सीमावर्ती बजारमा चोरको बिगबिगी



 

नेपाल समाचारपत्र
भद्रपुर
झापाको सीमावर्ती बजार क्षेत्रमा चोरी घटनामा संलग्न गिरोह अझै सक्रिय रहेको पाइएको छ। झापाको भद्रपुर र भारतको गलगलिया आसपास बस्ने गिरोहमा आवद्ध केही युवा अझै फरार रहेको प्रहरी अनुसन्धानले देखाएको छ।

चोरी घटनामा संलग्न २ जना भारतीय युवकलाई चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरिसकेको छ। भारतको किसनगन्ज जिल्लास्थित भातगाँउग्राम पञ्चायत (गलगलिया) निवासी २२ वर्षीय मोहम्मद सद्दाम र २३ वर्षीय सञ्जित सहनी पक्राउ परेका हुन्। असोज १९ गते भद्रपुर–६ भानुनगरस्थित कमला उपाध्यायको घरबाट सुन, चाँदी र नगद चोरी गरी भाग्दै गरेको अवस्थामा वडा प्रहरीले पक्राउ गरेको हो। २ जना चोर प्रहरीको फन्दामा परेपछि उनीहरूले गिरोहमा आवद्ध केही युवाको नाम बयानमा दिएका छन्।

प्रहरीले उनीहरूको बयानका आधारमा चोरी घटनामा संलग्न भद्रपुरका १ युवकलाई पनि पक्राउ गरेको छ। भद्रपुर–३ स्थित आँपगाछी बस्ने २२ वर्षीय पूर्ण विश्वकर्मा भन्ने कान्छालाई पक्राउ गरेको हो। २ जना साथी पक्राउ परेपछि गलगलियामा गएर लुकेर बसेका विश्वकर्मालाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ। पक्राउ परेका विश्वकर्मालाई गलगलिया प्रहरी थानाबाट लिएर आएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ। प्रहरीले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ। उनीहरूको गिरोहमा अरू पनि केही युवक संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरी कार्यालय झापाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

उनीहरूमाथि सोधपुछ जारी छ, प्रहरीलाई दिएको नामका आधारमा युवकको खोजी कार्य भइरहेको डीएसपी बस्नेतले बताए। भारतमा रहेका युवकलाई पक्राउ गर्न भारतीय प्रहरीसँग पनि सहकार्य भइरहेको छ। सीमावर्ती क्षेत्रमा हुने गरेको शृंखलावद्ध चोरीका सरसामान उनीहरूले भारतको ठाकुरगन्जमा लगेर बेच्ने गरेको अनुसन्धानबाट खुलिसकेको उनले बताए। पक्राउ परेका तीनै जनालाई चोरीसम्बन्धी मुद्दा दर्ता भइसकेको छ। महिना दिनअघि भद्रपुर–६ नेपाल बैंकअगाडि वृजकिशोर गुप्ताको घरबाट साढे ३ लाखभन्दा बढीको धनमाल चोरी भएको थियो। गुप्ताको घरबाट ६ तोला सुन, २ किलोचाँदीका गरगहना, एउटा एलईडीटिभी र नगद ५ हजार चोरी भएको थियो।

त्यस्तै सोही दिन राती भानुनगरमा एकै पटक चार वटा घरमा चोरी भएको थियो। त्यसैगरी केही दिन अघि भद्रपुरमा दिउँसै एउटा मोटरसाइकल बिच बजारबाटै चोरी भएको थियो। भद्रपुर ५ निवासी पुण्यप्रसाद रिजालको मे ५ प ३२६३ नम्बरको होण्डा कम्पनीको कालो रंग साइन मोटरसाइकल चोरी भएको थियो।

प्रतिक्रिया दिनुहोस्