गौचन हत्याको सर्वत्र विरोध



 

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली प्रहार गरी हत्या गरिएको घटनाको सर्वत्र विरोध भएको छ। हत्याप्रति विभिन्न संघ–संस्थाले गहिरो दुःख व्यक्त गर्दै घोर भत्र्सना गरेका छन्।

होटल एसोसिएसन अफ नेपालले बुधबार एक विज्ञप्ती प्रकाशित गरी सो भत्र्सना गरेको छ। संघले शान्ति सुव्यवस्था कायम हुने आशमा रहेका हामी नेपाली जनता यस घटनाबाट त्रसित भएको र उद्योगी व्यवसायी अझ बढी असुरक्षित महशुस गरिरहेको बताएको छ।
सरकारलाई सबै भन्दा बढी कर तथा राजस्व बुझाउने उद्योगी व्यवसायी नै असुरक्षित हुँदा निजी क्षेत्र अत्यन्त दुःखित भएको छ। आम जनताको सुरक्षा चासोमा सरकार गम्भीर हुनुपर्नेमा संघले ध्यानाकर्षण भएको छ।

घटनामा संलग्न अपराधीहरूलाई यथाशक्य चाँडो कानूनको कठघरामा ल्याई कानूनी कारवाही गर्न यस संघ नेपाल सरकारका सुरक्षा निकाय समक्ष गम्भीर आग्रह समेत गरेको छ । घटनामा संलग्न अपराधीलाई हदैसम्मको कारवाही गर्न र मुलुक भित्र शान्ति सुरक्षाको अवस्था मजबुत भएको आभास जनमानसमा दिलाउन यस संघ सरकारसंग जोडदार माग गरेको छ ।

गौचन हत्याको विरोधमा निर्माण कार्य ठप्प
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको विरोधमा निर्माण व्यवसायीहरूले ताप्लेजुङ सहित देशभरका निर्माण कार्य ठप्प पारेका छन्। महासंघको सोमबार साँझ बसेको बैठकको निर्णय बमोजिम ताप्लेजुङका व्यवसायीले पनि बोलपत्र बहिष्कार गर्दै निर्माणका काम ठप्प पारेका हुन्।

निर्माण व्यवसायी संघ ताप्लेजुङले बुधबार सदरमुकाममा पत्रकार सम्मेलन गर्दै गौचनको हत्यारा तत्काल पहिचान गरी कारबाही गर्न सरकार सँग माग समेत गरेको छ। उनीहरूले हत्यारालाई कानुनी दायरामा नल्याए सम्म कुनै पनि निर्माणको काम गर्ने समेत बताएका छन्।

निर्माण व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष रणबहादुर कार्किले राष्ट्र विकासको अभियानमा नेपालका निर्माण व्यवसायीहरूको भूमिका प्रति शान्तिसुरक्षाको प्रत्याभुति नभएकाले बाध्यभएर आन्दोलित हुनुपरेको बताउनुभयो।

व्यवसायी महाँसंघको बैठकले २४ गते देखि २६ गते सम्म सबै काम बन्द गर्ने निर्णय बमोजिम देशभर आन्दोलनका कार्यक्रम जारी रहेको समेत अध्यक्ष कार्कीले बताउनुभयो। काम बन्द साहित विहीबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा हत्यारालाई पहिचान गरी कारवाहीको माग गर्दै ज्ञापन पत्र समेत बुझाउने तयारी रहेको व्यवसायी संघ ताप्लेजुङले जनाएको छ।

गौचनको सोमबार दिउँसो ३ बजेतिर काठमाडौँ नयाँबानेश्वरको खरिबोट प्रयागमार्गमा अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए। महासंघले यसअघि गौचनको हत्यारालाई तत्काल खोजी कारबाही गर्नुपर्ने माग राखी प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा, काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरूसँग भेट गरिसकेका छन्।

 

सुनचाँदी व्यवसायीद्वारा सुरक्षाको माग
नेपाल समाचारपत्र
काठमाडौं
नेपाल सुनचाँदी व्यवसायी महासंघले व्यवसायीहरूको शान्ति सुरक्षाको प्रभावकारी ब्यवस्था मिलाउन सरकारसँग जोडदार माग गरेको छ। महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै सर्लाही कविलास नपा वडा ३ बस्ने २९ वर्षीया सुन व्यवसायी सुनील शाहलाई गोली हानी हत्या गरेको घटनाको भत्सना गर्दै यस्ता गतिविधि पुनः दोहोरिन नदिन र व्यसायीलाई शान्ति सुरक्षाको प्रत्यभूतिगर्न माग गरेको हो।

महासंघका अध्यक्ष मोहन सुनारका अनुसार सर्लाहीको पीडारीमा सुनचाँदी पसल बन्द गरेर घर आउने क्रममा तीन जनाको अज्ञात समूले गोली हानी शाहको हत्या गरेको हो। शाहले हरिपुर नपाको पीडारी बजारमा सुन चाँदी पसल चलाउँदै आएका थिए। शाहको गाउँ पिपरियाबाट २ किलोमिटर रहेको छ। मोटरसाइकलमा आइरहेको बेला गाउँको बीचमा अज्ञात समूहले गोली हानेको मृतक शाहका बुवा नागेन्द्र शाहको भनाई उधृत गर्दै महासंघले जनाएको छ।

महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार बाबुछोरा पसल बन्द गरेर घर जाँदै गर्दा गाउँको बीचमा अज्ञात समूहले मोटरसाइकल रोक्न लगाई पैसा एवं गरगहना मागेको र दिन नमानेपछि उनीहरूले गोली चलाएका थिए। मृतक शाहको शव पोष्टमार्टमको लागि मलंगवा अस्पतालमा ल्याइएको छ। यसअघि सोमबार दिउँसै राजधानी काठमाडौंको शान्तिनगरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गोली हानी हत्या गरिएको थियो। दिनप्रतिदिन यस्ता घटना घट्दै गएकोप्रति महासंघले सरकारको ध्यानाकर्षण गराउँदै दोषीलाई तत्काल कारवाही गर्न माग गरेको छ।

यसैवीच महासंघको चितवन माडीको बसन्तपुर स्थित उत्तम सुनचाँदी पसलबाट नगद १ लाख ४१ हजार पाँच सय पच्चिस रूपैयासहित सुन र चाँदी गरी करिब ६ लाख ४५ हजार एक सय पन्चानब्बे रूपैयाँ बराबर गरगहना तथा नगद चोरी भएको भन्दै सुरक्षाको प्रत्याभुति दिन सरकारसँग आग्रह गरेको छ। महासंघले हत्या र चोरीमा संलग्नहरूको पहिचानगरी दोषीलाई शीघ्र कारवाही गर्न माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्