स्थानीय तहलाई स्वास्थ्य संस्था हस्तान्तरण प्रक्रिया शुरू



 

बैतडी, (नेस) जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जिल्लाका स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गर्ने प्रक्रिया शुरू गरेको छ। संघीय कार्यान्वयन एकाइको निर्देशनअनुसार कार्यालयले जिल्लाका स्थानीय तहमा रहेका स्वास्थ्यचौकी, प्राथामिक स्वास्थ्य केन्द्र, शहरी स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य एकाइ र बर्थिङ सेन्टर स्थानीय तहलाई हस्तान्तरण गर्ने भएको हो।

सबै स्वास्थ्य संस्थालाई पत्राचार गर्दै जिल्ला स्वास्थ्य कार्यालयले सम्बन्धित स्वास्थ्य संस्थालाई आ–आफ्ना स्वामित्वमा रहेका जग्गाजमिन, औषधि उपकरणलगायत चल–अचल सम्पत्ति विवरण पेस गर्न निर्देशन दिएको छ। यस्तै स्थायी, अस्थायी र करारमा रहेका सबै कर्मचारीको विवरण पनि पेस गर्न भनिएको छ। जिल्ला स्वास्थ्य कार्यालय मातहतमा सञ्चालित स्वास्थ्य संस्था अब गाउँपालिका र नगरपालिका मातहत रहनेछन्।

अहिले विवरण संकलन गर्ने काम भइरहेको र संघ र प्रदेशको चुनावपछि हस्तान्तरणका लागि बाँकी प्रक्रिया अगाडि बढ्ने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले बताउनुभयो। ‘अहिले डाटा संकलन गर्न निर्देशन आएको हो’, डा. अवस्थीले भन्नुभयो– ‘चुनावपछि बाँकी प्रक्रिया अघि बढ्छ।’

जिल्ला अस्पताल कुन तहको मातहतमा रहने भन्नेबारे अझै टुंगो नलागे पनि स्थानीय तहमा रहेको सबै स्वास्थ्य संस्था भने सम्बन्धित स्थानीय तहकै मातहत रहनेछन्। ५ सय ९१ स्वास्थ्य संस्था हस्तान्तरण गरिने जिल्ला अस्पतालबाहेक बैतडीका ५ सय ९१ स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरिने भएका छन्। बैतडीमा अहिले सदरमुकाममा जिल्ला अस्पताल, पाटन नगरपालिका र मेलौली नगरपालिकामा एक–एक प्राथामिक स्वास्थ्य केन्द्र रहेका छन्। यस्तै विभिन्न क्षेत्रमा गरी ६५ स्वास्थ्यचौकी छन्। जिल्लाका ५ स्थानमा समामुदायिक स्वास्थ्य एकाइ रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

यस्तै नगर स्वास्थ्य केन्द्र ६ वटा छन् भने, स्वास्थ्यचौकीबाहेक गरेर ५९ वटा छुट्टै बर्थिङ सेन्टर छन्। यस्तै २ सय २२ वटा गाँउघर क्लिनिक र २ सय ३२ वटा खोप क्लिनिक रहेका छन्। ८३१ स्वास्थ्य स्वयंसेविका पनि स्थानीय तहकै मातहतमा रहेर काम गर्नेछन्। बैतडीमा ३ सय बढी अन्य स्वास्थ्य कर्मचारी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्