नेपालमा १० लाख बाथरोगी समयमै उपचार नगरे आयु घट्ने



प्रशान्त वली, काठमाडौं
नेपालमा करिब १० लाख जनामा बाथ रोगको समस्या देखिएको एक तथ्यांकले देखाएको छ। पुरुषका दाँजोमा महिला अझ बढी रोगको शिकार हुने गरेका छन्। बाथरोग समयमै नियन्त्रणमा नलिए रोगीको आयु घटाउने बाथ रोग विशेषज्ञको भनाइ छ। नेपालीहरूको जीवनशैलीमा आएको परिवर्तनका कारण बाथरोगले दिन प्रतिदिन बढीभन्दा बढी व्यक्तिलाई ग्रसित पार्दै आएको छ।

हड्डी नै कुँजो हुने बाथ, हड्डीको घनत्व घटी भएर हुने बाथ, मेरुदण्ड कुप्रो हुने बाथलगायतका सबै खाले बाथरोग वा मांशपेशी–अस्थिपञ्जरसम्बन्धी रोगले पुरुष, महिला, बालबालिका र वृद्धवृद्धा सबै उमेर समूहका रोगीलाई आक्रान्त पार्ने गरे तापनि महिलामा सो समस्या अत्यन्तै बढी मात्रामा पाइने गरेको छ।

धूम्रपान, बढी तौल तथा अनावश्यक मोटोपना, वंशाणुगत कारण, केही त्यस्ता पेसा जसले जोर्नीहरूमा चोट पुर्याउन सक्छन् वा जोर्नीहरूको अत्यधिक प्रयोग गर्छन् र बढ्दो उमेरका कारण मानिसमा बाथरोग लाग्ने जोखिम बढ्ने गरेको नर्भिक अस्पताल थापाथलीका बाथरोग विशेषज्ञ डा. अरूणकुमार गुप्ताले बताउनुभयो। कुनै प्रकारका बाथरोग वा मांशपेशी र अस्थिपञ्जरसम्बन्धी रोग लागिसकेका वा लाग्न सक्ने जोखिममा रहेका व्यक्तिलाई उपचारतर्फ उन्मुख गराई सजग गराउनुपर्ने बाथ रोग विशेषज्ञको धारणा छ।

गुप्ताले भन्नुभयो– ‘थोरै मात्रामा गरिने शारीरिक व्यायामले पनि बाथरोग वा कुनै पनि अस्थिपञ्जरसम्बन्धी रोगमा राहत पुर्याउने मात्रै नभएर बिरामीहरूलाई आफ्नो क्रियाकलापमा सक्रिय रहन मद्दत पुर्याउने गर्छ। बाथरोग लागिसकेपछि सामान्यतया रोग लागेको भाग वा अंग दुख्ने, चलाउन कठिन पर्ने, कक्रक्क पर्ने, आदि हुने गर्दछ। केही अवस्थाहरूमा भने सामान्य सुन्निने, असामान्य रातो हुने, रातानीला डामहरू देखिने, रोगले असर गरेको भागमा ज्यादा तातो वा पोलेको अनुभव हुने जस्ता लक्षणहरू पनि देखा पर्दछन्। त्यसैले पनि समयमै उपचार गरी रोगलाई निर्मूूल पार्नुपर्छ।’

बाथरोगले शरीरका भित्री अंगप्रत्यांगलाई समेत असर पार्ने गर्दछ। बाथरोग भन्ने शब्दले सामान्यतया सबैखाले मांशपेशी तथा अस्थिपञ्जर दुख्ने समस्यालाई समेत जनाउने गर्दछ। बाथ जुनसुकै अवस्थामा जुनसुकै उमेरका मानिसलाई हुन सक्छ। बालक, युवा र वृद्धवृद्धा सबैलाई हुने यो रोग नसर्ने दीर्घरोग हो। नेपालमा युरिक एसिडबाट हुने, हाडजोर्नी सुन्निने, दुख्ने, हड्डी खिइने र मेरुदण्डको हड्डी दुख्ने खालका बाथका समस्या बढी देखिन्छ।

प्रतिक्रिया दिनुहोस्