वैदेशिक लगानी हरेक वर्ष घट्दै



 

नेपाल समाचारपत्र
काठमाडौं
छिल्ला वर्षहरुमा वैदेशिक लगानी घट्दै गएको पाइएको छ। विदेशी कम्पनीले ठूलो परिमाणमा लगानी भित्राउन प्रतिबद्धता देखाए पनि पछिल्लो तीन आर्थिक वर्षमा भित्रिएको लगानीको अवस्था हेर्दा हरेक वर्ष कम हुँदै गएको छ।

गत फागुन तेस्रो साता सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलन गरेपछि नेपालमा १४ खर्ब रुपियाँभन्दा बढीको लगानी प्रतिबद्धता जनाएको थियो। तर, गत आर्थिक वर्षमा उद्योग क्षेत्रमा भित्रिएको विदेशी लगानी हेर्दा अघिल्ला आर्थिक वर्षको तुलनामा निकै कम देखिन्छ। कम्पनी रजिस्ट्रारको कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७०⁄७१ मा २ खर्ब ८७ अर्ब ८० करोड रुपियाँ पुगेको विदेशी लगानी आर्थिक वर्ष २०७१⁄७२ मा १ खर्ब ३८ अर्ब ७५ करोड १८ लाख रुपियाँमा झरेको थियो। त्यस्तै आर्थिक वर्ष २०७२⁄७३ मा लगानी रकम १ खर्ब २१ अर्ब रुपियाँ औद्योगिक क्षेत्रमा लगानीका लागि नेपाल भित्रिएको देखिन्छ।

कम्पनी रजिस्टारको कार्यालयको तथ्यांकलाई हेर्दा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १ खर्ब ६२ अर्ब ९५ करोड रुपियाँ नेपाल भित्रिएको देखिन्छ। अन्तर्राष्ट्रिय लगानी सम्मेलनले पनि गत वर्ष भित्रिएको लगानी केही बढी देखिएको बुझ्न सकिन्छ। गत वर्ष फागुनमा उद्योग मन्त्रालय, लगानी बोर्ड, योजना आयोग र निजी क्षेत्रको सहयोगमा सम्पन्न लगानी सम्मेलनमा पनि चीन, भारत, बंगलादेश लगायतका मुलुकबाट उत्पादनमूलक क्षेत्रमा करोडौं रुपियाँ लगानी गर्ने प्रतिबद्धता आएको छ। तर, गत आर्थिक वर्ष र चालू आर्थिक वर्षको अन्तिम २ महिनासम्ममा प्रतिबद्धताको २० पनि प्रतिशत पनि लगानी भित्रिन सकेको छैन।

उद्योग विभागमा गत आर्थिक वर्ष २०७३⁄७४ को ५ सय ८ वटा विदेशी कम्पनीहरु दर्ता भएका छन्। जसमा कृषि तथा वनसंँग सम्बन्धित २५ वटा उत्पादन क्षेत्रसँग सम्बन्धित १ सय २५ वटा, सामाजिक सेवासँग सम्बन्धित १ सय ६५ वटा पर्यटन क्षेत्रमा १ सय ५४ वटा सूचना प्रविधिसँग सम्बन्धित १४ वटा, निर्माण क्षेत्रसँग सम्बन्धित ३ वटा र मिनरल उद्योगका रूपमा २ वटा कम्पनीहरु दर्ता भएका छन्। यस अवधिमा उर्जाक्षेत्रमा १९ वटा विदेशी कम्पनीहरुले आफ्नो लगानी नेपालमा भित्राएका छन्। नेपालमा भित्रिएको विदेशी लगानीको अवस्थालाई हेर्दा ऊर्जामूलक क्षेत्रमा सबैभन्दा बढी लगानी भएको छ। १९ वटा कम्पनीमार्फत् ८२ अर्व २१ करोड रुपियाँ नेपाल भित्रिएको छ।

त्यसैगरी उत्पादनमूलक क्षेत्रमा ४३ अर्व ९७ करोड, पर्यटन क्षेत्रमा १५ अर्व रुपियाँ लगानी नेपाल भित्रिएको छ। त्यसैगरी सेवा क्षेत्रमा १५ अर्ब ८५ करोड ७४ लाख ९० हजार रुपियाँ लगानी भएको छ। कृषि तथा वन क्षेत्रमा ३ अर्व १० लाख १० हजार रुपियाँ लगानी भएको छ। सूचना प्रविधिका क्षेत्रमा ६८ लाख ७४ हजार रुपियाँ, मिनरल उद्योगमा ३८ लाख ५० हजार रुपियाँ, निर्माण क्षेत्रमा १० लाख २० हजार रुपियाँ लगानी भित्रिएको छ।

कम्पनी रजिस्टारको कार्यालयको तथ्यांक हेर्दा चालू आर्थिक वर्षमामात्र यसरी दर्ता भएका कम्पनीहरुले २६ हजार ४ सय ७८ जनालाई रोजगारी दिएको छ। उत्पादनमूलक क्षेत्रमा सबैभन्दा धेरै १० हजार ६ सय ७५ जनाले रोजगारी पाएका छन्। त्यसैगरी पर्यटन क्षेत्रमा ५ हजार २ सय जनाले, निर्माण क्षेत्रमा २ हजार २ सय ६८ जनाले रोजगारी पाएका छन्। कृषि तथा वन क्षेत्रमा ८ सय ३१ जनाले, सूचना प्रविधिको क्षेत्रमा ७ सय ६४ जनाले , र मिनरल उद्योगमार्फत १ सय १० जनाले रोजगारी पाएका छन्।

हालसम्म झण्डै सात हजार विदेशी कम्पनीहरुले नेपालीमा लगानी गरिरहेका छन्। यसरी दर्ता भएका उद्योगहरुमा सबैभन्दा धेरै उत्पादनमूलक क्षेत्रमा दर्ता भएका छन्। उत्पादनमूलक क्षेत्रमा २ हजार ७ सय १५ वटा विदेशी कम्पनीहरु दर्ता भएका उद्योग विभागको तथ्यांकमा उल्लेख छ। त्यस्तै सेवामूलक क्षेत्रका कम्पनीहरुमा १ हजार ९ सय सात वटा कम्पनीहरु दर्ता भएका छन्। नेपालमा सञ्चालित यस्ता विदेशी कम्पनीको सुचीमा पर्यटन क्षेत्रका कम्पनीहरु तेस्रो नम्बर छन्। हाल नेपालमा पर्यटन क्षेत्रका १ हजार ४ सय ६ वटा कम्पनीहरुले आफ्नो व्यवसाय सन्चालन गरिरहेका छन्। यसरी नेपालमा स्थापना भएर व्यवसाय गरिरहेका विदेशी कम्पनीहरुले ५ लाख ४८ हजार भन्दा बढी व्यक्तिहरुलाई नेपालमा रोजगारी दिईरहेको उद्योग विभागको तथ्यांकमा उल्लेख छ।

नेपालमा विदेशी कम्पनीहरुले साविकका कम्पनीहरुमा सेयर हस्तान्तरण मार्फत लगानी गर्नसक्ने प्रावधान छ। त्यसैगरी आन्तरिक लगानीबाट खोलिएका उद्योगहरुमा ऋणमार्फत पनि विदेशी लगानी भित्राउन तथा प्रविधि स्थानान्तरण मार्फत पनि विदेशी लगानी भईरहेको छ। विदेशी लगानी नीति २०७१ अनुसार विदेशी कम्पनीहरुले आयकरमा छुट, नाफा विदेश लैजान पाउने, तथा नेपालका बैंक तथा वित्तीय क्षेत्रबाट ऋण पाउन सक्ने व्यवस्था गरेको छ। उक्त नीतिमा विदेशी लगानीकर्ताहरुलाई छुट्टै परिचयपत्र वितरण गर्ने तथा उत्पादित वस्तुको मुल्य निर्धारणमा सरकारले हस्तक्षेप गर्न नपाउने व्यवस्था छ। नीतिअनुसार विदेशी कम्पनीहरुले लघु उद्यम र परम्परागत घरेलु उद्योग, हातहरियार, खरखजाना, गोलीगट्ठा, बारुद तथा विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग, विकिरणजन्य पदार्थ सम्बन्धि उद्योग, मुद्रा तथा सिक्का व्यवसाय, आमसञ्चारका प्रशारण माध्यम लगायत क्षेत्रमा विदेशी लगानी गर्न पाइदैन।

प्रतिक्रिया दिनुहोस्