रंगमञ्चबाट रजतपटमा



 

विजयरत्न तुलाधर

गत वर्ष रुचाइएको फिल्म पशुपतिप्रसादमा शीर्ष भूमिकामा अभिनय गरेका खगेन्द्र लामिछानेले सशक्त अभिनयबाट सबैको मन जिते । उनको टलकजंग भर्सेस टुल्के पनि मन पराइएको थियो । यसभन्दाअघि उनको नाम त्यति सुनिएको थिएन । अब्बल दर्जाका अभिनेताका रूपमा फिल्म जगत्मा स्थापित हुनुभन्दा अगाडि उनले रंगमञ्चमा करिब एक दशक बिताएका थिए । बीबीसी नेपाल रेडियोमा रेडियो नाटक लेखन र निर्देशनमा कार्यरत खगेन्द्र लामिछानेले पोखराको प्रतिबिम्ब थिएटरमा नाटक विषयमा अध्ययन गरेका थिए भने उनका चर्चित नाटकहरूमा पीडा गीत र पानी फोटो विशेष उल्लेखनीय मानिन्छ ।

अहिले दयाहाङ राई नेपाली फिल्मका एक चर्चित अभिनेता मानिन्छन् । एक दशक जति अगाडि दासढुंगा नामक फिल्ममा अमर लामाको पात्र निर्वाह गरेका दयाहाङ राईले आर्यन सिग्देल मुख्य भूमिकामा रहेको मेरो एउटा साथी छमा एउटा गौण पात्रमा अभिनय गरेका थिए । यसरी सानो भूमिकाबाट यात्रा शुरू गरेका दयाहाङ राई अहिले व्यस्ततम् अभिनेतामध्ये एक हुन पुगेका छन् ।
फिल्ममा व्यस्त भए पनि दयाहाङले नाट्य अभिनयलाई भने चटक्कै छोडेका भने छैनन् । ‘किनभने त्यो नै मेरो धरातल हो । मैले मेरो धरातल बिर्सनु हुँदैन । रंगमञ्चमा अभिनय गर्दाको जस्तो सुखद अनुभूति फिल्ममा कहाँ पाउन सकिन्छ र ?’ भन्दै आएका अभिनेता राईले जलपरी, रमाइलोलगायतका नाटकमा अभिनय गरेका छन् । दयाहाङसँगै जलपरी नामक नाटकमा नम्रता श्रेष्ठले पनि शीर्ष भूमिकामा अभिनय गरेकी थिइन् ।

अर्थात् उनी पनि रंगमञ्चीय पृष्ठभूमिबाट रजटपटमा आएकी अभिनेत्री हुन् । सशक्त अभिनयकी धनी अत्यन्त प्रतिभाशाली अभिनेत्री मानिएकी नम्रता श्रेष्ठले मौन फिल्ममा आवाजविहीन युवतीको पात्रका रूपमा गरेको अभिनयका लागि थुप्रै पुरस्कार जित्न सफल भएकी थिइन् भने क्लासिक फिल्ममा गरेको दृष्टिविहीन युवतीको भूमिकाका लागि लगातार पुरस्कार जित्दै आइरहेकी छिन् । पुरस्कार जित्ने क्रममा अभिनेता राई पनि अगाडि नै छन् भने पनि हुन्छ । उनी लोकप्रियताको होडमा पनि अग्रपंक्तिमा नै छन् ।

यसरी रंगमञ्चबाट खारिएर आएका कलाकारहरू अहिले फिल्मको चम्किलो पर्दामा पनि धेरैभन्दा धेरै संख्यामा देखिन थालेका छन् । कुनै समय यस्तो पनि थियो, जति बेला नाटकमा अभिनय गर्नेहरू फिल्मका लागि उपयुक्त हुँदैन भनिन्थ्यो । त्यति नै बेला निर्देशक मनोज पण्डितको लक्ष्यबाट फिल्म अभिनयमा प्रवेश गरेका अभिनेता अनुप बरालको अभिनय यात्रा त्यति बेला सफल हुन पाएन । अनि त्यसपछि फेरि रंगमञ्चतिर नै फर्किए । तर अभिनेता अनुप बरालको अहिले भने फिल्मी व्यस्तता बढेको छ । अभिनेता अनुप बरालसँग विवाह बन्धनमा बाँधिएकी अभिनेत्री दिया मास्केले आठ वर्ष जति अगाडि कागबेनी फिल्ममार्फत् फिल्मी अभिनय यात्रा शुरू गरेकी थिइन् । पछि सुनगाभा र साँघुरोजस्ता अन्तर्राष्ट्रिय रूपमा चर्चा कमाउन सफल फिल्ममा पनि अभिनय गरिन् । तर उनको यात्रा नम्रता श्रेष्ठको जस्तो सुगम भने हुन सकेन । नम्रता श्रेष्ठसंगै सानो संसार फिल्मबाट अभिनय यात्रा थालेका अभिनेता कर्मा पनि रंगमञ्चबाट नै फिल्ममा प्रवेश गरेका हुन् ।

कुनै बेला रंगमञ्चीय कलाकार फिल्मका लागि उपयुक्त हुँदैनन् भन्ने मानिन्थ्यो । तर पुरानै कुरा सम्झिने हो भने पनि नेपालमा फिल्म निर्माण आरम्भ हुँदा निर्माण भएको आमामा शीर्ष भूमिका निर्वाह गर्ने अभिनेत्री चैत्य देवी र सोही फिल्ममा नायिकाको भूमिका निर्वाह गर्ने भुवन थापा (चन्द) पनि रंगमञ्चबाट फिल्ममा आएका थिए ।

नेपाली फिल्मलाई अत्याधुनिक डिजिटल प्रविधितिर डोर्याएको पहिलो फिल्म कागबेनीमा दिया मास्केको साथमा प्रमुख पात्रका रूपमा अभिनय गरेका अभिनेता सौगात मल्ललाई सो फिल्मबाट कुनै लाभ भने भएन । तर लुटमा हाकु कालेको रूपमा गरेको सजीव अभिनयपछि उनी फिल्म जगत्मा स्थापित अभिनेताको रूपमा दहरिन पुगे । लुटबाट फिल्मी अभिनेताका रूपमा स्थापित हुन सफल भएका अभिनेतामा कर्मा र दयाहाङ पनि पर्छन् । सौगात मल्ल र दयाहाङ जस्तै कर्मा पनि रंगमञ्चबाट नै रजतपटतिर लम्केका अभिनेता हुन् । सेन्ट जेभियर्समा पढ्दै गर्दा विश्वविख्यात नाटककार शेक्सपियरका नाटकमा अभिनय गरेका कर्माले पछि गुरुकुलसँग आबद्ध भई केही नाटकमा अभिनय गरेका थिए । यसरी रंगमञ्चबाट आएका कलाकारहरू अहिले फिल्म जगत्मा एकपछि अर्को गर्दै आफूलाई स्थापित कलाकारका रूपमा उभ्याउन सफल भएका छन् । होस्टेल रिटन्र्स र रेशम फिलिलीबाट फिल्मी अभिनयमा प्रवेश गरेका कामेश्वर चौरसिया र रेशम फिलिलीका एक प्रमुख अभिनेता विनय श्रेष्ठ पनि नाटकबाट अनुभव बटुलेर पर्दामा होमिएका हुन् ।

रंमञ्चबाट आएका कलाकारले वर्चस्व कायम गर्दै गर्दा नेपाली फिल्ममा जगत्मा व्यावसायिक युग शुरू गर्ने नायक भनिएका राजेश हमालले समेत निर्देशक अनुप बरालको निर्देशनमा कोर्टमार्सल नामक एउटा नाटकमा अभिनय गरेर रंगमञ्च अभिनयको अनुभव बटुले । यो नाटक र राजेश हमालको अभिनय दुवै प्रशंसा बटुल्न सफल भयो । खारिएका रंगकर्मी सरोज खनालले पनि केहीअघि मात्र १२ दुर्बासाहरू नामक नाटकमा अभिनय गरेर रंमञ्चको आफ्नो पुरानो अनुभवलाई ताजा पारे । यसरी हेर्दा अहिले फिल्म जगत्मा रंगमञ्चबाट कलाकारहरू आउने क्रम बढ्दै गएको पाइन्छ । कुनै बेला रंगमञ्चीय कलाकार फिल्मका लागि उपयुक्त हुँदैनन् भन्ने मानिन्थ्यो । तर पुरानै कुरा सम्झिने हो भने पनि नेपालमा फिल्म निर्माण आरम्भ हुँदा निर्माण भएको आमामा शीर्ष भूमिका निर्वाह गर्ने अभिनेत्री चैत्य देवी र सोही फिल्ममा नायिकाको भूमिका निर्वाह गर्ने भुवन थापा (चन्द) पनि रंगमञ्चबाट फिल्ममा आएका थिए । चैत्यदेवीका केही प्रमुख रंगमञ्चीय प्रस्तुतिहरूमा २०१९ सालमा देखाइएको नेपालको फूलबारी प्रमुख हो । उनले अग्नि परीक्षा, सिलु गीति नाटक संकल्प, गर्छिन् पुकार आमा, पूर्णचन्द्रजस्ता नाट्य कृतिमा मुख्य भूमिकामा कलाकारिता देखाउने अवसर पाइन् र नेपालको पूmलबारीमा नृत्य अभिनय गर्दागर्दै आमाका लागि छनोट भएकी हुन् ।

२०२१ सालमा आमाको निर्माण थालनी हुँदा भुवन थापा पन्ध्र वर्षकी मात्र थिइन् । उस्ताद भैरवबहादुर थापाकी छोरी भएकाले उनमा पनि गायन प्रतिभा हुनु स्वाभाविक हो । तर उनले आफ्नो कलायात्रा पाँच वर्षको उमेरमै नाट्य सम्राट् बालकृष्ण समको अन्धवेग नाटकमा भानु नामक पात्रमा अभिनय गरेर आरम्भ गरेकी थिइन् । युवा अस्थामा पुगेपछि समकै मुकुन्द इन्दिरामा इन्दिराका रूपमा अभिनय गरिन् । उनले जाली दरबार, डोला मैंया, भोजन भट्ट, मसान, मुना मदनलगायतका धेरै नाटकमा अभिनय गरीन् । थुप्रै नाटक, गीतिनाटकदेखि टेलिफिल्म र फिल्महरूमा अभिनय गरेकी भुवन थापाले अभिनय गरेका बालकृष्ण समको नाटक अन्धवेगमा शान्ति मास्केले प्रमुख भूमिका निर्वाह गरेकी थिइन् । पछि फिल्म जगत्मा चरित्र अभिनेत्रीका रूपमा ख्याति कमाएकी शान्ति मास्के पनि रंगमञ्चबाट नै रजतपटमा आएकी अभिनेत्री थिइन् ।

अहिले नेपाली फिल्ममा रंगमञ्चबाट खारिएर आउने कलाकारको बाहुल्यता बढेको छ । यो क्रम फिल्म निर्माणको आरम्भिक दिनहरूबाट शुरू भएको पुष्टि भइसकेको छ ।

हास्य अभिनयका लागि ख्याति कमाएकी अभिनेत्री वसुन्धरा भुसाल पनि रंगमञ्चबाट नै फिल्मसम्म सफलता प्राप्त गर्न पुगेकी अभिनेत्री हुन् । उनले प्रल्हाद, अमिट बासना, बुहार्तन, मसान, मुटुको व्यथालगायतका नाटक तथा रामभरत मिलाप, यशोधरा, भृकुटी, हिमकन्या, मुना मदनलगायतमा थुप्रै गीति नाटकमा समेत अभिनय गरेकी छिन् । सुभद्रा अधिकारी, मिथिला शर्मा, शकुन्तला शर्मालगायतका कतिपय अभिनेत्री फिल्ममा आउनुभन्दा अगाडि रंमञ्चमा अभिनय र नृत्य प्रतिभा प्रस्तुत गरिसकेका अभिनेत्री हुन् ।

यस्तै गरी अभिनेताहरू हरिहर शर्मा, कृष्ण मल्ल, दीपक क्षत्री, अशोक शर्मा, रमेश बुढाथोकी, मदनदास श्रेष्ठ, मोहन निरौला, लय संग्रौला, उज्जव घिमिरे, मुरलीधरजस्ता कैयौं अभिनेताहरू रंगमञ्चबाट नै फिल्ममा पुगेका अभिनेता हुन् । नेपाल टेलिभिजनको संस्थापक महाप्रबन्धकसमेत रहिसकेका अभिनेता एवं निर्देशक नीर शाह तथा अभिनेता हरिहर शर्मा पनि रंमञ्चबाट खारिएर फिल्म जगत्मा ख्याति कमाउन सफल हस्ती हुन् ।

हास्य अभिनयको चर्चा गर्दा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको योगदान अतुलनीय छ । मह जोडीका रूपमा ख्याति कमाएको यो जोडीले वासुदेव, ट्रक ड्राइभर, राजमति, लोभी पापी, के घर के डेरा, हाँसी देऊ एकफेरजस्ता फिल्ममा अभिनय गरेका छन् । संख्यात्मक रूपमा धेरै फिल्म नखेले पनि फिल्ममा उनीहरूले पुर्याएको योगदान अवर्णनीय छ । यसरी खोतल्दै जाने हो भने रंगमञ्चबाट फिल्ममा प्रवेश गरेकाहरूको सूची लामै बन्छ । संक्षेपमा चर्चा गर्ने हो भने अहिले नेपाली फिल्ममा रंगमञ्चबाट खारिएर आउने कलाकारको बाहुल्यता बढेको छ । यो क्रम फिल्म निर्माणको आरम्भिक दिनहरूबाट शुरू भएको पुष्टि भइसकेको छ । यसरी रंमञ्चबाट फिल्मतिर यात्रा बढाएका कलाकारहरूको चर्चा गर्दा कुनै बेला एक्सन किङको दर्जा पाएका लोकप्रिय अभिनेता शिव श्रेष्ठको नाम पनि उल्लेखनीय हुनु आउँछ । उनले फिल्ममा प्रवेश गर्नुभन्दा पहिला विराटनगरमा मञ्चन भएको दुई लाश एक चिहान नाटकमा अभिनेता तथा निर्देशक उज्जव घिमिरेसँगै अभिनय गरेका थिए । पुराना पुस्तामा ख्याति प्राप्त निर्देशक निर्देशक स्व. शिव रेग्मी, निर्देशक बद्री अधिकारी अनि निर्देशक एवं अभिनेता रमेश बुढाथोकी निर्देशक एवं अभिनेता कृष्ण मल्ल, मदनदास श्रेष्ठ, अशोक शर्मा, दीपक क्षत्री, टीका पहाडी, मोहन निरौलालगायतका धेरै कलाकारहरू रंगमञ्चबाट रजतपटतिर पुगेका हुन् ।

यसरी रंगमञ्चबाट फिल्मतिर यात्रा बढाएका कलाकारहरूको चर्चा गर्दा कुनै बेला एक्सन किङको दर्जा पाएका लोकप्रिय अभिनेता शिव श्रेष्ठको नाम पनि उल्लेखनीय हुनु आउँछ । उनले फिल्ममा प्रवेश गर्नुभन्दा पहिला विराटनगरमा मञ्चन भएको दुई लाश एक चिहान नाटकमा अभिनेता तथा निर्देशक उज्जव घिमिरेसँगै अभिनय गरेका थिए ।

नयाँ पुस्तामा सरिता गिरी, विजय बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे, राजन खतिवडा, पुष्कर गुरुङजस्ता धेरै कलाकारहरू रंमञ्चबाट रजतपटमा पुगेका कलाकारहरू हुन् भने रंगमञ्चमा माइली शृंखलाका लोकप्रिय नाटकहरूलगायतका नाटकहरूमा अभिनय गरेर प्रशंसा बटुल्न सफल भएकी सिर्जना बस्नेत पनि अहिले फिल्ममा व्यस्त हुन थालेकी अभिनेत्री हुन् । केही लिम्बु भाषाका फिल्ममा समेत अभिनय गरेकी सिर्जना सुब्बाले बहुचर्चित फिल्म लुटमा हाकु कालेकी पत्नीको रूपमा अभिनय गरेकी छिन् । रंगमञ्चमा नै आफ्नो जीवन समर्पण गरेका सुनील पोखरेलका कतिपय शिष्यहरूले रजतपटमा आधिपत्य जनाइसक्दा पनि स्वयं सुनील पोखरेल भने फिल्म अभिनयबाट टाढा नै रहने प्रयास गर्दै आएका छन् । उसो त सुनील पोखरेलले दुई दशक जति अगाडि निर्देशक राजेन्द्र शलभको परिभाषामा खलपात्रका रूपमा अभिनय नगरेका होइनन् । तर उनलाई फिल्मको पर्दाले बाँधेर राख्न भने सकेनन् । उनले अरू पनि एउटा दुईटा फिल्ममा पनि अभिनय गरे ।

सुनील पोखरेलकी पत्नी निशा पोखरेलले पनि फिल्मी मोह पालिनन् । बरु निशाकी दिदी अभिनेत्री सूर्यमाला खनालले पछिल्लो समयमा आएर सुन्तली नामक फिल्ममा अभिनय गरिन् र प्रशंसा पनि बटुलिन् । तर यसैलाई निरन्तरता भने दिइनन् । यस्ता केही उदाहरणलाई अपवादका रूपमा लिन सकिन्छ । यी अपवाद मान्न सकिने उदाहरणहरूबाहेक रंमञ्चबाट फिल्ममा आउने कलाकारले फिल्म जगत्मा पहिल्यैदेखि प्रभाव छोड्दै आएको कुरामा दुईमत गर्ने ठाउँ छैन ।

प्रतिक्रिया दिनुहोस्