उम्मेदवार चयन गर्ने छान्ने सर्वशक्तिशाली समितिमा शेखर कोइराला पनि थपिए



काठमाडौं । नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दिनअघि गठन गरेको संसदीय समितिमा पाँच जना पार्टी नेतालाई थप गरेका छन्। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीका उम्मेदवारहरु चयन गर्ने सर्वशक्तिशाली समितिमा पार्टीका पाँच नेतालाई मनोनित गरेसँगै समितिको संख्या २२ पुगेको छ। यसरी आज समितिमा थपिएका सदस्यहरुमा शेखर कोइराला, मानबहादुर विश्वकर्मा, फरमुल्लाह मन्सुर, एनपी साउद र मिनेन्द्र रिजाल रहेका छन्। पार्टी विधानत् सभापतिले तीन निर्वाचित पदाधिकारी पदेन सदस्य तथा तीन सभापतिले मनोनित गर्ने पदाधिकारी समिति सदस्यका अतिरिक्त ८ केन्द्रीय सदस्यलाई मनोनित गरी संसदीय दलको नेतासहित १५ सदस्य रहने प्रावधान रहेको छ। तर पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन मिलाउन सभापति देउवाले तीन दिन अघि आफूसहित १७ सदस्यीय संसदीय समिति गठन गरेका थिए। विधानको प्रावधान भन्दा बढी सदस्य राख्दा पनि समितिमा दलित, मुस्लिम जस्ता समुदायको प्रतिनिधित्व नरहेको भन्ने विषयमा प्रश्न उठेपछि सभापति देउवाले शनिबार समितिमा थप सदस्यहरुको मनोनयन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्