खनाल मलेसियामा सम्मानित



 

क्वालालम्पुर, (एजेन्सी)
नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख डीआईजी सर्वेन्द्र खनाल शुक्रबार मलेसियास्थित एसियन फुटबल महासंघ (एएफसी)को हाउसमा सम्मान भएका छन्।

दुई वर्षअघि महानगरीय अपराध महाशाखाको प्रमुख रहँदा फुटबल म्याच फिक्सिङको क्षेत्रमा विशेष योगदान गरेको भन्दै एएफसीले सम्मान गरेको हो। खनाललाई एएफसीका महासचिव डाटो विन्डसोर जोनले सम्मान गरेका थिए। खनालसँगै प्रहरी नायब उपरीक्षक सुदीपराज पाठकसमेत सम्मान भएका छन्।

उनीहरूले म्याच फिक्सिङमा लागेका नेपालका चार फुटबलर र एक फुटबलका प्रशिक्षकलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो। नेपाल प्रहरीको सोही प्रशंसनीय योगदानका लागि एएफसी हाउसमा नेपाल प्रहरी समानयोग्य भएको हो। म्याच फिक्सिङ सावित भएपछि एएफसीको अनुशासन तथा नैतिक कमिटीले सागर थापा, सन्दीप राई, रितेश थापा, विकास सिंह क्षत्री र अञ्जन केसीलाई दोषी ठहराउँदै सबै फुटबल गतिविधिबाट आजीवन प्रतिबन्धसमेत गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्