नियमित विद्युत् आपूर्तिले नेपाली निर्माण सामग्रीको गुणस्तरमा सुधार



 

काठमाडौं, (नेस)
नेपालमा निर्माण हुने सबैखाले भौतिक पूर्वाधारमा नेपालमै उत्पादित निर्माण सामग्री प्रयोग गर्नुपर्नेमा सरकारको जोड छ। नेपालमै उत्पादन हुने निर्माण सामग्रीको गुणस्तर राम्रो रहेको हुँदा यहाँ उत्पादित सबै सामग्री यहाँको आवश्यकता तथा मापदण्डमा रहेर उत्पादित हुने गरेका छन्। तसर्थ, निर्माण कार्यमा स्वदेशीे निर्माण सामग्री प्रयोग गर्दा कुनै संकोच मान्नुपर्ने अवस्था छैन नरहेको निर्माण व्यवसायीहरूको भनाइ छ।
विदेशमा उत्पादन भएको सामग्रीको तुलनामा १५ प्रतिशत महंँगो भए पनि नेपाली नै प्रयोग गर्नुपर्ने सरकारको स्पष्ट निर्देशन छ।

व्यवसायीहरूका अनुसार नेपाली सिमेन्टमा स्वदेशी उत्पादनले ८० प्रतिशत माग पूर्ति गर्न सक्षम भइसकेको अवस्था छ। त्यस्तै क्लिंकरमा ६०–७० प्रतिशत आत्मनिर्भर बनिसक्यो।

नेपाली निर्माण व्यवसायीले पूर्ण रूपमै स्वदेशी उत्पादन प्रयोग गर्ने गरेका छन्। तर, वैदेशिक लगानी तथा ग्रान्टमा निर्माण हुने ठूला परियोजनामा भने विदेशी सामग्री प्रयोग हुने गरेका छन्। यसमा सरकारले भन्सार सुविधा दिएर सहयोग गरेको छ। ठूला परियोजनामा पनि नेपाली सामग्री नै प्रयोग हुनुपर्ने व्यवसायीको भनाइ छ। नेपाली उत्पादनलाई थप गुणस्तरीय बनाउन सरकारी पक्षले नियमित अनुगमन गरोस् तथा ती उद्योग प्रवद्र्धनमा उल्लेख्य सहयोग पुर्याउनुपर्ने उनीहरूको भनाइ छ।

निर्माण क्षेत्रलाई निर्माण समयमा कुन गुणस्तरको बनाउने भनेर ‘इस्पेसिफिकेसन’ तोकेको हुन्छ र व्यवसायीले त्यही निर्देशिका भित्र रहेर काम गर्नुपर्ने हुन्छ। त्यसमा कुन ग्रेडको सिमेन्ट तथा डन्डी प्रयोग गर्ने भनेर तोकिएको हुन्छ। साथै कुन स्ट्रेन्थको रिजल्ट निकाल्ने पनि त्यसैमा उल्लेख गरिएको हुन्छ। स्ट्रेन्थ भनेको सिमेन्ट, बालुवा छड मिसाएर तयार पारिएको कंक्रिटको विभिन्न अवधिमा टेस्ट गरेर नापिने क्षमता हो।

म्यानुफ्याक्चरिङ डिफेक्ट हुँदा निर्माण व्यवसायीले समस्या भोग्नुपरेको छ। कम्पुटराइज्ड प्रविधिको प्रयोगले यसलाई न्यूनीकरण गर्न सहयोग गरे पनि प्रायः विद्युते आपूर्तिमा तलमाथि हुँदा समस्या निम्तिन सक्छ। सिमेन्टको हकमा फाइननेस बिग्रिन्छ भने डन्डीको डक्टिलिटीमा असर पर्न जान्छ। तर, नेपालमा लोडसेडिङको अन्त्यसँगै नेपाली उद्योगले पर्याप्त विद्युत् पाइरहेको हुँदा त्यो समस्या हटेको छ।

निर्माण उद्योगको कच्चा पदार्थ भनेको सिमेन्ट तथा डन्डी उद्योगका उत्पादन नै हुन्। निर्माण कार्यको गुणस्तर पूरा गर्न कच्चा पदार्थको गुणस्तर पूरा गर्न जरुरी हुन्छ। यो कुरामा सरकारी निकायले नै अनुगमन गर्नुपर्ने हुन्छ। किनकि ती उद्योगले नै निर्माणको क्वालिटी निर्धारण गरेका हुन्छन्।

निर्माण सामग्रीको सन्दर्भमा नेपालमा स्टोरेज गर्न स्थान छैन। फ्याक्ट्रीबाट डन्डी उत्पादन भएर डिपोमा आउँछ। तर, डिपोवालाले त्यसलाई बाहिर हावामै राखिदिन्छन्। सिमेन्टमा पनि चिसो भुईंमा राखिन्छ। यसले गर्दा डन्डीमा खिया लाग्ने हुन्छ, सिमेन्ट ढिक्का बन्छ। फ्रेस सिमेन्ट र ६–७ दिन राखेको सिमेन्टमा फरक पर्छ। तर, अहिले मोइस्चर प्रुफ बोरामा प्याक हुन थालेको छ। डन्डीमा पनि यस्तै भइदिए राम्रो हुने व्यवसायीको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्