‘युद्ध हार्ने स्थितिमा उत्तर कोरियाले आणविक हमला गर्ने’



 

प्योङयाङ, (एजेन्सी)
उत्तर कोरियाका नेता किम जोङ उनले राजधानी प्योङयाङमा आयोजित सत्तारूढ वकर्स पार्टीको केन्द्री समितिको बैठकमा राष्ट्रले सैन्य आधुनिकीकरण गर्ने क्रममा विकास गरिने क्षेप्यास्त्रको पहुँच संयुक्त अधिराज्यसम्म पनि हुने बताएको रसियाको इन्टरफ्याक्स समाचार निकायले जनाएको छ।

उत्तर कोरियाली वरिष्ठ सरकारी अधिकारीहरूले रुसी विधायक एन्तोन मोरोजोभलाई हाल आफूहरूसँग ३ हजार किमि दूरीसम्म मार हान्न सक्ने क्षेप्यास्त्र रहेको बताएका छन्।

गत २ देखि ६ अक्टोबरसम्म उत्तर कोरियाको औपचारिक भ्रमण गरेका मोरोजोभका अनुसार हातहतियार आधुनिकीकरण कार्यक्रमअन्तर्गत प्योङयाङको ९ हजार किमि दूरी क्षमताको क्षेप्यास्त्र बनाउने लक्ष्य रहेको छ।

बेलायतको राजधानी लन्डन प्योङयाङदेखि ८ हजार ६ सय ५७ किमि टाढा रहेको छ। तर रसियाको तल्लो प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय मामिला समितिका सदस्य मोरोजोभले ती हतियार विकासको समय सीमाबारे भने उत्तर कोरियाले केही जानकारी नदिएको पनि बताएका छन्।

यसैबीच सरकारी प्रोपोगान्डा संयन्त्रका रूपमा पनि चिनिने कोरियाली केन्द्रीय समाचार निकाय (केसीएनए)द्वारा जारी गरेको एक विज्ञप्तिमा एकजना अमेरिकी गुप्तचरलाई पैसा दिएर किम जोङ उनलाई जैविक वा रसायनिक हतियार प्रयोग गरी हत्या गराउन खोजिएको उल्लेख गरिएको छ।

केसीएनएको उक्त विज्ञप्तिमा यसै वर्षको मे महिनामा सो षड्यन्त्र असफल पारिएको पनि जनाइएको छ। गतसाता अमेरिकी पूर्वरक्षामन्त्री विलियम जे पेर्रीले उत्तर कोरियाले युद्धमा आफू हार्ने र नेताहरूले अब सत्ता ढल्ने र आफूहरू पनि मारिने महसुस गरेपछि अन्त्यमा आणविक आक्रमण गर्ने दाबी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्