डा. सुमनराज ताम्राकार
स्त्रीरोग विशेषज्ञ

विभिन्न खालका स्त्रीजन्य स्वास्थ्य समस्या लिएर अस्पताल आउनेमध्ये कलेज पढ्दै गरेका किशोरीहरु पनि पर्दछन् । अस्पताल आउने ती किशोरीहरुमा जस्तै नलिनाको समस्या पनि पृथक् छैन । नलिनालाई पनि प्रत्येकजसो महिनावारीका क्रममा तल्लो पेटमा अत्यधिक पीडा हुने, वाकवाकी लाग्ने, खान मन नलाग्ने त नियति नै भैसक्यो । यो समस्याले गर्दा उनी यति वाक्कदिक्क भैसकेकी छिन् कि बरु महिनावारी नै नभइदिएको भए कति आनन्द भनेर सोच्न थालेकी छिन् । के गर्नु प्रकृतिको नियम हो, महिनावारी त भएरै छाड्छ । नलिनाको व्यक्तिगत इच्छाले मात्र कहाँ हुन्छ र ?

हो, किशोरी उमेरमा आइपर्ने स्त्रीजन्य समस्याको रेटिङ गर्ने हो भने तल्लो पेट दुख्ने समस्या एक नम्बरमा पर्न आउँछ । महिनावारीको बेला तल्लो पेट दुख्ने समस्यालाई मेडिकल भाषामा डिस्मेनोरिया भनिन्छ । तर यसले व्यावहारिक रुपमा किशोरी वा महिलाको दैनिक क्रियाकलापमा असर पुग्ने गरी हुने पीडादायी महिनावारीलाई बुझाउँछ । कुनै कारणविनाको (प्राथमिक) र कारक तत्वसहितको (सेकेन्डरी) गरी दुई प्रकारको हुने डिस्मेनोरिया (पीडादायी महिनावारी) समस्याका कारण कतिपय किशोरी वा महिलाले प्रत्येक महिना अनाहकमा शारीरिक तथा मानसिक तनाव व्यहोर्न कर लाग्दछ ।

पहिलो प्रकारको पेट दुखाइ (डिस्मेनोरिया)
प्राथमिक प्रकारको डिस्मेनोरियामा सानो पेट दुख्न शुरु हुनाको कारण ठ्याक्कै थाहा हुँदैन । प्रायः यो किशोरी अवस्थामा हुने र डिम्ब निस्कने खालको महिनावारीसँग सम्बन्धित हुन्छ । गर्भावस्थामा तथा योनिद्वारबाट सुत्केरी भएपछि निराकरण हुने यस्ता खाले डिस्मेनोरिया अनियमित प्रकारको पाठेघरको खुम्च्याइ तथा पाठेघरमा अक्सिजन अभाव हुनाले हुने गरेको विश्वास गरिएको छ ।

यस प्रकारको डिस्मेनोरियामा स्त्री जनेन्द्रियमा स्पष्टरुपमा कुनै समस्या देखिँदैन । करिब ५ देखि १० प्रतिशत किशोरी वा महिलाहरुमा यस्ता खाले डिस्मेनोरिया हुन्छ । पिल्स चक्की तथा ब्रुफेन, एस्पिसिन जस्ता कतिपय पीडा कम गर्ने औषधिको प्रादुर्भावपछि यस्ता खाले डिस्मेनोरियामा उल्लेखनीय कमी आएको छ ।

महिनावारीको बेला तल्लो पेट दुख्ने समस्या कम गर्न घरेलु उपायहरु अपनाउन सकिन्छ । तल्लो पेटको कडा मांसपेशी नरम बनाउन हलुका तरिकाले मालिस गर्न सकिन्छ । तल्लो पेट वा ढाडमा सेक्न तातोपानीलाई रबरको थैली वा शिशाको बोतलमा राखेर वा बाक्लो कपडा तातोपानीमा भिजाएर प्रयोग गर्न सकिन्छ ।

किशोरी अवस्थामा हुने मानसिक तनाव, चिन्ता एवं पीडा खप्न सक्ने क्षमतामा कमीका साथै पाठेघरको मुख साँगुरिने, जन्मजातरुपमा पाठेघरमा हुने खराबी, महिनावारीको बेलामा अत्यधिक मात्रामा भ्यासोप्रेसिन (पाठेघर खुम्चाइलाई बढाउने रासायनिक पदार्थ) तथा प्रोस्टाग्लान्डिन (पाठेघरको मध्यम तहमा रक्तसञ्चार घटाउने रासायनिक पदार्थ) को उत्पादनले गर्दा प्राथमिक प्रकारको डिस्मेनोरिया हुन्छ । महिनावारी शुरु भएको २ वर्षसम्म यस्ता खाले डिस्मेनोरिया हुन सक्छ । प्रभावित किशोरीकी आमा तथा दिदीलाई पनि यस्तै समस्या भएको हुन सक्छ । सम्भ्रान्त परिवारकी महिलामा बढ्ता देखिन्छ ।

प्राथमिक प्रकारको डिस्मेनोरिया महिनावारी शुरु हुनु केही घण्टाअगाडिदेखि वा महिनावारीको शुरुवातसँगै सानो पेट दुख्ने कार्य शुरु भई २४ घण्टासम्म रहन सक्छ । तल्लो पेटमा केन्द्रित हुने यस्तो पीडा ढाडतिर वा भित्री तिघ्रातिर सर्न सक्छ । पीडासँगै वाकवाकी लाग्ने, उल्टी हुने, थकान महसुस हुने, टाउको दुख्ने हुन सक्छ । तर पेट वा जननेन्द्रियको आन्तरिक जाँचमा त्यस्तो कुनै खराबी भने भेटिँदैन ।

प्राथमिक प्रकारको उपचारको लागि किशोरीको स्वास्थ्य स्थिति सुधार्न पोषिलो खानेकुरामा ध्यान दिनुका साथै पीडा हुनुको कारण प्रस्ट्याउने, ढाडस दिने लगायत मानसिक टेवा दिनुपर्दछ । यस्तो बेला खेलकुद, टेलिभिजन, योगलगायतका आफ्ना रुचिका कार्यमा संलग्न हुनुपर्दछ । नियमितरुपमा दिसा गरी तल्लो आन्द्रा खालि राख्नुपर्दछ । मेफेनेमिक एसिड, ब्रुफेन, नेप्रोक्सिनलगायत पीडा कम हुने औषधिहरु महिनावारी भएको केही दिनसम्म प्रयोग गर्न सकिन्छ ।

अविवाहितबाहेक परिवार नियोजन चाहने, बढ्ता रक्त बहाव हुने तथा पीडा कम हुने औषधिबाट पनि उल्लेखनीय सुधार नभएमा पिल्स चक्की चलाउन सकिन्छ । तर कसै–कसैलाई पाठेघरको मुख फुकाउने तथा स्नायु प्रणाली शिथिल बनाउने सामान्य शल्यक्रियाको जरुरत पर्न सक्छ ।

के हो मिट्टलसमर्ज सिन्ड्रोम ?

डिस्मेनोरियाजस्तै तर महिनावारीको मध्यताका देखा पर्ने यो समस्या डिम्ब निष्कासनका कारण हुन्छ । यस्तो पीडा पनि प्रायजसो युवतीहरुलाई हुन्छ । नाइटोमुनि वा तल्लो पेटको दायाँ वा बायाँतिर हुने यो पीडा १२ घण्टाभन्दा लामो समयसम्म रहँदैन । मिट्टलसमर्ज सिन्ड्रोमसँगै योनिबाट हल्का रक्तश्राव र अत्यधिक योनिश्राव हुन सक्छ । यसो हुनाको कारण भने प्रस्ट छैन ।

डिम्बभित्र अत्यधिक चाप बढ्नाले पेटका भित्रीे झिल्लीमा चिडचिडाहट एवं डिम्बबाहिनी नली तथा पाठेघरको खुम्च्याइको कारणले यस्तो पीडा भएको विश्वास गरिन्छ । ढाडस तथा पीडा घटाउने सामान्य औषधिबाट यो पीडा कम गर्न सकिन्छ ।

सेकेन्डरी प्रकारको डिस्मेनोरिया
स्त्री जननेन्द्रियमा उत्पन्न भएको कारण विशेषले हुने यस प्रकारको डिस्मेनोरियामा महिनावारीअगाडि स्त्री जननेन्द्रिय (पुठ्ठाभित्रको प्रजनन अङ्ग) हरुमा रक्तसञ्चार बढ्नाले यी अंगहरुमा तनाव बढ्छ र पीडा महसुस हुन्छ । दीर्घ प्रकारको स्त्री जननेन्द्रियसम्बन्धी संक्रमण, सानो पेटवरिपरि रगत जम्ने समस्या (इन्डोमेट्रिओसिस), उमेर पुगेका महिलामा पाठेघर समग्रमा बढ्ने स्थिति (एडेनोमायोसिस), पाठेघरमा मासु पलाउने समस्या (फाइब्रोइड), पाठेघरको भित्री तहबाट मासु झोलिने समस्या (पोलिप) तथा पाठेघरमा राखेको कपर–टीका कारण यस्तो खाले डिस्मेनोरिया हुन्छ ।

यस्तो प्रकारको डिस्मेनोरिया भएका महिलाको उमेर करिब ३० वर्ष नाघेकी एवं बच्चा पाइसकेकी हुन्छ । यस्तो खालको पीडा तल्लो पेट र ढाडमा हुन्छ । प्रायः महिनावारी शुरु हुनु ३ देखि ५ दिनअगाडि पेट दुख्न शुरु भई महिनावारीमा रगतको बहावसँगै पीडा कम हुन्छ । पीडाको शुरुवात तथा अवधि पीडाको कारक तत्वमा भर पर्दछ ।

वाकवाकी लाग्ने, टाउको दुख्नेजस्ता अन्य लक्षण चिन्ह हुँदैन । तर पीडादायी महिनावारी हुनाको अन्तरनिहित कारण जस्तै कि इन्डोमेट्रिओसिस, एडेनोमायोसिस, फाइब्रोइड तथा पोलिप आदिका छुट्टै लक्षण चिन्हहरु भने देखा पर्दछ । पेट तथा जननेन्द्रियको आन्तरिक परीक्षण एवं अल्ट्रासाउन्ड, ल्याप्रोस्कोपी लगायतका विशेष खाले परीक्षणहरुबाट कारक तत्व निक्र्यौल गर्न सकिन्छ ।

सेकेन्डरी प्रकारको डिस्मेनोरियाको निराकरणका लागि कारक तत्वलाई लक्षित गरी उपचार गनुपर्दछ । अधिकांश समस्यालाई शल्यक्रियाको जरुरत परे पनि समस्याको गम्भीरता, प्रताडित व्यक्तिको उमेर तथा बच्चा पाउने चाहनाअनुसार उपचारको छनौटमा भिन्नता आउँछ । शल्यक्रिया नगरुन्जेल वा शल्यक्रिया गर्ने उपयुक्त समय पर्खुन्जेल औषधि सेवनबाट पनि यस्तो खाले डिस्मेनोरियालाई नियन्त्रणमा राख्न सकिन्छ ।

डिस्मेनोरियाको घरेलु उपचार
महिनावारीको बेला तल्लो पेट दुख्ने समस्या कम गर्न घरेलु उपायहरु अपनाउन सकिन्छ । तल्लो पेटको कडा मांसपेशी नरम बनाउन हलुका तरिकाले मालिस गर्न सकिन्छ । तल्लो पेट वा ढाडमा सेक्न तातोपानीलाई रबरको थैली वा शिशाको बोतलमा राखेर वा बाक्लो कपडा तातोपानीमा भिजाएर प्रयोग गर्न सकिन्छ ।

अदुवा–पानी तताएर पिए आराम मिल्छ । आफ्नो दैनिक क्रियाकलाप जारी राख्नाले एवं व्यायाम र घुमफिर गर्नाले ध्यान अन्यत्र मोडिने हुँदा फाइदै पुग्दछ । यतिले पनि आराम नपुगे नजिकको स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श गर्नुपर्दछ ।

LEAVE A REPLY