अव्यवस्थित फोहोरले राजविराज दुर्घन्धित



 

शिवहरिप्रसाद भट्टराई, राजविराज
लामो प्रतिक्षापछि असोज ३ गते प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ।

स्थानीय तहमा जनताले आफ्ना प्रतिनिधि चुनेर पठाएका छन्। कतै टन्टलापुर घाम, कतै दर्के पानी र घन्टौंको लाइन लागेर जनताले भोट खसाले। आफू अनुकूलका प्रतिनिधि चयन गर्नसके पक्कै पनि सुविधा पाइन्छ भन्ने नै सबैको अपेक्षा थियो, त्यसबेला।

तर, स्थानीय तह सञ्चालनका लागि ऐन⁄नियमावली नबन्दा जनप्रतिनिधि नै अन्योलमा परेका बेला जनताको अपेक्षा पूरा हुने कुरै भएन। जनप्रतिनिधि विकास निर्माण तथा जनताको काम गर्नुभन्दा पनि सामाजिक सञ्जालमा छाइरहेका छन्।

फेसबुक तथा टुइटरमा प्रचारप्रसार गर्ने र आफू क्रियाशील रहेको देखाउनेबाहेक जनताले महसुस गर्नसक्ने गरी कुनै पनि कामको शुरूवात हुनसकेका छैनन्। अपेक्षाअनुसारका स्थानीय तहको क्रियाकलाप अघि नबढ्दा जनतामा भने निरासा मडारिन थालेको छ।

यसको प्रत्यक्ष उदाहरण यतिबेला राजविराज नगरपालिका बनेको छ। चुनावपूर्व नगरको सरसफाई, छाडा पशुचौपाया नियन्त्रण र त्यसपछि विकास निर्माणको अपेक्षा राखेका नगरबासी यतिबेला निराश मात्र होइन आश्चर्यचकित छन्। नगरपालिकामा जनप्रतिनिधिले पदभार ग्रहण गरेसँगै नगरको फोहोर उठ्न छोडेको छ।

मुलुककै पुरानो
नगरपालिकामध्येको सप्तरी सदरमुकाम राजविराज नगरपालिकाका सडक, हटिया तथा गल्लीहरूमा यतिबेला जताततै फोहोरको डंगुर देखिन्छ। साताअघिदेखि थुप्रिएको फोहोर कुहिएर मानिस नाक थुनेर ओहोरदोहोर गर्न बाध्य छन्।

राजविराजको मेनरोड, नेताचोक, गजेन्द्र चोक, हटिया, रूपनी मोड, अदालत लाइन, सिरहा रोडलगायत स्थानमा पछिल्लो समय जताततै थुप्रिएको फोहोर कुहिन थालेपछि दुर्गन्ध फैलिएको हो।
फाहोर र छाडा सुगुरकै कारण फैलिएको जापानिज इन्सेफ्लाइटिसले गत वर्ष (२०५३ साउन ५ गते) तत्कालीन राजविराज–९ तेतरीगाछिका बालक रमण देवको मृत्युसमेत भयो। जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरीले बालकको मृत्यु जापानीज इन्सेफ्लाइटिसकै कारण भएको पुष्टि पनि गर्यो। जापानीज इन्सेफ्लाइटिस फैलाउने लामखुट्टे फोहोर र सुँगुरबाटै आउने भएकाले नगरमा फेरि यस्ता घटना नहोलान् भन्न सक्ने अवस्था छैन। ‘यति हुँदा पनि नगरपालिका किन चुप लागेर बसेको छ, बुझिसक्नु छैन’, – राजविराज हटियाका पसले सौकात अलिले भने।

नवनिर्वाचित जनप्रतिनिधिले पनि फोहोर व्यवस्थापनका विषयमा चासो नदिएको गुनासो गर्दै उनले भने –‘अब त कर्मचारीलाई मात्रै दोष मिल्दैन, नगरको विकास गर्ने वाचा गरेका जनप्रतिनिधिले पनि यस्ता विषयमा ध्यान दिनुपर्ने हो।’

प्रतिक्रिया दिनुहोस्