प्रचण्डको बाटो हेर्दै देउवा, माओवादीका मन्त्री अन्योलमा



 

काठमाडौं, (नेस)
वाम गठबन्धनपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्बन्ध बिग्रिएको छ। तर, प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष प्रचण्डको निर्णयको प्रतीक्षामा रहनुभएको छ।

प्रधानमन्त्री देउवाले माओवादीका मन्त्री हटाउने गरी सातौंपटक मन्त्रिपरिषद् विस्तार गरे पनि माओवादीले सरकारमा सहभागी भएका आफ्ना मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको छ।

माओवादीले आफ्ना मन्त्री फिर्ता नबोलाए देउवाले माओवादीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई बिनाविभागीय बनाउने तयारी गर्नुभएको छ। तर, प्रचण्डको निर्णयको प्रतीक्षामा प्रधानमन्त्री देउवा रहनुभएको छ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै एउटै कम्युनिस्ट पार्टी बनाउने सहमतिपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्बन्ध चिसिएको छ। सत्तारुढ दल भएर पनि प्रमुख प्रतिपक्ष दलसँग चुनावी तालमेलसँगै पार्टी एकीकरण गर्ने सहमति भएलगत्तै सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले लोकतान्त्रिक गठबन्धन बनाएको थियो।

वाम गठबन्धन बनाउने निर्णयसँग प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सशंकित भएका छन्। देउवा र प्रचण्डबीच बढेको अविश्वासका कारण माओवादी केन्द्रसँग परामर्शबिना नै व्यवस्थापिका संसद्को म्याद सकिने अन्तिम दिन शनिबार प्रधानमन्त्रीले सातौंपटक मन्त्रिमण्डल विस्तार गर्नुभएको हो।

तर माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राख्दै सरकारबाट आफ्नो पार्टीको तर्फबाट सहभागी मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको छ। शनिबार प्रधानमन्त्री देउवा र प्रचण्डबीच भएको छलफलमा सोमबारसम्म माओवादीले मन्त्री फिर्ता बोलाउने सहमति भएको बताइएको छ।

प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘प्रधानमन्त्री र प्रचण्डबीच भएको सहमतिअनुसार सोमबारसम्म माओवादीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने कुरा भएको छ।’ उहाँका अनुसार राप्रपाको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई मन्त्रालय तोक्नेबारेमा समेत प्रधानमन्त्रीले गृहकार्य गर्नुभएको छ।

‘सकेसम्म माओवादीले नै सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाओस् भन्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्छ’, प्रमुख स्वकीय सचिव देउवाले भन्नुभयो– ‘यदि माओवादीले सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय नगरे प्रधानमन्त्रीले आफ्नो निर्णय गर्नुहुन्छ।’

माओवादीले संवैधानिक व्यवस्थाअनुसार आफ्ना मन्त्रीलाई सरकारमा निरन्तरता दिने निष्कर्ष निकाल्दै तत्काल सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो।

तर प्रधानमन्त्री देउवाले राप्रपासँग भएको पूर्वसहमतिअनुसार माओवादीका मन्त्रीलाई बिनाविभागीय बनाएर राप्रपाका मन्त्रीलाई जिम्मेवारी दिने तयारी गर्नुभएको बताइएको छ।

माओवादीले सकेसम्म आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म रहने नीति लिएको थियो। तर प्रधानमन्त्री देउवाले माओवादीलाई सकेसम्म मन्त्री फिर्ता बोलाउन र यदि फिर्ता नबोलाए बिनाविभागीय मन्त्री बनाउने चेतावनी दिनुभएको बताइएको छ।

प्रधानमन्त्री देउवाले आफ्ना मन्त्रीलाई बिनाविभागीय बनाए सरकारमा रहने कि मन्त्रीबाट फिर्ता बोलाउने भन्ने विषयमा माओवादी अध्यक्ष प्रचण्डले आन्तरिक परामर्शमा जुटनुभएको प्रचण्डको सचिवालयले बतायो।

आइतबार पनि माओवादीबाट सरकारमा सहभागी सबै मन्त्रीले मन्त्रालयमा रहेर काम गरेका थिए। पार्टीले फिर्ता नबोलाउने निर्णय गरे पनि देउवाले बिनाविभागीय मन्त्री बनाए रहने कि नरहने भन्ने अन्योलमा माओवादीका मन्त्री परेका छन्।

प्रतिक्रिया दिनुहोस्