प्रहरी दिवस सम्पन्न, यस वर्षको लाइफ टाइम अचिभमेन्ट अवार्ड रानालाई



 

नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा ६२औं प्रहरी दिवस शुक्रबार सम्पन्न भएको छ। प्रधानमन्त्री देउवाले यस वर्ष अमरत्व प्राप्त गर्नुभएका प्रहरी जवान तथा अधिकृतका परिवारलाई कदरपत्र प्रदान गर्नुभएको थियो।

सो अवसरमा प्रधानमन्त्री देउवाले ‘प्रहरी दर्पण २०७४’ को लोकार्पण गर्नुका साथै पूर्वप्रहरी महानिरीक्षक कुबेरसिंह रानालाई लाइफ टाइम अचिभमेन्ट अवार्डसमेत प्रदान गर्नुभयो।

प्रधानमन्त्री देउवाले इतिहासका विभिन्न कालखण्डमा अनेकन चुनौतिहरू सामना गर्दै नागरिकहरूलाई सुरक्षाको अनुभूति दिलाउन संगठनका कर्मठ सदस्यहरूले निर्वाह गरेको भूमिका उल्लेखनीय रहेको र इतिहासका पानाहरू हरेक नागरिकको हृदयमा कहिल्यै नमेटिने गरी अंकित भएको बताउनुभयो।

प्रधानमन्त्री देउवाले संयुक्त राष्ट्र संघको अनुरोधमा विदेश स्थित विभिन्न मुलुकहरूमा शान्ति स्थापनार्थ सञ्चालित मिसनहरूमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल प्रहरीले अन्तर्राष्ट्रिय स्तरमा समेत राष्ट्रको पहिचानलाई स्थापित गर्न सशक्त भूमिका निर्वाह गरेको बताउनुभयो।

प्रधानमन्त्री देउवाले दुई दशकपछि भएको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न नेपाल प्रहरीले पुर्याएको योग्दान महत्त्वपूर्ण रहेको बताउँदै प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन पनि शान्तपूर्ण रूपमा सम्पन्न गर्न नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गर्नुभयो।

गृहमन्त्री जर्नादन शर्माले ६२औं प्रहरी दिवस २०७४ को शुभअवसरमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षकलगायत सकल प्रहरी कर्मचारीहरू तथा सेवा निवृत्त हुनुभएका पूर्वप्रहरी कर्मचारीहरूलाई बधाई तथा शुभकामना दिनहुँदै आजको यस विशेष दिनमा देश र जनताको सेवामा आफ्नो जीवन न्यौछावर गर्नुहुने सम्पूर्ण अमर प्रहरीहरूप्रति विशेष सम्मानभाव एवं कर्तव्यपालनाका दौरानमा घाइते हुनुभएका सम्पूर्ण प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। गृहप्रशासन सुधार मार्गचित्र २०७४ अनुसारका कार्यहरू गर्न र नेपाल प्रहरी संगठनको सुदृढीकरणका लागि राज्यको क्षमताले भ्याएसम्म नेपाल प्रहरीलाई साधनश्रोत सम्पन्न बनाउन आफूप्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयो।

उक्त अवसरमा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित पूर्वप्रहरी महानिरीक्षक कुबेरसिंह रानाले आफू सम्मानित भएकोमा हर्षविभोर प्रकट गर्दै सम्मान व्यक्तिगत र व्यवसायिक जीवनको एउटा अत्यन्त अमूल्य निधिका रूपमा लिएको बताउनुभयो।

कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले धन्यवाद ज्ञापन गर्नुहुँदै प्रहरी दिवस नेपाल प्रहरी संगठनले कानुनी हैंसियत ग्रहण गरेको दिनको सम्झनामा प्रत्येक वर्ष आयोजना गरिने समारोहमा नेपाल प्रहरीका तर्फबाट बिगत र यस वर्षमा व्यवसायिकताको बलिवेदीमा प्राण आहुती गर्ने अमर तथा वीर प्रहरी कर्मचारीहरूप्रति श्रद्धासुमन अर्पण गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्