चिउरीबाट गाउँमै सावुन !



सलिम अन्सारी, प्यूठान ।
मरन्ठाना स्थित झिमरुक हर्वल सावुन उद्योगले उत्पादन गरेको सावुन जापान निर्यात भइरहेको छ। घरेलु र स्थानीय श्रोतसाधनको प्रयोग गरि बनाइने यो सावुन पछिल्लो केहि बर्ष यता जापान निर्यात हुन थालेको हो। यहाँ उत्पादित सावुन ललितपुरको महागुठी मार्फत जापान पुर्याउने गरिएको छ ।
गाउँमै पाइने प्राकृतिक जडिवुटिबाट सावुन उत्पादन गरिएकाले गाउँ देखि जापान सम्म यस्ले बजार पाएको उद्योग सँचालिका दुर्गा केसीले बताइन। मरन्ठानाको गरिगाउँमा रहेको उद्योगले गाउँमै पाइने निम, घयूकुमारी,च्यूरीको घिउ र तेल प्रयोग गरि सावुन बनाउने गरेको केसीको भनाइ छ। त्यसमा लाग्ने केस्टर तेल,जैबिक सुगन्धित कास्टिग सोडा जस्ता केहि आवाश्यक कच्चा पदार्थ भने जिल्ला बाहिरवाट ल्याउने गरिएको छ। मानव स्वास्थयका लागि उपयोगी मानिने प्राकृतिक जडिवुटिबाट बन्ने उक्त सावुनको स्थानीय बजारमा समेत प्रयोग बढेको छ। यस्ले छालाको चाउरी,खस्रोपन,दाग,चाया हराउने र कपाल चम्किलो पार्नुका साथै नरम बनाउने भएकाले जापानमा माग बढेको उनले बताइन। यो सावुन वारे थाहा पाएर देश तथा बिदेशबाट अवलोकनका लागि उद्योगमा आउने गरेका छन। जापानिजहरु तीनचार पटकसम्म आफनो उद्योगमा आएको उनले बताइन ।
कक्षा आठ सम्म पढेकी केसीले २०५९ सालमा ४० हजारको लगानीमा सावुन उद्योग खोलेकी थिइन। सुरुमा लघुउद्यमको परामर्समा तालिम लिएर उद्योग खोलेकी उनले जापानमा सावुन पुगेपछि उनिहरुकै सल्लाहमा अझै गुणस्तरिय उत्पादन गरिरहेको बताइन। उनले जिल्लामा आयातित सावुनसँग प्रतिस्पर्धा गर्न नसकिने हो कि भन्दै सुरुमा ऋण खोज्दा कसैले नपत्ताएको अनुभव सुनाइन। उद्योग फस्टाउँदै गएपछि मेरो सिको गर्ने धेरै भए उनले भनिन। महिनामा लगभग ५ सय दर्जन सावुन जापान निर्यात भइरहेको छ। उनले सावुनबाट मासिक सरदर ३० हजार रुर्पैयाँ कमाउँदै आएकी छिन। उनको उद्योगमा अहिले तीन जना महिलाले रोजगारी पाएका छन। सावुन जापान निर्यात हुन थालेपछि घरेलु उद्यमी केसीको दिनचर्या र जीवनशैली समेत फेरिएको छ। उद्यमी केसीले सावुन बाटै कमाएको पैसाले घर गृहस्थी चलाउन बाहेक तीन छोरीहरुलाइ उच्च शिक्षा पढाएकी छिन। डेढ दशकअघि स्थापित यो उद्योग घरेलु उद्योगको क्षेत्रमा नेपालकै नमुना उद्योग मध्ययेको एक हो।

प्रतिक्रिया दिनुहोस्