डा. तोशिमा कार्की
मैले जीवनभर आर्जेको पढाइ, ज्ञान अनि सीप लगाएर म तिम्रा आफन्तको उपचार गर्छु। उपचार गरिरहँदा तिम्रो आफन्तमा मैले आफ्नै आफन्त देख्छु। जति चाँडो निको होस् भन्ने तिमीलाई हुन्छ त्यति नै राम्ररी मैले हेरेको बिरामी निको होस् भन्ने चिन्ता मलाई हुन्छ। तर विज्ञानले पनि धान्न नसक्ने केही भवितव्य पर्दा तिमी मलाई तिम्रो आफन्तको हत्यारा बनाइदिन्छौ।

लौ भन अब म कसरी उपचार गरुँ ?
तड्पिरहेको तिम्रो आफन्तलाई विनाउपचार मर्दै गरेको म कसरी हेरुँ ?
छोएर अब छोइपासो बनूँ कि सीधै नहेरी रिफर गरुँ ?
‘हत्यारा’ नै हुनु थियो त बन्दुक बोक्थें, बारुद खेल्थें होला।
साथीभाइ खेलिरहँदा म किताबमा मुन्टो किन जोत्थें होला ?
यत्रो वर्ष, चाडपर्व, बिदा, दिन या रात नभनी किन पढ्थें होला ?
हत्यारा बन्नकै लागि यत्रो महनत किन गर्थें होला ?
चाहे मलाई अस्पतालको कर्मचारी भन या देशकै सेवक
मेरो पेसा–धर्म छ एक र म हुँ यसकै नैतिक सेवक।
खुशी हुन्छु म,
जब मैले हेरेको बिरामी स्वस्थ मुस्कानसहित घर फर्किन्छ,
त्यही मुस्कानको लागि उपलब्ध स्रोत–साधनमा इमानदार परिश्रम गर्छु।
तर केही रोग, केही समस्या यति जटिल हुन्छन् कि
विज्ञान पनि नतमस्तक हु्न्छ,
सयौँ कोशिशका बाबजुद पनि मृत्यु रोक्न सकिँदैन।
म त तिम्री आमामा आफ्नी आमा देख्थें,
म त तिम्रो बुबामा आफ्नै बुबा देख्थें,
भए त मसँग अमरत्व बुटी, मेरा बा–आमा शायद अमर हुन्थे।
भए त मसँग अमरत्व बुटी, म आफू नै शायद अमर हुन्थें।
तर मलाई डर लाग्छ मृत्युसँग,
हो, मलाई डर लाग्छ तिमीले ल्याउने आक्रोशित भीडसँग
सबसे बढी ,मलाई डर लाग्छ आफैंसँग।
किनकि मभित्र एक नेक मानव छ,
जो दुःखी, दरिद्री बिरामीको उपचार गर्न चाहन्छ।
त्यसैले डर लाग्छ मलाई आफैंसँग
किनकि अहिले मभित्रको डाक्टर डराइरहेको छ,
डर लाग्छ मलाई मभित्रको डाक्टरको मृत्युसँग।
आग्रह छ मेरो,
मैले बिरामी हेर्ने ठाउँ शान्तिक्षेत्र बनाइदेऊ,
अस्पतालमा हुलद·ा तोडफोड निषेध गराइदेऊ,
बरु गल्ती नै भए मेरो, छानबिन गरी सजाय सुनाइदेऊ,
तर बिन्ती उपचाररत मेरा अन्य बिरामीलाई नतर्साइदेऊ।
हो, बरु गल्ती नै भए मेरो, छानबिन गरी सजाय सुनाइदेऊ,
तर बिन्ती विनाप्रमाण मलाई ‘हत्यारा’ नबनाइदेऊ।
याद राख,
जुन दिन साँच्चै नै मभित्रको डाक्टर मर्नेछ,
शायद म कुनै बिरामी नै हेर्ने छैन।
शायद म कुनै बिरामी नै छुने छैन,
त्यस बेला तिम्रो भीडले त मलाई माफी देला ⁄
त्यस दिन म त बाँचुला, तिम्रो भीडदेखि बाचुँला,
तर उपचार भए बाँच्न सक्ने तिम्रो आफन्त
विनाउपचार मर्यो भने कसले फर्काइदेला ?
त्यस दिन म त बाँचुला, तिम्रो भीडदेखि बाचुँला,
तर आफ्नो पेसा धर्मबाट हात धोएर
मभित्र मरिसकेको डाक्टर कसले ब्युँताइदेला ?
अनि,
अनि जुन दिन मजस्ता ‘म’हरुभित्रका डाक्टरहरु एकाएक मर्नेछन्,
हे देश, मलाई डर लाग्छ यहाँ कति बिरामी विनाउपचार मर्नेछन्…।

LEAVE A REPLY