आरुषी हत्याकाण्डमा थुनिएका मातापितालाई सफाइ



 

नयाँदिल्ली, (एजेन्सी)
आफ्ना छोरी आरुषी तलवारको हत्या गरेको आरोप लागेका भारतीय दम्पती र तिनीहरुका नेपाली कामदार हेमराज बन्जादलाई अदालतले सफाइ दिएको सरकारी सूत्रले बिहीबार जनाएको छ । पेशाले दन्त चिकित्सक राजेश र उनकी पत्नी नुपुर तलवारलाई हत्याकाण्डको प्रमाण नष्ट गरेको र अनुसन्धानकर्ताहरुलाई गुमराहमा राख्न खोजेको अभियोगमा सन् २०१३ मा आजीवन कारावास सुनाइएको थियो ।

सन् २००८ को मे महिनामा तिनीहरुको घरमा १४ वर्षीया आरुषीको शव फेला परेको थियो । उक्त घटनाको भोलिपल्ट तलवारको घरको छानामा हेमराजको रगताम्य शव भेटिएपछि शुरूमा हत्याको आशंका उनीमाथि नै केन्द्रित भएको थियो। टेलिभिजनहरुबाट एकएक घटनाको समाचार प्रशारण गरिएको उक्त हत्याकाण्डले भारतमा तहल्का नै मच्चाएको थियो ।

तलबार दम्पतीले आफूलाई सुनाइएको सँजाय विरुद्ध अपिल गरेका थिए । बिहीबार अल्लाहवादस्थित उच्च अदालतले हाल उत्तर प्रदेश राज्यको दास्ना कारागारमा थुनिएका तलवार दम्पतीलाई तत्काल रिहा गर्न आदेश दिएको तिनीहरुका वकिल दिलिप कुमारले बीबीसीलाई जानकारी गराएका छन् ।

सो अदालतका न्यायाधीशहरुले ती दम्पती विरुद्धको प्रमाण परिस्थितिजन्य मात्र भएको र यस हत्याकाण्डको अनुसन्धान गर्ने संघीय केन्दीय अनुसन्धान ब्युरो ( सीबीआई ) ले तिनीहरुले छोरीलाई मारेको शंका प्रमाणित गर्ने ठोस कारण पेश गर्न नसकेको बताएको सञ्चार माध्यमले जनाएको छ ।

अब सीबीआईले अदालतको यस आदेश विरुद्ध अपिल गर्छ कि गर्दैन भन्ने स्पष्ट भइसकेको छैन । दिल्लीको उपनगर नेंइदास्थित घरमा आफ्ना मातापिताको कोठासँग जोडिएको आफ्नै शयनकक्षमा आरुषीको घाँटी सेरिएको र टाउकोमा चोट लागेको अवस्थामा शव फेला परेको थियो ।
उनका मातापिताले अर्को कोठामा हत्या भएको समय आफूहरु सुतिरहेको बयान दिएका थिए । तर सरकारी वकिलहरुले तलवार दम्पतीले हेमराजसँग कोठामा आपत्तिजनक अवस्थामा भेटिएपछि आक्रोशमा छोरीको हत्या गरेको आरोप लगाएका थिए ।

साथै तिनीहरुले आरुषीको घाँटी एक कुशल चिकित्सकीय ज्ञान भएका व्यक्तिले काटे जस्तै काटिएको भनी शंका राजेश तलवारप्रति इंगित गरेका थिए । आरुषी र हेमराज दुवैमाथि गल्फ क्लबले प्रहार गरिएको पाइएको थियो ।

शुरुमा तलवार दम्पतीले उक्त गल्फ क्लब पनि लुकाएको आरोप वकिलहरुले लगाएका थिए । यसै गरी वकिलहरुले घटनास्थलको सरसफाइ गरी अनुसन्धानकर्ताहरुलाई गुमराहमा राख्ने प्रयास गरिएको पनि बताएका थिए ।

घटनामाथि अनुसन्धान भएको शुरूका दिनहरुमा आरुषीलाई आचरणहीन युवतीका रूपमा प्रस्तुत गरिनुका साथै उनले केटाहरुसँग च्याट गर्ने र उनी साथीहरुको घरमा गएर सुत्ने गरेको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्