मन्त्रीलाई कालोमोसोको डर



 

ईश्वरराज ढकाल, काठमाडौं
उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठको कार्यकक्षमा शुक्रबार दिउँसो पुगेका ९ विद्यार्थी संगठनका नेताले विभिन्न नाराबाजी गर्दै बहिष्कारको धम्कीसमेत दिए।

दिउँसो १२ बजे शिक्षा मन्त्रालय पुगेका नेविसंघबाहेक ९ विद्यार्थी संगठनलाई शिक्षा मन्त्री श्रेष्ठले भेट्न समय नदिएपछि उनीहरूले मन्त्रीको सचिवालयमै नाराबाजी गरेका थिए। अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, वैद्य निकट अखिल क्रान्तिकारी, विप्लव निकट अनेरास्ववियु, अनेरास्ववियु छैठौं, नयाँ शक्ति विद्यार्थी युनियनलगायत विद्यार्थी संगठनले मन्त्रीको सचिवालयमा केही बेर नाराबाजी गरेका थिए।

नाराबाजी गरेर मन्त्रालयको काममा बाधा पुर्याएपछि प्रहरी परिचालन गरेर मन्त्रालयबाट ती विद्यार्थी नेताहरूलाई हटाइएको थियो। प्रहरी हस्तक्षेपविरुद्धसमेत विद्यार्थीले नाराबाजी गरेका थिए। सचिवालयमा नाराबाजी गरेपछि कर्मचारी र विद्यार्थी नेताबीच हात हालाहाल भएको थियो। प्रहरीले सचिवालयबाट निकालेपछि विद्यार्थीले मन्त्रालयको मूल गेटमा कोणसभा गरेका थिए।

विप्लव निकट अनेरास्ववियुका अध्यक्ष पूर्णबहादुर सिंहले मन्त्रीलाई करिब एक घण्टा बन्दी बनाएर नाराबाजी गरेको बताउनुभयो। उहाँले मन्त्री र मन्त्रालयका कर्मचारीले अभद्र व्यवहार गरेपछि नाराबाजी गरेको जानकारी दिनुभयो।

नौ विद्यार्थी संगठनले हिजो शुक्रबारबाट मन्त्री बहिष्कारको घोषणा गरेका थिए। मन्त्रीलाई ज्ञापनपत्र बुझाउन जाँदा समय नदिएको कारण बाध्य भएर मन्त्रीविरुद्ध नाराबाजी गरेको जानकारी गराउँदै अनेरास्ववियुका सचिव आरसी लामिछानेले मन्त्रीविरुद्धको कार्यक्रम जारी रहने बताउनुभयो। मन्त्री भेट्न गएका विद्यार्थीले कालोमोसो दल्न सक्ने सूचना पाएपछि सचिवालयका कर्मचारीले मन्त्रीलाई भेट नदिएको एक कर्मचारीले बताए। ‘कालोमोसो दल्ने नियत लिएर आएका कारण भेट गर्न नदिएको हो।’ –ती कर्मचारीले दाबी गरे।

मन्त्रीको सचिवालयका अधिकृत नेत्रनारायण पौडेलले मन्त्रीसँग समय नलिई आएको कारण भेट नदिएको बताउनुभयो। ‘हामीले भेट गर्न दिएनौं। विद्यार्थीले सचिवालयभित्रै नाराबाजी गरे।’ –उनले भने।

विद्यार्थी संगठनले सचिवालयभित्रै नाराबाजी गरिरहँदा मन्त्री श्रेष्ठले आफ्नै कार्यकक्षमा चिकित्सा शिक्षा विधेयकको विषयमा सांसदहरूसँग छलफल गरिरहनुभएको थियो।

शिक्षा विधेयकको नवौं संशोधन फिर्ता गर्नुपर्ने, सीटीईभीटीले १३ वटा कलेजलाई दिएको सम्बन्धन खारेज गर्नुपर्ने, मेडिकल शिक्षामा गरिएको शुल्क वृद्धि फिर्ता गर्नुपर्ने लगायत ५ सुत्रीय माग राख्दै मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र दिन विद्यार्थी नेता मन्त्रालय पुगेका थिए। अनेरास्ववियुकी अध्यक्ष नविना लामा, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, विप्लव निकट अनेरास्ववियुका अध्यक्ष पूर्णबहादुर सिंह, नया शक्ति निकट विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतम, अनेरास्ववियु छैठौंका अध्यक्ष विमल पोखरेललगायत करिब तीन दर्जन विद्यार्थी नेता मन्त्रालय पुगेका थिए।

विद्यार्थीले नाराबाजी गर्नु सामान्य होः शिक्षामन्त्री
उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले राजनिति गर्ने विद्यार्थीले नाराबाजी गर्नु सामान्य भएको बताउनुभएको छ। विद्यार्थीले आफ्नै सचिवालयभित्र नाराबाजी गरेको विषयलाई सामान्य रूपमा लिँदै उहाले भन्नुभयो– ‘उनीहरूले जहाँ पनि नाराबाजी गर्न सक्छन्। समय लिएर आएको भए भेट्थें, भेट गर्न आएको मलाई जानकारी नै छैन।’

शिक्षा ऐनको नवौं विधेयक पारित गर्नुमा आफ्नो कुनै गल्ती नभएको बताउँदै उहाँले भन्नुभयो– ‘संसदले गरेको हो, मेरो कुनै गल्ती छैन। सीटीईभीटीका कलेजलाई सम्बन्धन दिएको विषयमा उहाँले प्राविधिक शिक्षामा आइस ब्रेक भएको बताउनुभयो। ‘१५ वर्षदेखि जाम भएको सम्बन्धनलाई मैले सबै विधि र प्रक्रिया पुर्याएको छु। यो विषय विद्यार्थी संगठनका नेताले बुझ्नुपर्ने थियो।’ उहाँले वार्षिक करोडौं रुपियाँ तिरेर बाहिर पढ्न जाने विद्यार्थीले अब नेपालमै पढ्न पाउने भएर ठूलो राहत मिलेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘मैले सम्बन्धन दिँदा कुनै गल्ती गरेका छैन, सबै कलेजको अनुगमन गरिएको छ, सबैको रिपोर्ट लिएर मात्रै स्वीकृित दिएका छौं।’

प्रतिक्रिया दिनुहोस्