पाला बनाउन भ्याईनभ्याई



 

पुष्कर बुढाथोकी, भक्तपुर

नेपालीहरूको दोस्रो महान चाड तिहार नजिकिँदै गर्दा दिपावलीमा झ्याल तथा ढोकामा प्रयोग गरिने माटाका पाला बनाउन यतिबेला भक्तपुरमा कुमाले जातिलाई भ्याइनभ्याइ छ। दिपावलीको समय आएपछि भक्तपुर नगर तथा मध्यपुर थिमिका माटाका भाडा बनाउने क्षेत्रका वासिन्दा काममा व्यस्त हुने गर्दछन्। अन्य समयमा दैनिक दुई दर्जन बिक्री नहुने पाला तिहारको समयमा दैनिक ३ हजारसम्म बिक्री हुने गरेको यस क्षेत्रका व्यवसायीहरू बताउँछन्।

भक्तपुरका प्रजापति समुदायलाई विगतका वर्षमा जस्तै यो वर्ष पनि तिहारको लक्ष्मीपूजाको दिन बाल्ने पाला बनाउन सक्रिय छन्। २०७२ सालको भूकम्पले धेरै प्रजापतिको घर भत्कियो। आफ्नो पुरानो थलो भक्तपुर पोटरी स्क्वायर छोडेर अहिले धेरै प्रजापति अन्यत्र नै बस्छन्। तर जिन्दगीमा उनीहरूको पुरानो र मुख्य पेसा माटोको भाडा बनाउने भने निरन्तरता दिएका छन्।

जेजस्तो दुःख भए पनि उनीहरू सबै नेपालीको घर उज्यालो बनाउन अहिले दिनरात नभनी माटोको पाला बनाउन व्यस्त छन्। स्थानीय विनोद प्रजापति भन्छन् ‘वर्षेनी माग धेरै भएपछि माटोका भाडा एवम् पाला बनाउन अहिले दिनरात लागेका छौं।’ विभिन्न शुभकार्यमासमेत प्रयोग हुने माटोको पालाको माग दिपावलीमा भने धेरै हुने गरेको छ। विगतमा जस्तै यो वर्षमा माटोको अभाव भए पनि प्रजापतिहरूले हिन्दूले मनाउने उज्यालोको पर्व शुभ दिपावलीको बत्ति बाल्ने पाला बनाउन भने छोडेका छैनन्। भक्तपुरमा माटोका भाडा बनाउँदै आएका यो समुदायलाई तिहारलाई आवश्यक पर्ने माटाको भाडा बनाउन आजभोलि भ्याइनभ्याइ छ। उनीहरूले सानो पालाको मात्र २ रुपियाँ, ठूलो पालाको ५ रुपियाँसम्म लिने गरेका छन्।

दिपावलीको अवसरमा मैनबत्ती बाल्ने प्रचलन व्यापक भए पनि विगतका केही वर्ष यता माटोको पालामा मैन भरेको पाला बाल्ने क्रममा बढेको छ। सुरक्षाको दृष्टीकोणलेसमेत यो पाला उत्तम मानिने गरिन्छ र आगलागी नहुने भएकाले पालाको माग बढेको जानकारहरू बताउँछन्।
तिहारका लागि माटोको पाला, भिउँटे, ठेकी, धुपौरोलगायतका माटोका सामग्रीको माग उच्च हुने गरेको छ। भक्तपुर नगरको बोलाछें, च्यामासिंह, तालाको पोर्टरी स्क्वायर र मध्यपुरथिमि नगरको नगदेश, बोडे, चपाचोलगायतका स्थानका प्रजापति समुदाय यतिखेर तिहारका लागि आवश्यक पालालगायतका अन्य सामग्री बनाउन व्यस्त छन्। अन्य समयमा माटाका भाडाहरू फाट्टपूmट्ट बिक्री हुने गरेको तर बढी समय हात बाँधेर नै बस्नुपरेको माटोका पाला बनाउन लागि परेको गुनासो गर्छन्।

‘तिहार आइसक्यो माटोको पाला, भिउँट, ठेकी, धुपौरोको थुप्रै अर्डर आएको छ, तिहारअघि जसरी पनि सामान दिनुपर्छ, अहिले भ्याइनभ्याइ छ’ –वर्षौंदेखि माटोको भाँडा बनाउँदै आएका पोटरी स्क्वायरकी गंगामाया प्रजापति भन्नुहुन्छ। उपत्यका तथा उपत्यका बाहिरका वासिन्दाहरूका लागि भक्तपुरमा बनाइएको पाला निकै परिचित रहेको छ। यसको मौलिक परिचयका कारण उपत्यका बाहिर जिल्लाका वासिन्दालेसमेत भक्तपुरसम्म पाला किन्न आउने गरेको व्यवसायी बताउँछन्। काभ्रे, काठमाडौं र ललितपुरका व्यापारीलेसमेत भक्तपुरबाट पाला किनेर लाने गरेका छन्। पाला बनाउन उच्च गुण भएको कालो माटो चाहिन्छ।

तिहारमा माटोको पाला, दही राख्ने ठेकी र धुपौरो बनाउन अर्डर आएको पोटरी स्क्वायरका कुमाले समुदायका वासिन्दा बताउँछन्। प्रायः आधुनिक मेसिनमा बनाइने भए पनि बिजुली नआएको बेलामा भने हाते काठको चक्रबाट पनि पाला बनाउने गरिन्छ। यता मध्यपुरथिमिका नगदेश, बोडे, चपाचो, पाँचोलगायतका स्थानका प्रजापति समुदायका पूरै परिवारलाई पनि उस्तै चटारो छ।

प्रायः जगाती, सिपाडोल, हरिसिद्धिबाट माटो ल्याइ माटोको पाला बनाइ बिक्री गरिन्छ। माटोको पाला बनाइ भक्तपुरको तलेजु मन्दिरमा पनि दिने प्रचलन छ। तर आधुनिकतासँगसँगै विद्युतीय सामग्रीको प्रयोग गरिएको पनि पाइन्छ। यसरी विद्युतीय सामग्री बढीरूपमा प्रयोग हुँदा पाला बनाउनेलाई असर पारेको पनि देखिन्छ। पहिले माटो लिन जाँदा माटो किन्न नपर्ने तर हाल आएर पैसा तिरेर माटो किन्न पर्ने अवस्था आएको छ कुमालेलाई।

माटोको अभाव र महँगीका कारण मूल्य बढी भएको पाला बनाउने बताउँछन्। पालामात्र नभएर माटाका भाडा बनाउँदा विशेष गरी माटाको समस्या छ। स्थान अभावका कारण बनाइएका माटाका भाडा पोल्न स्थानकोसमेत अभाव रहेको यस क्षेत्रका माटाका भाडा बनाउनेको गुनासो रहेको छ।

भक्तपुरका न्हुछेबहादुर प्रजापति भन्नुहुन्छ– ‘माटोको पालालगायत अन्य भाँडाहरू बेच्दा वर्षमा १ लाख रूपियाँसम्म व्यापार हुने गरेको छ।’ तिहारमा मात्र ५ हजारदेखि ७ हजारसम्म व्यापार हुन्छ। अर्का व्यवसायी कृष्णलक्ष्मी प्रजापतिले माटोको पाला बनाइ तलेजु मन्दिरमा दिंदा र माटाका भाडाकुडा बिक्री हुँदा वर्ष ५०–६० हजार रूपियाँ व्यापार हुने गरेको बताउनुभयो।

तालाकोमा पुर्खौंदेखि माटोको भाडा बनाउँदै आएका लक्ष्मीप्रसाद प्रजापतिले घरका पुरुष माटो ल्याउने, माटो मुछ्ने, भाडा बनाउने, भाडा पोल्ने काम गर्ने र महिलाहरू भने भाडा सुकाउने, भाडामा र· लगाउने र भाडाको व्यवस्थापन गर्न मै व्यस्त रहने गरेको बताउनुभयो। भक्तपुरमा माटोका भाडा बनाउने समुदायले तिहारमा २५ हजारदेखि २ लाख रुपियाँसम्म आम्दानी गर्ने गर्छन्।

माटोको अभाव र महँगीका कारण मूल्य बढी भएको पाला बनाउनेहरू बताउँछन्। विशेष गरी प्रजापति समुदायले बनाउँदै आएका माटाका भाडा बेच्ने भक्तपुरमा कति व्यापारी छन् भन्ने यकिन छैन। अन्य बेलाभन्दा तिहारको समयमा अल्पकालीन व्यापारीहरू बढ्ने गर्दछन्। भक्तपुर नगरको सूर्यमढी, जेलाँ, जगाती, सूर्यविनायक, लिवाली र मध्यपुरको चपाचोलगायतका टोलमा अन्यत्रको तुलनामा बढी माटाको भाँडाहरू बनाउने गरिन्छ।

उज्यालोको पर्व तिहारको अवसरमा यहाँ माटोका सामग्रीको बिक्री तीव्ररूपमा हुन्छ। लक्ष्मीपूजादेखि भाइटीकाको दिनसम्म घरमा दियो बाल्नुपर्ने भएकाले नै मानिसहरूले यी सामग्री खरिद गर्ने गरेका छन्। माटोका सामग्रीमा दियो, चारमुखी, कलशजस्ता सामान अत्यधिक बिक्री हुने गरेको छ।

बजारमा आपूर्ति भन्दा पनि माग बढेकाले माटाका सामग्रीको मूल्य बढेको व्यापारीहरू बताउँछन्। मुलुकलाई आत्मनिर्भर बनाउने मुद्दा चलिरहँदा नेपालभित्र नेपाली कच्चा पदार्थबाट सञ्चालन हुने यस्ता मौलिक उद्योगलाई संरक्षण गर्न राज्यले पहल गर्नुपर्ने आवश्यकता देखिन्छ।

प्रतिक्रिया दिनुहोस्