उतारचढावपछि नेप्से सुधारको बाटोमा



 

नेपाल समाचारपत्र
काठमाडौं
दशैंपछिको दोस्रो साता नेपाल स्टक एक्स्चेन्जमा तीव्र गिरावटपछि सुधार आएको छ। राजनीतिक उथलपुथलसँगै लगातार घट्न थालेको शेयर बजार गत साताको पहिलो दिन उच्च गिरावट आए पनि नेप्से महाप्रबन्धक नियुक्त भएसँगै पछिल्ला दिन सम्हालिन थालेको छ।

पछिल्ल्लो दरमा सुधारिएको देखिए पनि नेप्से अघिल्लो साताको तुलनामा ३२ दशमलव ६३ अंकले घटेको छ। गत साताको पहिलो दिन आइतबार १ हजार ५ सय ४२ दशमलव ६५ अंकबाट शुरू भएर अन्तिम दिन १ हजार ५ सय १० दशमलव शून्य २ को अंकमा आएर रोकियो।

गत साता बजारमा १ सय ६२ कम्पनीका ३९ लाख ४३ हजार ८ सय १० कित्ता शेयर १ अर्ब ७६ करोड ३९ लाख ८५ हजार रुपियाँमा कारोबार भए। गत साता शेयर बजारमा पहिलो २ दिन क्रमशः गिरावट आएको थियो। अघिल्लो साता भएको बाम एकतापछि घट्न शुरू भएको बजारले यी दुई दिन निरन्तरता पाएको थियो। आइतबार बजार परिसुचक ३२ दशमलव ६४ अंकले घट्दा सोमबार पनि ८ दशमलव ६४ अंकले ओरालो लोगको थियो। त्यसपछि बजारमा भने लगानीकर्तामा कन्फिडेन्स नहुँदा कारोबार रकम घटे पनि परिसूचक भने बढेको थियो। मंगलबार र बुधबार नेप्से क्रमशः शून्य दशमलव ७४ र ३ दशमलव ३६ अंकले बढेको थियो। त्यस्तै बिहीबार परिसूचकमा ४ दशमलव शून्य ३ सुधार आयो। गत साता कारोबारमा आएका ९ समूहमध्ये ८ समूहका परिसूचकमा गिरावट आए। सुधार आउनेमध्ये अन्य समूहमात्र रह्यो। सो समूहको परिसूचक ४७ दशमलव ४३ अंकको सुधार आयो। घट्नेमा बीमा समूह सबैभन्दा धेरै २ सय ११ दशमलव १ अंकले घट्यो।

त्यस्तै होटल, विकास बैंक र उत्पादनमुलक समूहका परिसूचकमा क्रमशः ७२ दशमलव ३१, ६९ दशमलव ७५ र ४७ दशमलव ४५ अंकले घटे। जलविद्युत, बैकिङ र वित्त समूहमा पनि ३७ दशमलव ४१, ३६ दशमलव ७३ र २१ दशमलव ९६ अंकका गिरावट आए। ट्रेडिङ समूह पनि १३ दशमलव ६ अंकले ओरालो लाग्यो।

यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक अघिल्लो साताको तुलनामा शून्य दशमलव ६७ अंकले बढेर ३ सय १७ दशमलव ६३ अङ्कमा आइपुगेको छ।

गत साता कारोबार रकमको आधारमा गत साता चिलिमे हाइड्रोपावर कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको कूल १३ करोड ५६ लाख ३० हजार रुपियाँ बराबरको शेयर कारोबार भयो। त्यस्तै स्ट्यान्डर्ड चार्टरर्ड बैंकको ६ करोड ५० लाख रुपियाँ, नेपाल दूरसञ्चार कम्पनीको ५ करोड ५६ लाख रुपियाँ, नेपाल बैंकको ५ करोड ५१ लाख रुपियाँ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड २७ लाख रुपियाँ बराबरको शेयर कारोबार भएका थिए।गत साता कारोबार भएको शेयर संख्याको आधारमा नेपाल बैंकले शीर्ष स्थान ओगटेको छ। गत साता बैंकका १ लाख ६२ हजार कित्ता शेयर कारोबार भए।
त्यसैगरी कारोबार संख्याको आधारमा चिलिमे हाइड्रोपावर कम्पनी अग्रस्थानमा रह्यो छ। कम्पनीका कूल १ हजार १ सय २२ वटा कारोबार भएका थिए। गत साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँचै दिन खुला रह्यो। गत हप्ता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन।
साताभरि ३ कम्पनीका शेयर नेप्सेमा सूचीकृत भए। नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ३९ लाख कित्ता, एनबी इन्स्योरेन्स कम्पनीको २७ लाख कित्ता र पूर्णिमा विकास बैंकको ६६ हजार ९ सय ११ दशमलव ८२ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएका हुन्।

बजारमा यस्तो उतारचढाव आउनुको प्रमुख कारण राजनैतिक उतारचढाव तथा लगानीकर्ताको कन्फिडेन्स नहुनु जानकारहरुको बुझाइ छ। लगानीकर्ताले दशैंमा अन्य क्षेत्रमा पैसा खर्च गर्दा दशैंलगत्तै शेयरमा लगानी नभएको उनीहरु बताउँछन्। त्यस्तै मुलुकको राजनीतिक तनाव, लामो समयसम्म नेतृत्वविहीन बनेको नेप्सेमा महाप्रबन्धक नियुक्त हुनुका कारण पनि पुँजी बजार प्रभावित बनेको उनीहरुको दाबी छ।

अघिल्लो साता बजार खुलेसँगै परिसूचक बढ्ने संकेत देखाए पनि त्यसयता तीन दिन लगातार गिरावट आउनुले राजनैतिक परिदृश्यलाई लगानीकर्ताले मन नपराएको जानकार बताउँछन्। यद्यपि, पहिलो त्रैमाश समाप्त हुनै लाग्दा कर्जाको ब्याज तिर्न लगानीकर्ताले बिक्री बढाउँदा अस्थिरता छाएको अर्काथरीको बुझाइ छ। हाल बजार बाहिर लिलामीमा कम्पनीको शेयर बिक्री बढ्दा परिसूचक खस्किएको उनीहरुको दाबी छ।
शेयर बजारमा यस्तो उतारचढाव आउनुमा धेरै कारण रहेको विश्लेषकको बताउँछन्। त्यसमा राष्ट्रिय राजनीतिमा वाम एकता वा लोकतान्त्रिक गठबन्धन निर्माण हुनु, विभिन्न कम्पनीद्वारा लाभांश घोषणा भईरहनु तथा बैंकिङ प्रणालीमै लगानी योग्यपुँजी बढी हुनु आदि रहेका छन्।

यसैबीच लगानीकर्ताको लुज भएको कन्फिडेन्स अझै दह्रो हुन सकेको छैन। यो कुरा नेप्सेमा भएको कारोबार रकम ५० करोड रुपियाँभन्दा बढी नहुनुले स्पष्ट पार्छ। कुनै समय १ अर्ब रुपियाँको हाराहारीमा हुने बजार कारोबार त्यति नपुग्नुले लगानीकर्तामा उत्पन्न मनोवैज्ञानिक त्रास हाबी भएको देखिन्छ। यसैले गर्दा बजार प्रभावित भएको हो। यद्यपि, गत साताको अन्तिम ३ दिनमा देखिएको सुधारको स्थितिलाई भने सकारात्मक रूपमा लिनुपर्ने लगानीकर्ताको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्