कार्यक्रममा कांग्रेसका सांसद रामेश्वर ढुंगेल, नेता नारायणभक्त खायमाली, निशान ढुंगेल, अंगत खड्कालगायतले लोकतन्त्रका पक्षमा धारणा राख्नुभएको थियो। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ सय १३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।

यसैबीच नेपाली कांग्रेसका नेता रामेश्वर ढुंगेलले पार्टीभित्र देखिएका गुट उपगुट र मनमुटावलाई त्यागेर पार्टीको हितमा सबै अघि बढ्ने हो भने निर्वाचनमा कांग्रेस पहिलो बन्ने बताउनुभएको छ। कांग्रेस भक्तपुर नगरसमितिअन्र्तगत वडा नं १ ले गरेको दीपावली, तथा छठको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो।

कार्यक्रममा भक्तपुरका कांग्रेस सभापति दुलर्भ थापाले आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका कांग्रेसलाई पहिलो पाटीका रूपमा विजयी गराउने अभियानमा एकजुट भएर लागिपर्न जिल्लास्थित नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो। आसन्न निर्वाचनमा भक्तपुरमा कांग्रेसको जितका लागि पार्टीभित्र देखिएका र भइरहेका सानातिना गुट उपगुट मनमुटावलाई त्यागेर पाटीको हितमा अघि बढ्न जरुरी रहेको बताउँदै उहाँले निर्वाचनका लागि तयारी अवस्थामा रहनुपर्ने अबको आवश्यकता भएकोमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्