नेपाली कांग्रेसका नेता मन्सुरले भनेः सरकार विस्तार नगरेर प्रधानमन्त्रीले खेतमा गएर हलो जोत्ने त ?



नेपाली कांग्रेसका नेता तथा श्रममन्त्री फरमुल्लाह मन्सुरले मन्त्रीमण्डल पुर्नगठन गर्नु संसदीय व्यवस्थाको सामान्य नियम भएको बताएका छन् ।

प्रधानमन्त्रीको स्वविवेकीय अधिकार अनुसार मन्त्रीमण्डल विस्तर गर्न पाइने भन्दै मन्त्री मन्सुरले सरकारको बचाउ गरेका हुन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै उनले आवश्यकता अनुसार मन्त्रीमण्डल विस्तार हुने बताए ।

६०१ सासंदलाई आधार मान्दा अहिलेसम्म १० प्रतिशतको हाराहारीमा मात्रै मन्त्री बनाइएको भन्दै मन्सुरले धेरै जना मन्त्री भए भन्ने आलोचनाको खण्डन गरे ।

अहिलेको अवस्था अनुसार सबै वर्ग क्षेत्र र सरकारलाई समर्थन गर्ने दललाई सरकारमा सहभागी गराएर निर्वाचनमा जानुपर्ने आवश्यकता महसुस गरेर मन्त्रीमण्डल विस्तार गरिएको उनको भनाई छ ।

सरकारलाई मन्त्रीमण्डल विस्तार गर्ने अधिकार भएकाले नै राप्रपालाई सरकारमा ल्याइएको उनको भनाई छ । प्रधानमन्त्रीको काम मन्त्रीमण्डल विस्तार गर्ने हो भन्दै मन्सुरले प्रश्न गरे, “प्रधानमन्त्रीले खेतमा गएर हलो जोत्ने त रु” उनले थपे “प्रधानमन्त्रीले सरकार चलाउने हो । निर्वाचन गराउने हो ।”

निर्वाचन आचारसंहिता लाग्ने कुरा र सरकारको आवश्यकता फरक फरक कुरा भएको भन्दै मन्सुरले निर्वाचनलाई निष्पक्ष बनाउनका लागि सरकारलाई समर्थन गर्ने दललाई सँगै लैजान आवश्यक रहेको स्पष्ट पारे ।

निर्वाचन आयोगको काम निर्वाचन गराउने र प्रधानमन्त्रीको काम सरकार चलाउने भएको भन्दै उनले मन्त्रीमण्डल पुर्नगठन गर्नु सामान्य भएको जिकिर गरे ।

आचारसंहितामा मन्त्रीमण्डल विस्तार गर्न नपाईने भनेर कतै नलेखिएको भन्दै मन्त्री मन्सुरले दुनियाँका सबै देशमा चुनावको मुखमा मन्त्रीमण्डल विस्तार हुने गरेको उदाहरण दिए ।

अब निर्वाचन भएर आउने नयाँ संसदले भने संविधान अनुसार बढीमा २५ जनाको मात्रै मन्त्रीमण्डल बनाउनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्